Lifestyle Portal
  •   २४ फाल्गुन २०७७, सोमबार
Nirmala Mani Adhikary

युग चाहन्छ एक चाणक्य

१० फाल्गुन २०७५, शुक्रबार १७:००

एक विशाल साम्राज्यको संस्थापक सर्वशक्तिमान् व्यक्तित्व भएरपनि ‘पर्णकुटी’को बास र सत्तामोहबाट पूर्णतया मुक्त ! उनको एक इशारामा संसारका सब ऐश-आराम वैभव भौतिक सुख हाजिर हुने भएतापनि ती सबलाई त्याग्न सक्ने उनको जीवनचरित देख्दा आश्चर्य लाग्छकि यस्तापनि थिए हाम्रा राजनीतिज्ञ कुनै जमानामा । अहिले त एकादेशको कथा भइसकेको छ ।

आचार्य विष्णुगुप्त चाणक्यको सान्दर्भिकता आजको परिप्रेक्ष्यमा झन् बढेर गएको छ । वास्तवमा यतिखेर हाम्रो समाजको निमित्त चाणक्यको चरित्र अद्भूत आकर्षणको रहेको हामी पाउँछौं । भारतवर्षको शास्त्र-शक्ति र शस्त्र-शक्ति दुबैको पुनरुद्धार गर्ने ती महान् व्यक्तित्वले राजनीति सम्बन्धी सिद्धान्तको प्रतिपादन गर्दै शासन-प्रबन्धको पनि राम्रो मोडेल प्रदान गरेर गएका छन् । अर्थशास्त्र राजनीतिशास्त्र दर्शनशास्त्र कामशास्त्र- प्रत्येक क्षेत्रमा उनको विद्वत्ता अनुपम छ ।

भारतवर्षको विशाल भू-भागमा यवनहरुको साम्राज्य स्थापित भएको र बाँकी भू-भागमा पनि अनेकौं सस्याना राजा-रजौटाहरुको आपसी संघर्षले अशान्तिको साम्राज्य फैलिएको त्यस अवस्थामा भारतवर्षलाई विदेशी दासताबाट मुक्त गराई विशाल साम्राज्यका रुपमा संगठित गर्ने र शान्ति बहाल गर्ने ती महान् गुरुको स्थान भारतवर्षको इतिहासमा अद्वितीय रहेको छ । शास्त्रशक्ति र शस्त्रशक्ति दुबैको जति राम्रो संयोजन चाणक्यले गरेका छन् त्यस्तो उदाहरण अन्यत्र शायदै पाइएला । वास्तवमै ‘युग-नायक’ हुन् आचार्य चाणक्य ।
चाणक्यको जीवनीबाट प्रेरित भई अनेकौं पुस्तकहरु लेखिँदैआएका छन् । विष्णुपुराण मुद्राराक्षस कामन्दक नीतिसार पाचतन्त्र कादम्बरी दशकुमारचरित लगायत संस्कृत वाङ्मयका साथसाथै बौद्ध र जैन ग्रन्थहरुमा पनि यी महामानवको स्मृति सुरक्षित छ । वर्तमान समयमापनि भारतवर्ष तथा युरोप-अमेरिकाका अनेक विद्वानहरुको ध्यान चाणक्यतर्फ आकृष्ट भइरहेको देखिन्छ । चाणक्यको महान् ग्रन्थ अर्थशास्त्र संसारका धेरै भाषाहरुमा अनुवादित-प्रकाशित भइसकेको छ । चाणक्यनीति शाश्वत् तवरले मार्गनिर्देशन गर्न सक्षम नीतिशास्त्रका रुपमा मानवसमाजले प्राप्त गरेको छ ।

