ज्यूँदा शहीद  छविलाल : द्वन्द्वकालिन कथा


सन् २००२ को अगस्त १ सम्पूर्ण गाँउलेहरु बर्खाको अन्तसंगै दशैं तिहारको लागि दाउरा खोज्न जाने र अन्य तयारीमा लागेका थिए । राजकोट गाँउको बबई खोलाको किनारको यो घटनाले आज पनि सबैको आत्मासम्म हल्लाँउदछ । १६ वर्ष पछि पनि ति घाउका खाटाहरुमा मल्हम लागेको छैन, त्यसदिन एकै गाँउका दर्जनौं दाउरा काट्न गएकाहरुको सामुहिक हत्या भयो, सबिस्तार कुरा शुरु गर्यौं ।

११ जना गाँउलेहरु जगंलमा लडेका रुखहरु काट्न अनि दाउराको जोहो गर्न जगंल पसेका थिए । केहि समय आफ्ना बन्चरोले दाउरा काटेर थोकेपछि एकैछिन सबैजना एउटा रुखमुनीको छहारीमा सुस्ताए । उनीहरु आफ्नो बन्चरो र खुर्पाका साथमा दाउराका चिर्कटो संगै बसिरहेको थिए जब एकहुल सैनिक अगाडीको घाँसको थुप्रोबाट निस्किए ।

बन्दुकको नाललाई दाउरेहरुको छातीमा राखेर उनीहरुले किन त्यहाँ आएको र को हो भनि सोध्न थाले । आफ्ना हाकिमसंग २ किमी माथिको किल्लामा वाकिटकीमा कुरा गरेपछि सबै ११ जना बन्दकलाई माथि सैनिक किल्लामा लगियो जहाँ उनीहरुको आँखा थुनेर माथिको लुगा खोल्न लगाइयो । सानो पाकेटबुकमा सबैको नाम लेखेको थियो, क्रमश सबैलाई गोली हान्दै जाँदा छविलालको पालामा उनी डरले डाँडाबाट तल खसे । त्यसपछि भागेर उनी ज्यान जोगाँउदै बबई खोलाको किनारमा लुकेर बसे, एकजना आफन्तसंग भेटेर महिनौंसम्म उनी घोराहीमा लुकेर बसे । संगैका साथीहरुको मृत्युको शोक अनि अनाहकमा आफ्नो पनि मृत्यु कुरेर बसेका उनी प्रत्यक मोड र आँखासंग संभावित मृत्युबाट जोगिंदै भागेर भारतको चन्दीगढमा स्टील कारखानामा काम गर्न पुगे ।

करिब ४ वर्षपछि उनी आफ्नो देश फर्किए तर सैनिकहरुले उनलाई खोज्न छाडेका थिएनन । तुलसीपुर बजारबाट ३० किमी परको कौवाघारीमा छविलालको घर छ । त्यहाँ १० वटा जति सार्की परिवारहरुको घर छ लगभग सबै घरबाट एक जना छविलाल संग दाउरा काट्न जाँदा मारिए, छविलाल अहिले पनि यो त्रासदि सम्झेर झस्किन्छन्, अनिन्द्रा र तनावको शिकार भएका छन् उनी । सन् १९६४ को भूमिसुधार ऐनको कारणले स्थानीय ब्राह्मणहरुले छाडेको बाँझो र कम उब्जा हुने पर्ति जमिनमा सार्की परिवारले खोस्रेर आफ्नो जिवीकोपार्जन त गर्दै भाएका थिए तर सन् २००२ मा सामूहिक हत्याको कारणले यि परिवारहरु तितरबितर भए ।

बस्तुभाउको छालाबाट जुत्ता, पेटी बनाउने सार्की दाजुभाईहरुलाई राजकोट टावरमा हतियारसहित आएको भनेंर सेनाले दोहोरो भिडन्तमा मारिएको बतायो । केहि आतकंवादी भागेको र उनीहरुको साथमा बारुद, हतियार पनि भेटिएको बताँउदा घरपरिवारहरु आफ्ना निदोर्ष अनि निहत्था सदस्य सझेंर बिह्वल हुँदै अझै पनि त्यस अन्यायको पीडा वयान गर्दछन् । तत्कालिन गृह मन्त्री खुम बहादुर खड्काले मृतकको शरीर परिवारलाई दिने भनेंर बताएपनि सेनाले ति शरीरहरु दिन मानेन, खबर अनुसार हल्फाको घाँसले पुरेर अदकल्चो शरीरहरुलाई स्याउलाले छोपियो अरे भन्ने सुनियो । मृतकहरुको अन्तेष्टी गर्न अझैं बाँकी छ, गएका १६ वर्ष यस्तै वेदना र विभत्सतामा बिते ।

