
नेपाल आईडल – TEXAS TOUR 2019 हुने
नेपाली सङ्गीतको ब्यापकता तथा लोकप्रियतामा ईँट थप्न सफल “नेपाल आईडल” दोश्रो संस्करणको बिजेता रवि ओड, बिक्रम बराल तथा सुमित पाठक सम्मलित अमेरीका यात्रा हुनेभएको छु । यही यही ११ मे शनिबार साँझ ७ बजे डालसस्थित ट्रिनिटी मिल्स रोड, करोलटन टेक्सासमा पहिलो साङ्गीतिक कार्यक्रम स्वरुप “NEPAL IDOL – TEXAS TOUR 2019” हुने भएको हो । नेपाल आईडलकी होष्ट तथा लोकप्रिय नायिका रिमा बिश्वकर्माले शोको सञ्चालन गर्नेछिन ।

“कार्यक्रमको घोषणा अघिनै आदिनाथ पशुपतिनाथ तथा गुम्बा निमार्णका लागि १.५ मिलियन डलर संकलन भईसकेको छ । “NEPAL IDOL – TEXAS TOUR 2019” साङ्गीतिक कार्यक्रम गर्नुको उद्देश्य पनि यसको लक्षित रकममा सहयोग गर्दै एउटा विशेष महत्वाकांक्षालाई पुरा गर्न योगदान गर्नु हो । नेपाली परम्परागत शैलीमा निर्माण हुने मन्दिर तथा गुम्बाको कूल लागत २.५ मिलियन डलर यकिन गरिएको छ । हामी उत्साहित छौं यो महान कार्यमा एउटा आशलाग्दो योगदान गर्न गईरहेका छौं ।” 8848 Media House का अध्यक्ष तथा नेपाली चलचित्रका चर्चित निर्देशक नारायण पुरीले बताउनुभयो ।
“BODHI HD तथा 8848 MEDIA HOUSE को प्रस्तुतिमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (युलेस) मन्दिर तथा बौद्ध गुम्बा निर्माणको सहयोगार्थ हुने “NEPAL IDOL – TEXAS TOUR 2019” डालस सहित ३ शहरमा हुने कार्यक्रमको हामीले ब्यापक तयारी थालेका छौं । अमेरीकास्थित हरेक नेपाली संघसंस्था तथा नेपालीहरुबिच यस विशेष उद्धेश्य सहितको साङ्गीतिक प्रस्तुतिलाई ब्यापक सहभागीता सहितको सहयोगका लागि अपिल गर्दछौं ।” निर्देशक पुरीले थप्नुभयो ।

लाईभमाण्डूसंग कुराकानी गर्दै BODHI Entertainment LLC का CEO तथा युवा उद्यमी रमेश एमके पौडेलले भन्नुभयो, “हामी उत्साहित छौं नेपाली साङ्गीतिक रियालिटी शोको ईतिहासमा सर्वाधिक सफल “नेपाल आइडल”को दोश्रो संस्करणका बिजेता रवी ओडसहित बिक्रम बराल तथा सुमित पाठकलाई अमेरीकामा स्वागत गर्नका लागि । वहाँहरुको ब्यापक स्वागत, सत्कारका लागि तथा वहाँहरुले प्रस्तुत गर्ने साङ्गीतिक प्रस्तुतिका लागि आवश्यक कुनै पनि कुरामा हामी सम्झौता गर्नेछैनौ । हामीमात्र हैन अमेरीकास्थित नेपालीहरु पनि कलाकारहरुको स्वागतमा ब्यापक सहभागिता सहितको समर्थनका लागि आतुर छन् ।”
पौडेलले अगाडी थप्नुभयो, “यो कार्यक्रम मनोरञ्जन र रमाईलोमा मात्र केन्द्रित नभएर एउटा विशेष महान उद्देश्यका लागि हामीले आयोजना गरीरहेका छौं, सङ्गीतको विश्वब्यापीकरणमा यसले सहयोग त गर्छ नै साथै जुन उद्देश्यका लागि हामी हिंडेका छौं त्यसका लागि यसबाट प्राप्त रकमको पनि उचित सदूपयोग गर्न सकिनेछ र हाम्रो विशेष उद्देश्य भनेको नेपालीहरुको आस्थाको धरोहर आदीनाथ पशुपतिनाथको मन्दिर तथा विश्व शान्तिका प्रतिक गौतम बुद्धको समर्पणमा बौद्ध गुम्बा अमेरीकामा निर्माण गर्नु हो । हामी विश्वस्त छौं नेपाली कला तथा सङ्गीतका भोका नेपालीहरुले “NEPAL IDOL – TEXAS TOUR 2019”को टिकट खरिद गरी मनोरञ्जनका साथ एउटा विशेष उद्देश्यमा योगदान गर्नेछन्; हामी उत्साहित छौं ।”
डालसको साङ्गीतिक शो पछि १७ मे शुक्रबारका दिन टेक्ससको हस्टनमा दोश्रो तथा १८ मे शनिबारका दिन टेक्ससको अस्टिनमा तेश्रो शो सङ्गै“NEPAL IDOL – TEXAS TOUR 2019”को समापन हुनेछ ।