ऐतिहासिक शोधबाट प्राप्त जानकारी अनुसार आचार्य विष्णुगुप्त चाणक्य तक्षशिलाका निवासी प्रख्यात प्राध्यापक थिए । आर्थिक हिसाबले एक गरिब ब्राह्मणका छोरा थिए उनी; न उनीसँग सेना थियो न त सत्ताको शक्तिनै थियो । तथापि आफ्नो विद्वत्तारुपी पुरुषार्थले लाखौं सेना जम्मा पारेर विशाल साम्राज्यको स्थापना गर्न सक्षम भए चाणक्य । त्यागनै उनको सबभन्दा ठूलो धन थियो र बुद्धिनै सबभन्दा ठूलो शक्ति । चाहेको भए आफैं ‘चक्रवर्ती सम्राट्’ बन्न सक्ने शक्ति भएका ती महान् ब्राह्मणले सुयोग्य शिष्य चन्द्रगुप्तलाई सो पदवी प्रदान गरेर पूर्ववत् कुटीमा बसी शिक्षा-दीक्षा प्रदान गर्नमै सारा जीवन समर्पित गरेका थिए । उनको मतमा अध्यापक गुरु हुनु सम्राट वा महामन्त्री हुनुभन्दापनि उच्चतम् प्राप्ति थियो ।

उनले चन्द्रगुप्तलाई आफ्नो पि्रय शिष्य भएकै कारणलेमात्र सम्राट बनाएका थिएनन् । सुयोग्य गुरुका शिक्षा-दीक्षाले उनलाई त्यस पदकालागि योग्य बनाएको थियो । यदि चन्द्रगुप्त त्यस पदकालागि सर्वश्रेष्ठ नठहरिने स्थिति भएको भए चाणक्यले उनलाई अस्वीकृत गर्न कत्तिपनि हिच्किचाउने थिएनन् । सौभाग्यले सुयोग्य शिष्यलाई राजकाजको जिम्मा दिने अवसर पाएकाले सन्तोषपूर्वक तक्षशिलामा अध्यापनका निम्ति गुरु चाणक्य फर्केको इतिहासबाट ज्ञात हुन्छ । सत्तामद र सत्तामोह नातावाद कृपावाद आदिले धेरै व्यक्तिहरुलाई गाँजेको र त्यसको परिणाम स्वरुप सारा देशनै पीडित हुनुपरेको अनुभव हाम्रानिम्ति नौलो होइन । त्यसको पीडा हामीले भोग्दै आइरहेकै हौं । घुम्ने मेचमाथि पुग्नासाथ सत्ताको मदले अन्धो बन्ने प्रवृत्तिले समाज आक्रान्त भइरहेको उदाहरण जतिपनि पाइन्छन् । सर्वसत्तावादी चरित्रका नेताहरुको मार खप्दाखप्दै हाम्रो बेहाल भएको परिप्रेक्ष्यमा चाणक्य जस्ता राजनेताको हामीलाई कति खाँचो छ भन्ने चर्चा गरिरहनु नपर्ला ।

चाणक्यको संरक्षकत्व-अभिभावकत्व एवम् चन्द्रगुप्तको सुशासनमा भारतवर्षमा सुख शान्ति समृद्धिको जुन दौर आएको थियो- त्यो निश्चयनै हाम्रालागि आदर्श लक्ष्य का रुपमा रहन योग्य छ । त्यस युगमा भारतवर्ष राजनीतिक सामाजिक धार्मिक आर्थिक सांस्कृतिक हरेक पक्षबाट विकसित हुनुलेपनि गुरुवर चाणक्यको महत्व स्पष्ट हुन्छ । वास्तवमा नेपाल र वास्तवमा सम्पूर्ण भारतवर्षकालागि यतिखेर युगले अर्को एक चाणक्यको आशा राखेको छ भन्नु अत्युक्ति पक्कै होइन ।

डा. निर्मलमणि अधिकारीका अन्यलेखहरु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु

काठमाडौं। लाओत्से चिनियाँ दार्शनिक तथा लेखक हुन्। उनलाई ताओ दर्शनका पिता मानिन्छ। ताओले प्रकृति ब्रह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल

काठमाडौं ।  जीवन के हो ? जीवनलाई सहज र आदर्शवान कसरी बनाउने ? जीवनलाई बुझेर कसरी अगाडि बढ्न सकिन्छ ?

काठमाडौं । जनवरी १९ सन् १९९० मा ओशोले संसारबाट बिदा मागेका हुन् । भगवान रजनीश, ओशो, दार्शनिक रजनीश लगायत धेरै