भिडियो च्यालेन्जको उत्साह: जेष्ठ अभियन्ता पन्त र कान्छा निर्देशक विष्ट सहभागी हुदै


काठमाडौँ । वि विल राइज फाउन्डेसनले संचालन गरेको भिडियो च्यालेन्ज प्रतियोगितामा लुम्बिनी, बौद्ध धर्मको प्रचार प्रसारमा लागिरहेका जेष्ठ सामाजिक अभियन्ता एवं पत्रकार चेतन पन्त र गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा विश्वकै कान्छा फिल्म निर्देशकको किर्तिमान बनाएका सौगात विष्ट पनि यस भिडियो च्यालेन्जमा सहभागी हुने भएका छन् ।

उमेरमा ६० बर्ष पुगेका अभियन्ता पन्तले खरीबोटसँग कुरा गर्दै आफुले यस भिडियो च्यालेन्जमा भाग लिने बताए । पन्तले आफुले रुपन्देही जिल्लाको प्राकृतिक ठाउको एक भिडियो बनाउने तथा एक रुपन्देहीको स्थानीय उत्पादनको विषयमा भिडियो बनाउन सहयोग गर्ने बताए ।

लामो समयदेखि पत्रकारिता र सामाजिक काममा व्यस्त पन्तले यस अभियानले सिंगो देशको पर्यटन विकासमा कोशेढुंगा साबित हुने बताउछन् । सरकारले गर्नुपर्ने काम केहि युवाहरुको सक्रियतामा सुरु भएकाले यसलाई सबैले सहयोग गर्नुपर्ने भन्दै पन्त देशप्रेमको यो ताजा उदाहरण समेत भएको उनले बताए ।

अभियानमा सहभागी हुन अरुलाई प्रेरणा होस् भनेर नै आफु पनि सहभागी हुन लागेको बताउदै उनले भने, ‘यसलाई देशको पर्यटन विकासको जगको रुपमा लिनु पर्छ । देश विकासको प्रमुख आधार पर्यटन भएकाले यस अभियानमा सबै क्षेत्र, बर्गले साथ दिनुपर्दछ । म सम्पूर्ण स्थानीय मिडिया, सामाजिक कार्यकर्ताहरु सबैलाई यस अभियानमा भाग लिन र आफ्नो ठाउको प्रचारमा जुट्न आव्हान गर्दछु ।’

लुम्बिनी र बौद्ध धर्मको प्रचारमा पछिल्लो समय सक्रिय पन्तले अमेरिका, हङकङ, बर्मा, मलेसिया लगायतका देशमा पुगेर प्रचार प्रसार गरिसकेका छन् । साथै पन्तले लुम्बिनी, कपिलवस्तु सम्बन्धी डकुमेन्ट्री समेत बनाएर प्रचार प्रसारमा योगदान गरेका छन् ।

त्यस्तै यस भिडियो च्यालेन्जमा नेपालका कान्छा फिल्म निर्देशक सौगात बिष्टसमेत सहभागी हुदै छन् । हाल कक्षा ६ मा अध्ययनरत विष्टले यस अभियानमा सहभागी भएर नेपालको पर्यटन विकासमा योगदान गर्ने बताए ।

विश्वकै कान्छा फिल्म निर्देशक बनेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड समेत बनाएका विष्टले आफुले बनाउने भिडियोको विषयमा अहिले अध्ययन गरिरहेको बताउदै यस अभियानले देशको पर्यटन विकासमा ठुलो मद्धत पुग्ने ठानेर सहभागी हुन थालेको बताएका छन् । विष्टले २०७१ मा फिल्म ‘लब यू बाबा’ निर्देशन गरेका थिए भने गत बर्ष फिल्म हैरान निर्देशन गरेका थिए ।

पन्त र विष्टको भिडियो च्यालेन्जमा सहभागिता हुने थाहापाएपछि आफुहरु निकै उत्साहित भएको फाउन्डेसनका निर्देशक एवं अभियानका संयोजक निर्मल श्रेष्ठले खरीबोटलाई बताए । स्थानीय ठाउलाई सबैको नजरमा ल्याउन यस अभियान सहयोगी हुने हुनाले पन्त र विष्ट जस्ता समाजका सम्मानित व्यक्ति सहभागी हुदा अभियानमा सहभागी हुन अरुलाई प्रेरणा मिल्ने निर्देशक श्रेष्ठ बताउछन् ।

देशका विभिन्न ठाउहरुबाट यस भिडियो च्यालेन्ज अभियानमा सहभागी हुने क्रम बढेको बताउदै श्रेष्ठले पत्रकारिता, फिल्म अध्ययन गरिरहेका र समाजका विभिन्न पेशामा रहेकाहरुलाई यस अभियानमा भाग लिएर आफ्नो ठाउको प्रचारमा जुट्न अपिल समेत गरेका छन् ।

प्रचार प्रसारको अभावमा बाहिर आउन नसकेका स्थानीय ठाउहरुलाई बाह्य तथा आन्तरिक पर्यटकको नजरमा पारेर देशको पर्यटन विकासमा योगदान गर्ने उद्धेश्यले संचालन गरिएको यस भिडियो च्यालेन्ज बिभिन्न पेशा र क्षेत्रका व्यक्तित्वको समेत सहभागिता बढिरहेको छ ।

यस्तो छ भिडियो च्यालेन्ज अभियान :
देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ ।

दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ ।

साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन् ।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ । यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ । यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ । साथै खरीबोट डट कम पनि यस अभियानको मिडिया सहयोगी रहेको छ l


Loading comments...