एकजना जोग बहादुर बाहेक त्यसदिन मारिने सबैजना बिवाहित थिए, उनीहरुका सन्तान पीताको जीवनको त्यस प्रश्नचिह्नमा हुर्किए, शान्ति संझौताको औचित्यमा मारिएका ति मान्छेहरुको अवस्थिती र न्याय कहिले आउन सकेन । सन् २००८ मा सरकाले मृतकको परिवारलाई युद्ध पीडित परिवार जनाँउदै जनहि १० लाख दियो, किस्तामा पाएको ति पैसोले लोन तिरोतारो अनि केहि घरजग्गाको जाहो सम्म भयो । पछि सरकारले कौवाघारीलाई नमुना बस्ती बनाउने योजना सम्म बनायो । तर यो नमुना बस्ती कार्यक्रमको संयोजनमा सार्की परिवारबाट कोही परेनन, चरम भ्रष्टाचारमा मोडल बस्तीका खानेपानीका पाइपहरु केहि महिनामा नै चुहिएर पानी दुषित हुन थाले । यसको विरोधमा उठेका केहि सार्की युवाहरुलाई वर्षौसम्म जेल हालियो, पहुँच बिनाको प्रजातन्त्रमा यि बिपन्न परिवारहरु सदैव पिल्सिए ।

ज्यूँदो शहीद छविलाल अहिले गाँउमै सिकर्मीको काम गर्दछन्, त्यसैगरि त्यदिन मारिएका सोमराजका छोरा अहिले काठमाण्डौ बालाजुमा गार्मेन्टमा काम गर्दछन् र कोरियन भाषा सिक्दै छन् । त्यसदिनका मृतक कसैका पनि सन्तानले हाईस्कुलसम्म पास गर्न सकेनन, चरम गरिबी र आसन्न द्वन्द्वले सबैको घरबास अनि भविष्य डुबायो । कोही खाडी मुलुकमा छन् । अधिकांश मृतकका सन्तानहरु माओवादी द्धारा स्थापित नजिकैको बिजौरी बिधालयमा पढ्न गए, बिजौरीमा शिक्षा र वसोवास त निशुल्क थियो तर बुवा गुमाएर आमासंग हुर्केका न्यास्रिएका केटाकेटीहरु घर छाडेर बस्न सकेनन् । गाँउका स्कुलमा पैसो तिरेर पढ्ने उनीहरुको हैसियत भएन अनि उनीहरु केवल एनजीओ र आईएनजीओको केस स्टोरीका कभर पाना र फोटाहरुको कलेक्शनमा मात्र भए ।

भीमबहादुर सार्कीका ३ जना छोराहरु त्यसदिन मारिए, आजसम्म यिनी अर्धपागल झैं भएका छन् । दिनको ३ पटक रक्सी खान्छु र मलाई अब यो देशको न्याय अनि राजनितीमा बिश्वास छैन उनी भन्दछन् । दिनको ३ पटक सस्तो रक्सी पिउदै यिनी मृत्युको प्रतिक्षामा भएको बताउँदछन् । राजकोट घटनाको महिनादिन पछि गाँउमा सेनाको गस्ती तिब्र भयो, तिजको क्रममा चाड बनाउन भैंसी काट्न लागेका तोप बिश्वकर्मा, मनोज नेपाली, चोप नेपाली र राम नेपालीलाई सेनाले बिना पुछताछ गोली चलाई गोठमै ढाल्यो । कतिपय गाँउले अझै जगंलको चकमन्नतामा हराएका छन्, सुनिन्छ लहरै उभ्याएर गोली हान्दा बाँकी मृतकले पहिले मारिएकाका लागि खाल्डो खनें र पछि उनीहरुलाई आफ्नै लागि पनि खाल्टो खन्न लगाएर त्यही पर्ने गरि गोली हानियो । द्वन्द्व पीडादायी हो तर न्यायको बिलम्भ दुर्भाग्य हो । यहाँ दुबै तर्फबाट युद्धको समयमा रगतका खोला बगाइएका छन्, नेपाल ति बेला पनि गरिबी र दुर्भाग्यसंग लड्दै थियो र आज पनि त्यस्तै छ । द्वन्द्वकाल सकियो तर पीडा बाँकी छ ।

लाइभमाण्डु


Loading comments...