manish khanal

राजधानी : कल्पना र वास्तविकता


म बिहान सबेरै उठ्छु । आफूलाई स्वस्थ राख्नका लागि चराको चिरिविर सँगै नजिकैको खुला हरियो चौरमा व्यायाम गर्न जान्छु । अर्गानिक विषादीयुक्त खाना खाएर म कलेजका लागि निस्कन्छु । मेरो फ्ल्याट देखि थोरै परको दूरीमा मेट्रो रेलको स्टेशन छ । रेलमा सहज रूपमा यात्रा गर्दैगर्दा बाहिर नियाल्छु, सफा हराभरा फराकिलो बाटोमा निर्वाद रुपमा ठुला सफा इलेक्ट्रिक बसहरू चलिरहेकाछन् , साइकल यात्री र पैदलयात्रीलाई सहज मार्गहरू छन् , फोहोर तथा धूलो नियन्त्रणका लागि उचित व्यवस्था गरिएको छ, नदीहरू स्वच्छ कलकल बगिरहेका छन् र ऐतिहासिक सम्पदाको उचित संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा ध्यान दिइएको छ । सहरको मनोरम दृश्यको अवलोकन गर्दै म कलेजसम्मको यात्रा दिनहुँ तय गर्छु ।

यसरी मिठो कल्पनामा रमाउने सोच राख्दा राख्दै म झसङ्ग हुन्छु र वास्तविकता तर्फ मोडिन बाध्य हुन्छु । सुन्दर सफा स्वच्छ काठमाडौं सहर हामी सबैको रहर हुँदाहुँदै पनि हाम्रो वास्तविकता अलि तीतो छ । समयको माग अनुसार काठमाडौं परिवर्तन हुन सकेको छैन । पहिले सुन्दर सफा हराभरा मन्दिर मन्दिरको सहरको रूपमा रहेको काठमाण्डौं अहिले कुरुप हुन पुगेको छ ।

म बिहानै सबेरै उठ्छु तर बाहिर एकाबिहानै गाडीका अनावश्यक आवाज र अपर्याप्त खुला ठाउँमा व्यायामका लागि गार्हो मान्दै निस्कन्छु । विषादी मिश्रित भएपनि बाध्य भएर बजारमा उपलब्ध खाना खाएर कलेजका लागि निस्कन्छु । मेरो फ्ल्याट देखि थोरै पर बस स्टेशन छ । कोचिएर खादिएर भएपनि बसको ढोकामा उभिएरै भएपनि यात्रा गर्छु । यात्रामा बाहिर नियाल्दा धूलो धुवाँ , साँघुरा सडक , ट्राफिक अस्तव्यतता , प्रदूषित नदी र जीर्ण सांस्कृतिक सम्पदाहरु नियाल्दै कलेजसम्मको यात्रा दिनहुँ तय गर्छु ।
धूलो ,धुवाँ , ट्राफिक जाम , हिलो, मैलो , खाल्डाखुल्डी जस्ता विभिन्न समस्याहरू हाम्रो लागि सामान्य बनिसकेको छन् । देशको राजधानी भनेपछि कम्तिमा मैले माथि कल्पना गरेको जस्तै सामान्य धुलो धुँवा तथा प्रदूषण नियन्त्रण , यातायातको सहज पहुँच , सम्पदाहरूको उचित संरक्षण लगायत विभिन्न कार्यहरू हुनुपर्ने हो । बढ्दो जनसंख्या तथा अव्यवस्थित शहरीकरण दिनानुदिन चुनौती बन्दै गइरहेको छ ।
काठमाडौं सुधारका लागि महानगर तथा सरकारका विभिन्न योजना तर्जुमा तथा बजेट विनियोजन नभएका पनि होइनन् तर वास्तवमा हामी सर्वसाधारण जनताले अनुभूति गर्नेगरी परिवर्तन देखिएको छैन । अब भने स्थानिय सरकार तथा केन्द्रमा समेत स्थायी सरकार भएकाले काठमाडौंलाई साँच्चै राजधानी भन्न लायक सुन्दर हराभरा बनाउने मौका छ । साथै हामी नागरिकहरु पनि आआफ्नो ठाउँबाट सक्रिय भई सम्बन्धित निकायलाई सकेको सहयोग गर्न जरुरी छ ।
समयको सही सदुपयोग होस् । साँच्चै समृद्धि हेर्न पाइयोस् ।
शुभकामना ।


Loading comments...