Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

प्रिय बुहारी इन्द्रानी र हामी

८ चैत्र २०७५, शुक्रबार २२:३०


लेखकः नरेन्द्रराज प्रसाई

इन्द्रानी प्रसाई मेरी प्रिय बुहारी थिइन् । उनी मेरा भतिज कनककेशर प्रसाईकी पत्नी हुन् । कनक मभन्दा १३ वर्ष जेठा भए तापनि उनले मलाई गर्ने आदर माथिल्लो स्तरको छ । त्यसैले उनकी पत्नीले पनि मलाई धुमधामै चिज गर्थिन् ।

२०२८ साल पछाडिको कुरा हो; त्यस बखत काठमाडौंमा कनक तथा इन्द्रानीका छहारीमा म र उनीहरूका भाइबैनी सुमन र सीता बस्थ्यौं । स्कुलको समयबाहेक अरुबेला सुमन र म एकछिन पनि छुट्टिदैन थियौं । त्यस घडी सुमन शान्ति विद्यागृह पढ्थे भने म पद्मोदय हाइ स्कुलमा पढ्थें ।

इन्द्रानी त्यसै बेलादेखि मेरी करुणा थिइन् । वास्तवमा इन्द्रानीका कारणले मैले काठमाडौँमा टेकिने जाँगर बनाएको थिएँ । यदि त्यस बेला मैले कनक र इन्द्रानीलाई फेला नपारेको भए शायद म काठमाडौँमा अडिन पनि सक्तिन थिएँ होला । खास गरेर त्यस घडी इन्द्रानीले यस शहरमा मलाई बाँच्ने आड दिइन्, भरोशा दिइन् र साथ दिइन् । त्यति मात्र होइन मेरो छोरो कञ्चनजङ्घाको यस भूगोलमा अवतरण हुनुमा पनि इन्द्रानीकै पार्श्व भूमिका गाँसिएको छ । त्यसपछिका दिनमा पनि उनीबाट मैले छहारी पाउदै अाएँ ।

मेरो जीवनमा कनक र इन्द्रानीले जुन भूमिका खेले अविभावकले खेल्ने नै भूमिका खेलेका थिए । नातामा इन्द्रानी मेरी बुहारी भए तापनि व्यवहारमा उनी मेरी संरक्षक थिइन् ।

काठमाडौँ प्रवेशताका सुरुमा मलाई इन्द्रानीको मात्र आवश्यकता थियो । उनले मेरो दुक्खको मन र सुकेको शरीरलाई सिञ्चन गरिन् । उनले मलाई जीवन बाँच्ने बलियो आड दिइन् । उनको म चीर ऋणि हुनुपर्ने काम उनको व्यवहारले सधैं पस्किरह्यो । तर पछिपछि चाहिँ उनलाई पनि मेरो आवश्यकता बढ्दै गएको थियो । कारण के हो भने कनक र इन्द्रानीको छोरो जोनी हुर्काउन पनि मेरो प्रबल भूमिका गाँसिएको थियो । जोनी जन्मेदेखि नै म त्यसै परिवारमा सक्रिय रूपमा आबद्ध थिएँ । जाेनीको हेरविचारका साथै उनलाई हुर्काउन समेत मेरो पनि पूर्ण भूमिका हुन्थ्यो ।

परिस्थितिले गर्दा कनक र इन्द्रानीबाट म टाढा हुन थालेँ । अथवा भनौँ हामी एक अर्कामा कुहिरोको काग पनि हुँदै जान थाल्यौँ । हाम्रो भेटघाट मधुरोमधुरो नै हुन थाल्यो । अर्थात् हामी माझ तुवाँलोले पनि छेक्न थाल्यो । त्यसैले हामी एकअर्कामा आउनेजाने क्रमले पनि वर्षौंंवर्षको प्रतीक्षा गर्नुपर्थ्यो ।

कनक, इन्द्रानी र जाेनीसँग परिस्थितिले म टाढाटाढा भएकै थिएँ । अनि पछि एक्कैचोटि मैले थाहा पाएँ ‘धनकुटाबाट काठमाडौँ आउने क्रममा इन्द्रानीलाई रौतहटमा खोलाले बगायो । त्यही कारणले २०६४ साल भदौ २१ गते राति ११ बजे उनको स्वर्गारोहण भयो ।’ त्यस घटनाको सूचनाले मेरा टाउकोमा चट्याङ्ग परे झैँ भयो । भोलिपल्ट हाम्रै माझ मेरी स्नेही बुहारी इन्द्रानीको भौतिक शरीरको दाहसंस्कार काठमाडौँको आर्यघाटमा भयो । त्यस घटनाका कारण म फेरि रोएँ ।

इन्द्रानीको त्यो दृश्य सम्झँदा पुसमाघमा झरेको असिना अझै मेरा दिमागमा उफ्रिरहने गर्छ, त्यो दृश्यले मेरो मनमा लात्ती बजारिरहने गर्छ र त्यस दृश्यले मेरा आँखामा बागमती बगिरहने गर्छ । वास्तवमा मेरो जीवनमा अत्यन्तै प्रभाव पार्ने मेरी बुहारी इन्द्रानीको भौतिक चोला समाप्तिले म निक्कै, निक्कै र निक्कै शोकाकुल मात्र भइन भावनात्मक रूपले समेत एक्लो बनिरहेँ ।

प्रकाशोन्मुख मेर‍ो आत्मकथाको एउटा प्रसङ्गबाट ।
~
(फोटोको कुरा; त्यस बखत हामी मरिमरी हाँस्ने कारण के थियो भने- ‘कनक बाबुले रेडियो घन्काई रहेकी कान्छीको पछाडिपट्टिबाट कपाल ताने; कान्छी आइया भनेर कराई । अनि कनक पनि जोनी र इन्द्रानीको माझमा खुम्चेर उभिए । २०२९.०१.१० : चिडियाखाना, जावलाखेल)

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी

काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।