Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार
chhath

आजबाट छठ पर्व सुरु

२५ कार्तिक २०७५, आईतवार १४:५१

कार्तिक २५, काठमाडौं ।  भर्खरै मात्र दशैँ र तिहारको रौनक सकिएको छ । तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले  नेपालीभूमी पुलकित भएको छ । छठको तयारी केही दिन अघिदेखि नै सुरु भए पनि व्रतालुहरूले आज स्नान गरी पवित्र खाएर व्रत प्रारम्भ गरेका छन् । छठको पहिलो दिनलाई अर्वाअर्वाइन पनि भनिन्छ। छठ मान्ने व्रतालुहरूले आज बिहानै नङ कटाएर नुहाइधुवाइ गरी चोखो खाएका छन्। तराइमा मात्र मानिने छठ पर्व अब देशको अधिकांश सहरहरूमा विस्तार भइसकेको छ।

सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व बैज्ञानीक रहेका हुन्छन् । छठ पर्व पनि सूर्यदेव को अनुष्ठान नै हो , हरेक मानव ले जन्म देखि मृत्यूपर्यन्त देख्ने बिशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्य संगको मानवको सहअस्तित्वलाई छठ ले सास्कृतीक पृष्ठभूमि दिएको छ ।

विहान उठ्ने वित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई हुर्काउने सूर्य, वादल श्रृजनागर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भुमिका र मानव अनि सूर्यबिचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि ब्याख्या गर्न शायद् सक्दैनन् होला ।

षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलार्इ दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ ।

छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि अाएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अथवा ‘नहार्इ खाय’, दोश्रो दिनलाई ‘खर्ना’ भनिन्छ, तेश्रो दिनलाई ‘सँझिया अर्घ्य’ छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई ‘विहनीया अर्घ्य’ पारण भनिन्छ ।

अरबाको दिन गाँउका युवाहरु मिलेर छठ मनाईने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफगर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ ।

तेश्रो दिन ‘सँझिया घाट’ अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिनेगर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ ।

प्रकृती र सभ्यताको अनुपम उदाहरण छठ पर्वको हामीसबैलाई शुभकामना । हामी सम्पूर्ण मानवहरु सूर्यको जाज्वल्यमान उपस्थिती र सूर्यदेवको हामीप्रतिको कृपाकालागी सदासर्वदा अनुग्रहित छौ । छठी माईका बिभिन्न भजन अनि किर्तनहरु बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि झिलमीलहरु ले उदाँउदो र अस्ताँउदो सूर्य लाई अर्घ दिँदा प्रकृती र मानव बिचको गहिरो अन्र्तसम्बन्ध लाई सनातन सस्कारले शदियौं देखि पूर्नपरिभाषीत गरिरहेको भान हुन्छ ।
यसबर्ष पनि अन्य बर्षहरु झैं पानी अनि सूर्य दुबै ले हामीमाथि कल्याण बक्सिउन्, यिनै पानी वाट उडेर जाने बाफहरु र बादलहरु ले धर्तीका अवयवहरु भिजाइरहुन्, हरियाली भइरहोस् ।

जलचर थलचर सबैको कल्याण होस् । प्राणीमा प्राण होस् अनि धर्मको जय होस् ।
छठी माताले सबैको जय गरून् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला

खोटाङ । केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो

चैत एक गते देखि भर्चुअल रूपमा सुरुवात भएको बाल नाटक महोत्सव चैत बाह्र गते कर्मी नाट्री समुह चितवनको प्रस्तुति ”