अरबी देशमा फुटबलको बढ्दो तरगं


अरबी देशहरुमा खेलकुदको बिकास र मुख्यतया फुटबलको बढोत्तरी शताव्दीऔं देखि चुनौति भएको बताइन्छ । अरबी देशहरुमा विश्वस्तरिय फुटबलको तालिम र खेलाडी जनशक्तिको बिकासका कदममा अभाव छ । किशोरअवस्थाबाटै खेलकुदका लागि जनशक्तिको खोजी, तालिम, अभ्यास अनि पढाई र खेलकुदलाई समानान्तर लैजाने शैक्षिक संस्थाको स्थापनामा अरब र उत्तर अफ्रिका पछाडि नै छ । अब बल्ल सुस्तरि अरबी देशहरुमा फुटबल को तालिम, अभ्यास केन्द्र अनि खेलको सामाजिकीकरणमा बृद्धि हुँदै आएको छ र आँउदा पुस्ताहरुलाई खेलाडी पेशातर्फ आकर्षण गर्ने क्रियाकलापहरु भइरहेको छ ।

कतारमा एस्पायर र मोरक्कोमा मोहम्मद ६ नामक फुटबलअकाडमी खोलेर आँउदा पुस्तालाई खेल प्रशिक्षण दिने र अन्तराष्ट्रिय तवरका खेलाडी निर्माण प्रक्रिया अघि बढाइएको पाइन्छ । कतारले आयोजना गर्ने सन् २०२२ को विश्वकपले पनि अरबी देशहरुमा फुटबलको तरगंमा नयाँ छाल उत्पन्न गर्ने आशा गरिएको छ । सन् २०१४ मा कतारको अण्डर १९ फुटबल समुहका खेलाडीहरुले म्यानमारमा एसियन फुटबल कप जितेका हुन्, ती सबै खेलाडीहरु एस्पायर अकाडेमीमा रहेका बिधार्थी थिए । यसै अकाडमीका खेलाडीहरुले सन् २०१९ को पनि एसियन कप जितेका छन्, सदावहार च्याम्पीयन जापानलाई फराकिलो अन्तरले हराँउदै कतारी समुहले कप उचालेको हो । यसै जोश अनि उमगंमा अब एस्पायर अकाडमीले कतारलाई विश्वकप २०२२ का लागि घरेलु मैदानमा दक्ष खेलाडीहरु उतार्ने प्रयासमा लागेको छ ।

उता मोरक्कोका राजा मोहम्मद ६ को नाममा बनाइएको मोहम्मद ६ फुटबल एकेडेमी सन् २००८ बाट सञ्चालनमा आएको हो । यो अकाडमी लाई मोरक्को सरकारले १५ मिलियन अमेरिकी डलर प्रदान गरेको छ । मोरक्कोमा अन्तराष्ट्रिय स्तरको फुटबल खेलाडी उत्पाद गरि फुटबल व्यबसाहिकतालाई प्रर्वधन गर्न यो अकाडमीलाई परिचालन गरिएको पाइन्छ । यस अकाडमीका ५७ मध्य ४७ खेलाडीहरुमा ९ खेलाडीहरु यूरोपका बिभिन्न लीगहरुमा खेल्ने गर्दछन भनें बाँकी ३७ जना मोरक्कोकै प्रथम र दोश्रो डिभिजन लीगबाट खेल्दछन् ।

मोरक्कोले भर्खरै मध्यपूर्वका बिभिन्न इस्लामीक र मेडेटेरियन गेम्सहरुमा फुटबलमा स्वर्ण पदक पाएको छ । मोरक्कोले गत वर्षको फिफा फुटबलमा पनि भाग लिएको थियो । अरबी देशहरुमा अहिले खेल र फुटबल प्रतिको यो चाखलाई विश्व समुदायले उत्साहजनक रुपमा लिएको छ । त्यस्तै साउदी अरबको बढ्दो उदारता अनि महिला खेलहरुमाथिको खुलापना अब बढ्दै गएको पाइन्छ । निकै विवादका बिच आयोजना हुने पक्का भएको सन् २०२२ को कतार विश्वकपले अब भनें अरबी देशहरुमा फुटबल क्रेजको नयाँ युग थालनी हुनेछ भन्नेमा सबैलाई विश्वास छ ।

लाइभमाण्डु


Loading comments...