भिमकाय प्लेन ए ३८० को बिदाई


विश्वमा हवाइजहाज बनाउने अनि थप परिमार्जनका साथ ल्याउने, सुरक्षा संयन्त्र सुदृढ पार्ने, धेरै यात्रु बोकेर ओसार्न सक्ने हवाइजहाज बनाएर थप उत्पादनशील र कम रकममा धेरैलाई सुबिधा दिनसक्ने बनाउने एउटा अभियान नै चलेको छ । उडानको इतिहास नियाल्ने हो भनें सन् १८९० मा फ्रान्सका क्लेमेन्ट एडरले प्रथम पावरड् हवाई जहाज बनाएका हुन र आज पनि ठूलाठूला जहाज बनाउने कम्पनीमा अमेरिकाको बोईगं र फ्रान्सको एयरबस कम्पनीको दबदबा रहेको छ । यता नागरीक उड्यन जहाजहरु भनें सन् १९१४ मा अमेरिकाको फ्लोरिडामा शुरु भएको हो । आज यस हवाईयात्राको भर्खरै १०५ वर्षको संघारमा टेक्दा नटेक्दा विश्वमा हवाईजहाजका बिभिन्न संस्करण र युगान्तकारी परिवर्तन नै भइसकेको छ ।

यसैक्रममा अहिलेसम्म विश्वमा उडेका ठूला हवाईजहाजहरुमा एयरबसको ए ३८० अहिलेसम्मकै ठूलो मोडलमा पर्दछ । दुई तल्लाको यस जहाजमा ५२५ देखि ८२३ जना सम्म अटाउन सक्दछन् । बोईगं ७४७ को अपार सफलतापछि यस एयरबस ३८० को उत्पादन गरिएको भनिन्छ । हवाई उड्ययनमा ठूला जहाजको आवश्यक्ता र उड्ययनको स्थिर लागत कम गर्न यस बिशाल जहाजको निर्माण गरिएपनि निर्माण शुरु भएको दशक पनि नपुग्दै यस जहाजको निर्माण औपचारीक रुपमा बन्द गरिएको एयरबस कम्पनीले सन् २०१९ को भ्यालेन्टाइन डे मा घोषणा गरेको छ ।

उत्पादक कम्पनीले सन् २०२१ बाट यस जहाजको उत्पादन बन्द गर्ने घोषण गरेको छ र उड््ययन जानकारहरुका अनुसार एयर इमिरेट्सले सर्वाधिक यस जहाजको खरिद गरेको भएतापनि ५३ वटा अर्डरलाई घटाएर केवल १४ मा सिमित गरेपछि यसको उत्पादन बन्द गरिएको बताइन्छ । बरु ईमिरेट्सले यसभन्दा साना जहाजहरु ए ३३० र ए ३५० जहाजहरु ७० वटा अर्डर गरेको छ । बेलायतको वेल्समा भएको एयरबसको कार्यालयमा मात्र ३५०० जना ए३८० का कर्मचारीहरु कार्यरत छन् र यो बिशाल जहाजको उत्पाद बन्द हुँदा कतै बेलायत लगायत यूरोपकै रोजगारीमा त असर पर्ने हैन भन्ने अड्कलबाजी पनि राम्रै चलेको छ । कुल लगाएर ६००० जना पूर्णकालिन कर्मचारी र लाखौं आउटसोर्स तर्फका कर्मचारी र एजेन्सीमा यसको असर पर्ने देखिन्छ । कूल २ लाख भन्दा धेरै यूरोपेलीहरुको रोजगारमा यसको असर पर्ने पक्का छ भनी आधिकारीक श्रोतहरुले लेखेका छन् । त्यसै गरि एयरबसको मुख्य प्रतिद्धन्दी बोइगं ७४७ ले भनें फेब्रुअरी १४ मै आफ्नो उत्पादनको ५० वर्ष मनाएको छ । यसमा भनें कूल ६६० मान्छे अटाँउदछन् ।

यो एउटा दुस्खद घटना हो किनभनें अब यो भिमकाय जहाज आकाशमा धेरै नदेखिन सक्छ । यस जहाजको उत्पादन घोषणा भनें सन् १९९४ मा भएको हो, सन् २००५ मा यो मोडेलले पहिलो उडान भरेको हो । सन् २००७ मा पहिलोपटक सिंगापुर एयरलाइन्सले एयरबस ३८० पहिलोपटक आधिकारीक उडाएको हो । शुरुमा ८ बिलियन अमेरिकी डलर अनुमानीत लागत भएपनि पछि १२ दशमलव २ बिलियन खर्च भएको यो इन्जिनियरिगंको अनुपम नमुना यात्रुहरुलेपनि अत्याधिक रुचाएको मानिन्छ तर यस्को माग अपेक्षा अनुरुप हुन नसक्दा यस मोडललाई एयरबसले थाती राखेको छ ।

अहिलेसम्म २४३ वटा एयरबस ३८० हस्तान्तरण गरिएको छ, यसमा एयरर इमिरेटसले १६२ वटा मागेपनि केवल १०७ वटा मात्र डेलिभर गरिएको र सिंगापुर एयरलाइन्ससंग २४ वटा यो मोडेलका जहाजहरु छन् । अन्य एयरलाइन्ससंग यस मोडल धेरै कम पाइन्छ । नेपालमा भनें अन्तराष्ट्रिय बिमनस्थलको धावन मार्ग र उड्ययन संरचनाले यस जहाज अवतरण गर्न कठिनाई छ र हाम्रो अन्तराष्ट्रिय यात्रु चापको कमीले स्वदेशी बिमान कम्पनीले यस मोडेल किन्न असंभव नै देखिन्छ ।

यस मोडलको जहाजहरु को उत्पादन अन्तको घोषणालाई बेलायतको ब्रेकसीस्टसंग जोडेर राजनैतिक परिभाषा पनि दिइरखिएको छ भनें उड्ययन जानकारहरुलाई पनि एउटा शोक झैं भएको धेरैले सामाजिक सञ्जालमा बताएका छन् । के अब विश्वले ठूला जहाज मन पराउन छाडेको हो या एयरबस अमेरिकी कम्पनी बोईगंको उड्ययन प्रभुत्वको चपेटामा आएको हो ?
बाईबाई एयर ३८०,

लाइभमाण्डुका लागि सुयोग ढकाल


Loading comments...