बोआओ फोरम सम्मेलन आजदेखि चीनमा सुरु – चीनको प्राथमिकता किन कम ?


चीनको एक अन्तर्राष्ट्रिय मञ्च बोआओ फोरम सम्मेलन आजदेखि चीनमा सुरु भएको छ । यस सम्मेलनमा कम्तीमा पनि ३० हजार स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको सहभागिता रहेको छ । तर यस वर्षको यो फोरमलाई चीनले नै कम प्राथमिकतामा राखेको बुझिएको छ । चीनको पछिल्लो नीतिमा यसलाई भन्दा बढी प्राथमिकतामा बिआरआई सम्बन्धी फोरमलाई राखिएको हुनसक्ने अनुमान धेरैको छ ।

केही दिन अघिका नेपाली छापाहरुले चीनले यस पटकको यस फोरममा नेपाललाई आमन्त्रण नगरेको समाचार बनाए । ती मिडियाले वर्तमान सरकारलाई चीनले उक्त फोरममा आमन्त्रण नगर्नुलाई नेपाल चीन सम्बन्धसँग पनि जोडेर विश्लेषण गरेका थिए ।

तर त्यो विश्लेषण सही नभएको चीन मामिलाका जानकार रहेका एकजना नेपाली प्राध्यापक डा. राजिवकुमार झाको भनाई छ । उनले भने–यसपटक चीनले बोआओ फोरमलाई भन्दा पनि बिआरआई सम्मेलनलाई बढी प्राथमिकतामा राखेको देखिन्छ । त्यसैले यस सम्मेललनमा कुनै देशका सरकार तथा राष्ट्रप्रमुखहरुको सहभागिता मैले देखेको छैन– प्राध्यापक झाको भनाई छ । आजदेखि चीनमा यो फोरमको बैठक सुरु भएको समयमै फोरमको यस सम्मेलनमा चिनियाँ राष्ट्रपतिको सहभागिता नदेखिनुले पनि प्राध्यापक झाको भनाईको पुष्टि गर्दछ । सहभागिता मात्र होइन कि यतिखेर चिनियाँ राष्ट्रपति सि चिनफिङ विदेश भ्रमणमा छन् । उनी केही दिनदेखि युरोपको भ्रमणमा रहेका छन् ।

उक्त बिआरआई सम्मेलन अको महिना बेइजिङमा हुन लागेको छ । सो सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका सरकार तथा राष्ट्रप्रमुखहरुको सहभागिता रहने प्राध्यापक झाको भनाई छ । सो सम्मेलन चीनका लागि धेरै हिसाबले महत्वपुर्ण हुनेछ र नेपालका लागि पनि त्यो फलदायी हुनेछ, प्राध्यापक झाले भने । त्यस सम्मेलनमा चीन सरकारले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गरिसकेको र त्यो भ्रमणलाई बढी महत्व पनि दिएको उनको भनाई छ । प्राध्यापक झाले भनेजस्तै चीनले आजदेखि सुरु भएको बोआओ सम्मेलनलाई महत्व दिएको देखिँदैन । बिआरआई चीनको सबैभन्दा महत्वपूर्ण र महत्वाकांक्षी आयोजना हो । यस आयोजनालाई वर्तमान राष्टपति चिनफिङले अघि सारेका हुन् ।

चीनले हरेक वर्ष बोआओ सम्मेलन गर्नेगर्छ भने हरेक दुई वर्षमा बिआरआई सम्मेलन गर्ने प्रचलन सुरु गरेको छ । आर्थिक मञ्चका साथै सहयोग आदान प्रदान र समझ्दारी सम्झौताका रुपमा स्थापित सो मञ्चमा प्रधानमन्त्री केपी ओलीले तीन वर्षअघि आफू प्रधानमन्त्री भएको बेला सहभागी भएका थिए । त्यसपछि नेपालका राष्ट्रपति या प्रधानमन्त्रीको सहभागिता भएको छैन । चीनले आफ्ना सहयोगी तथा साझेदार राष्ट्रहरुलाई बिआरआई मार्फत सहयोग गर्न चाहेको पनि प्रष्ट देखिन्छ । त्यसैले यस पटकको उक्त सम्मेलनमा बेइजिङमै गर्ने, उक्त आयोजनामा हस्ताक्षर गरेका राष्टका प्रमुख एवम् सरकार प्रमुखहरुलाई आमन्त्रण गरेको छ, उनीहरुलाई बढी भन्दा बढी सहभागी गराएको छ र उनीहरुसँग द्धिपक्षीय र बहुपक्षीय वार्ताहरु गरी आर्थिक सामाजिक क्षेत्रमा सहयोग र समझ्दारीको सम्झौता पनि गर्नेछ ।

प्राध्यापक झाले भने– चीन सरकारको प्राथमिकतामा नेपाल नपरेको भन्ने कुरा गलत हो, अहिले झन् बढी प्राथमिकतामा परेको छ, राष्ट्रपतिको भ्रमणलाई चीनले प्राथमिकतामा राखेको छ र त्यस समयमा दुई देशबीचमा आर्थिक र सामाजिक क्षेत्रका विभिन्न आयोजनामा सम्झौता हुने सुचना पनि मैले पाएको छु ।

आजदेखि सुरु भएको सो फोरममा चीनमा विभिन्न देश र चीनका समेत गरी कम्तीमा पनि ३० हजार प्रतिनिधिको सहभागिता छ । तर सरकार तथा राष्ट्रप्रमुखहरु भने छैनन् । आजको ठीक एक महिना पछि हुन लागेको बिआरआई सम्मेलनमा भने विश्वका कम्तीमा पनि ५० देशका सरकार तथा राष्ट्रप्रमुखरुको सहभागिता हुने लगभग निश्चित भएको छ । त्यसैले पनि चीनको प्राथमिकतामा बोआओ भन्दा बिआरआई फोरम पर्न थालेको बुझ्न सकिन्छ ।


Loading comments...