कुसल राष्ट्रसेवक गणेश सिडिओ साब प्रति भावपूर्ण श्रद्धाञ्जली !


वि.सं. २०६८ सालतिर सञ्चारकर्मी एवं गीतकार पृयमित्र नरेश भट्टराईले टि–टिभिको ‘लभ एण्ड लाइफ’ कार्यक्रमको लागि हामी बुढा–बुढी (दम्पती)को अन्तवार्ता लिनुभएको थियो । त्यस बखत आफ्नो घरपरिवारको परिचय दिने क्रममा आफ्नो दाजु सिडिओ (दोलखाको क्यार) हुनुभएको जानकारी गराउनु भएको थियो । २०७१ माघ १७ गते ओखलढुङ्गा सदरमुकाममा एक बृहद् साङ्गीतिक कार्यक्रमको लागि गएको थिएँ । सञ्चारकर्मी मित्रद्वय कुम्भराज राई र दीपेन्द्र रुम्दालीले भोलिपल्ट बिहान जिल्लाका भिआइपीहरूसँग चिनजान र भेटघाटको समय मिलाइदिनु भयो । एलडिओ साब (शत्रुघ्न पुडासैनी), कर्साब, डिएसपी साबहरू लगायत जिल्लाका सबै सरकारी कार्यालयका प्रमुखज्यूहरूलाई सिडिओ साबले नै कोअर्डिनेशन गर्नुभयो । सिडिओ साब हुनुहुन्थ्यो– गणेश प्रसाद भट्टराई , उहाँ हँसमुख र अत्यन्त विनयशील स्वाभावको मान्छे । उहाँ प्रशासकभन्दा पनि असल राष्ट्रसेवक लाग्छ मलाई । उहाँ ओखलढुङ्गा जिल्लाबासी नै हुनुहुँदोरहेछ । त्यसैले होला हाम्रो सम्बन्ध पछिसम्म रह्यो । पछि काठमाण्डौ जिल्ला प्रशासन कार्यालय आउनु भएपछि पनि एक/दुई पटक भेट भयो । ०७२ सालमा स्वास्थ्य उपचारको लागि मेरो बुबालाई काठमाण्डौ स्थित मोडल अस्पतालमा ल्याउँदा पनि भेट भयो । बुबाको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

गत माघ ११ गते गाडी दुर्घटनामा परी गंभीर घाइते भई उपचाररत् रहनुभएका बाराका सिडिओ साब उनै गणेश सर हुनुहुँदोरहेछ । त्यस दुखद् खबरले चिन्तित बनाइरहेको बेला उहाँको असामयिक निधनको खबर सुन्नु पर्दा अत्यन्तै दुःख लागेको छ । उहाँको यस दुःखद् निधनले हामीले एक जिल्लाबासी वा आफ्नो मान्छे मात्र गुमाएका होइनौँ, सिङ्गो राष्ट्रले नै एक कुसल राष्ट्रसेवक गुमाएको छ । लाग्छ, राष्ट्रलाई अपूरणीय क्षति भएको छ । खै, अरु के भनुँ… गणेश सरको आत्मालाई चीरशान्ति मिलोस, भावपूर्ण श्रद्धाञ्जली छ ! उहाँको शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना छ !! उहाँ र मेरो पिताजी मोडल हस्पिटलमा भेट हुँदाको तस्वीर पुनः पोष्टिङ गरेको छु । दुःखद् संयोग उहाँहरूको मरण झन्डै सँगसँगै भयो । शोकमाथि शोक थपिएको छ ।

ब्याकुल माइलाको फेसबुक बाट
२०७५ फागनु ८


Loading comments...