सफलताको एक उत्कृष्ट साधन-ध्यान


एउटा ध्यान शिविरमा जादा ज्ञान मणि नेपाल ज्युसङ्ग भेट भएको थियो। वहाँसङ्गको पहिलो भेट त थिएन तर राम्रोसङ्ग परिचय र कुराकानी भने पहिलो पल्ट भएको थियो। नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको वहाँले नेपाल इन्टिग्रीटी अवार्ड पाउनुभएको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान पनि पाउनुभएको छ। तर पनि देख्दा अति नै सरल र साधारण देखिनुहुन्छ। काठमाडौंमा भेट हुदा वहाँ बिहानको ध्यान सकेर शिक्षा मन्त्रालयको काममा जानको लागि झोला उठाउदै हुनुहुन्थ्यो जब एक अभिभावकले हासो गर्दै भन्नुभयो ,”मेरी छोरीलाई पढ्नु पर्दैन ध्यान मात्रै गर्न पाए पुग्छ।” प्रत्युत्तरमा ज्ञान सरले भन्नुभयो,” हजुर निर्धक्क हुनुहोस्, ध्यान नै सबैभन्दा राम्रो पढाई हो”।

अमेरिकाको व्हाइट हाउसबाट सम्मान ग्रहण गर्नुभएको वहाँले थप्नुभयो कि ध्यान गर्नु नै वहाँले प्राप्त गर्नुभएको सफलताको प्रमुख कारण हो। नित्य ध्यान गर्ने र गीता पाठ गर्नाले नै वहाँलाई शिक्षा शैलीलाई परिवर्तन गर्ने सोच साथै विरोध र धम्कीको बाबजुद पनि आफ्नो लक्ष्यमा निरन्तर अघि बढ्ने साहस आएको रहेछ। सोहि शिविरमा आएका अन्य भाईबहिनीहरुलाई भन्दै हुनुहुन्थ्यो ,” बाबुनानीहरु, नित्य ध्यान अभ्यास गर्नु, निक्कै अघि बढ्ने छौ र देशलाई पनि अघि बढाउन सक्नेछौ।”

यसरी ध्यान गर्नु नै आफ्नो सफलताको कारण बताउनुहुने ज्ञान सर मात्रै एक हुनुहुन्न। विश्वमै चर्चित र ठूलो सफलता हासिल गरेका कयौं व्यक्तिले पनि सोहि कुरा बताएका छन। जस्तो एप्पल कम्पनीका सन्स्थापक र पुर्व मालिक स्टिभ जब्स। जब्स १९ बर्षको छदा रीड्स कलेजका विद्यार्थी थिए। उनले बिचैमा पढाइ छोडेर भारत गएका थिए। त्यहाँ विभिन्न मन्दिरको दर्शन गर्दै र प्रशिक्षकबाट ध्यान सिक्दै ६ महिना बिताए। कपाल खौरेर भिक्षुको भेषमा हिडेका उनि अमेरिका फर्कदा निक्कै परिवर्तन भएका थिए र त्यसपश्चात नै एप्पल कम्पनीको स्थापना गरेका थिए। जब्सले जीवनमा कहिल्यै ध्यान गर्न छाडेनन् र हरेक केही महिनामा ध्यान शिविरहरुमा पनि जाने गरिरहन्थे। एप्पल कम्पनीको ठुलो सफलताको लागि आवस्यक सिर्जनशिलता, मानसिक शक्ति र आइडियाको प्रमुख कारण ध्यान नै हो भनेर उनले आफ्नो जिवनीमा बताएका थिए। त्यसैले अझै पनि एप्पल कम्पनीले आफ्ना कर्मचारीहरुलाई नियमित ध्यान अभ्यास गर्न प्रेरित गरिरहेको छ।

यसै गरि Linked-in र अन्य टेक कम्पनीका सि.इ.ओ हरु आफ्नो कम्पनीलाई व्यापक रुपले बिस्तार गर्न र दैनिक चुनौतीपूर्ण कार्य सम्हाल्नको लागि ध्यान गर्ने गरेको बताउछन। फोर्ड मोटरका मालिक ले कम्पनी डुब्ने अवस्थामा छदा ध्यान को भरमा नै आफू सम्हालिएर कार्य गर्न सकेको बताएका छन। ठुला कम्पनीका व्यक्ति मात्र नभई वैज्ञानिक, राजनेता ,उत्कृष्ट खेलाडी , हलीवुडका केही निर्देशक र कलाकारहरुले पनि कार्य सफलताको लागि ध्यानको सहार लिने गरेको बताएका छन। जस्तो विश्वचर्चित गायिका केटि पेरिले नियमित ध्यान गर्दा १ दिनमा २ दिनबराबरको कार्यक्षमता प्राप्त गरेको बताएकिछिन। तेस्तै नासाका एक वैज्ञानिकले पनि नासामा नियमित सामुहिक ध्यान अभ्यास गर्ने गरेको बताएका छन।

वेद पुराणमा मनुष्यको निम्ति नभई नहुने भनि थुप्रै प्रामाण भएको ध्यानलाई अहिले आधुनिक विज्ञानले हज्जारौं अनुसन्धान गरेर सबैले अभ्यास गर्न आवस्यक भनी प्रमाणित गरेको छ। यिनै प्रमाण देखेर नै अमेरिका जस्तो सबैभन्दा बिकसित र धनी मानिएको देशमा पनि मनुष्यको क्षमताको पराकाष्ठामा पुग्नको लागि नियमित ध्यान गर्ने वातावरण बनाइदै छ। एकातर्फ त्यहाँबाट सामान्य व्यक्तिदेखि वैज्ञानिक सम्म ध्यान साधनाको अभ्यास गर्न भारत वर्षमा आउछन। अर्कोतिर त्यहाँका ठुला कम्पनीमा कर्मचारीको लागि र विश्वविद्यालयमा प्रोफेसर र विद्यार्थीकालागि विशेष ध्यान-कक्षको व्यवस्था गरिएको छ।

चाहे व्यवसायमा सफल हुन होस् वा पढाई राम्रो गर्नको लागि, मान-सम्मान र प्रतिष्ठा युक्त जीवन जिउन होस् वा आत्मशान्ति र सन्तुष्टिका साथ सादा जीवन बाच्नका लागि, अथवा कुशल नेतृत्वको बिकास गरि देशलाई महत्वपूर्ण योगदान दिन होस- ध्यान गर्नु तपाइँको लागि र ध्यान गर्न प्रेरित गर्नु तपाईंको प्रियजनको लागि जिवनकै सबैभन्दा उत्कृष्ट उपहार सिद्ध हुनसक्छ।


Loading comments...