राजा, ताना र म
तानासर्मा अथवा भनौं विकासे नाउँ प्रा.डा. तारानाथ शर्मासँग म झन्नै ४० वर्षदेखिसँगै छु भने पनि हुन्छ । तर हामीमाझ दुई दशकअघि एउटा डरलाग्दो ग्रहण लागिदियो र हामी पर, पर र झन्झनै परपर हुन थाल्यौं ।
तारा दाइको माया लागेर एक दिन म मेरी पुरोधिका इन्दिरासँगै ‘ताशागृह’ सरस्वतीनगर चाबेल गएँ । (सरस्वतीनगरको नाउँ पनि तारा दाइले नै राखेका हुन् ।)
हामी पुग्दा तारा दाइ र शान्ता दिदी धेरै नै खुसी भए । वास्तवमा त्यसदिन उनीहरू कति खुसी थिए भने अति खुसी थिए ।
तानासर्माको नाउँ जङ्गी स्वभावका स्रष्टामा दरियो । राजा महेन्द्र अथवा भनौं मविवी शाहको विरोधमा एउटा लेख लेखेपछि अनेक गरेर तानासर्माले वेलायत भाग्नु पर्यो । त्यहाँ पुगेपछि उनलाई अब बाँचें भन्ने भएछ ।
केही वर्षपछि राजा महेन्द्रको वेलायत सवारी भयो । राजदूतावासको उर्दी अनुसार सबै नेपाली नागरिकले राजाको स्वागतमा अनिवार्य उपस्थिति हुनु पर्ने भयो । अनि तारा दाइ पनि थरथरी काम्दै टुङ्गामा पुगे ।
राजा महेन्द्रको सवारी भयो, तानासर्मा सकेसम्म कसैबाट छेकिएर कोल्टे परेर उभिरहेका थिए । उनका छेउमा पुगेर राजा टक्क अडिए । त्यस घडी तानासर्माको मुटुको ढुकढुकी बढ्यो । त्यसै बेला राजा महेन्द्रबाट हुकुम भयो- “तारानाथ तिमी पनि यहीं छौ ? तिमी नेपालबाट कहिले आयौ, किन आयौ ?”
तानासर्माले पनि आफ्नो बेलिविस्तार बताएपछि राजाबाट हुकुम भयो- “तारानाथ पढी सकेर विदेशी रङ्गीविरङ्गीमा नअलमलिनु; मातृभूमिको सेवा गर्न फर्किनु ।
~
केही वर्षपछि तानासर्मा आफ्नी पत्नी सहित रत्नपार्कमा बाटो काट्ने सिलसिलामा उभिएका थिए । त्यसै बखत एउटा मोटर आयो । मोटरबाट टाउको निकालेर राजा महेन्द्र बोले- “ओ हो तारानाथ ! कहिले आयौ ? मलाई भेट है ! तिमी हिंड अनि म जान्छु । तानासर्माले बाटो काटेपछि राजाले पनि मोटर अघि बडाए ।
केही दिनपछि श्री ५ महेन्द्रको स्वर्गारोहण भयो । त्यस समाचारले तानासर्मा रोए ।
(दुवै फोटो लेखकबाट प्राप्त भएका हुन जुन वि.सं. २०४७ र २०७५ मा खिचिएका हुन)