आफू मरेर यात्रु बचाउने पाइलटका परिवार ‘को बन्छ करोडपति’मा


को बन्छ करोडपतिले आफ्नो आठौँ एपिसोड कालीकोटमा विमान दुर्घटना मृत्यु भएका पाइलटहरुमा समर्पित गर्ने भएको छ । भोली शनिबार प्रशारण हुने कार्यक्रममा विमान दुर्घटनामा आफू मरेर पनि यात्रुहरुलाई बचाउने साहसी पाईलट दिनेश न्यौपाने र को-पाईलट सन्तोष रानाको परिवारलाई बोलाएर केबीसी खेलाइने भएको छ । पहिलो सिजनका ५२ एपिसोडमध्ये केही एपिसोडमा विशेष समाजिक महत्वका विषयसम्बद्ध व्यक्तिहरुलाई ल्याएर खेल खेलाईने कार्यक्रम उत्पादक एसआरबिएन मिडियाले जनाएको छ । हरेक शनिबार, आइतबार र सोमबार साँझ ८ः३० बजे एपीवन टेलीभीजनबाट प्रशारण हुन्छ।

देब्रेबाट पहिलो क्याप्टेन दिनश न्यौपाने र को-पाइलट सन्तोष राणा

यसरी गुमाएको थियो राष्ट्रले दुइ वीर युवकहरुलाई !
२०७२ साल फाल्गुन १४ शुक्रबारको त्यो दिन नेपालगञ्जबाट उडेको विमान कालिकोटको आकाशमा पुग्दा अचानक इन्जिनमा समस्या देखियो । सधैं जहाज उड्ने बाटोबाट कालिकोटको परवाडाको आकाशमा त्यो दिन पनि जहाज जुम्लातिर उडिरहेको थियो । जुम्लाको जुविथा लेक पुग्दा एक्कासि विमान मोडियो अन्तैतिर । विमान जुविथाको लेकबाट सिधै चिलखयातर्फ आयो । त्यसकारण आकस्मिक अवतरणको प्रयास गरेका थिए पाइलट न्यौपानेले । यात्रुहरुले विमानमा उडेको केही मिनेटमै चुइगम पड्को जस्तो आवाज सुने । तेस्रोपटक अझै जोरको आवाज सुन्दा यात्रुहरुले होसहवास गुमाइकेका थिए । तर पाइलटले यात्रुलाई नआत्तिन आग्रह गर्दै सुरक्षित अवतरण गराउने आश्वासन दिए । सबैलाई सान्त्वना दिँदै क्याप्टेन दिनेशले भने, ‘हामी मरेर पनि तपाईंहरूलाई जोगाउनेछौं, ढुक्क हुनुहोस् तर सचेत भएर बस्नुहोला ।’

यो पनि पढ्नुहोस् 

जमिनबाट हेरिरहेका मान्छेले पनि अनुमान गरे पक्कै विमानमा खराबी भएर फर्कियो होला । विमानको आवाज कतिबेला सानो र कतिबेला ठुलो भएर आएको थियो । तलबाट हेर्दा प्लेन ढलपल ढलपल भइरहेको थियो । आँखै अगाडी विमान चिलखयाको खेतबारीनजिकै पुग्दा स्थानीयको भागाभाग भयो । विमान भित्तामा ठोक्कियो, र जमिनमा बजारियो । दाउराको हारमा प्लेनको अगाडिको भाग ठोक्किँदै जमिनमा भासियो भने पछाडिको भाग सुरक्षित रह्यो । विमानको अघिल्लो भागसँगै जमिनमा नै भासिए पाईलट न्यौपाने । अदम्य साहसले यात्रुहरुलाई जोगाए तर आफै विदा भए यो संसारबाट ।

दिउँसोको साढे १२ बजेतिर एक कहालीलाग्दो दुर्घटना व्यहोर्यो देशले । स्थानीयहरु दुर्घटनास्थल पुग्दा यात्रुहरु गुहार मागिरहेका थिए विमानबाट । स्थानीयले विमानको ढोका फोडेर यात्रुहरूलाई बाहिर निकालेर प्रार्थमिक उपचारमा लागे । कर्णालीका मनकारी नागरिकले यात्रुको सक्दो सेवा गरे । काठमाण्डौँ र नेपालगञ्जमा पनि खबर गरे तर दुर्घटना भएको तिन घण्टासम्म उद्धारमा राज्यले कुनै चासो देखाएन । विमानका को पाइलट सन्तोष न्यौपाने छट्पटाइरहेका थिए, यात्रुले बाहिर निकाल्दा । दुई घण्टासम्म मृत्युसँग लडिरहे सन्तोष । हेलिकोप्टर आएन । मृत्युले जित्यो राना हारे । बचाउन नसकिएकोमा साह्रै पीडा महसुस भयो कर्णालीबासीलाई । समयमै उद्धार गरेको भए को–पाइलटलाई बचाउन पनि सकिन्थ्यो ।

यात्रुहरु भने सबै सामान्य घाइते थिए । दुर्घटनामा जीवित एक यात्रुले भावुक हुँदै भने, ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’ क्षमतावान दुइ युवा गुमायो राष्ट्रले । एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइटल दिनेश न्यौपानेको स्थायी घर डोल्पा हो । परिवारसहित नेपालगन्जमा बस्दै आएका न्यौपाने एकदमै सकारात्मक स्वभाव भएका व्यक्ति थिए । को–पाइलट सन्तोष राना पूर्वभूमिसुधार मन्त्री दलबहादुर रानाका छोरा थिए । फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेका २८ वर्षीय सन्तोषले २०७२ वैशाखदेखि मात्रै काष्ठमण्डप एयरमा कोपाइलटको जागिर सुरु गरेका थिए ।

आफ्नो बलिदान दिएर ती महान आत्माहरुले अरु यात्रुको ज्यान बचाए । त्यसैले त कार्यक्रमको प्रोमो भिडियोमा प्रस्तोता राजेश हमालले पनि ती शहीदहरुको स्मरण गर्दै भनेका छन्, ’जो व्यक्ति अरुकालागि बाँच्छ त्यो महान कहलिन्छ, तर जो व्यक्ति अरुका लागि मर्छ उलाई सम्बोधन गर्ने कुनै शब्द हुँदैन ।’ को बन्छ करोडपति परिवार ती महान आत्मालाई आफ्नो कार्यक्रम समर्पित गर्न पाउँदा गौरव महशुस गर्दछ । सरकारले स्वर्गीयद्वय न्यौपाने र रानालाई मरणोपरान्त ‘वीर पदक’ प्रदान गरेको छ । आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अवतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप पदक दिएपनि हाम्रो कामना छ, ‘ राज्यको नीयमन र चुस्तता भनएकै कारण भविष्यमा कसै नागरिकले ज्यान गुमाउनु नपरोस् ।’

को बन्छ करोडपति कार्यक्रमको प्रोमोः


Loading comments...