विक्रम सम्वत् २०७५ ‘फर्केर हेर्दा’


बिक्रम सम्बत् २०७५ निकै आशा र स्थायित्वका नयाँ उज्यालो लिएर सनातन वैदिक संस्कारको यो देशको दैलोमा प्रवेश भएको छ । लाईभमाण्डू परीवारका तर्फबाट हाम्रा आदरणीय पाठकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

भूकम्प, नाकाबन्दी, अस्थिरता अनि चुनावी माहोलपछि वर्ष २०७५ एउटा उत्साह अनि आशाका साथ आएको वर्ष थियो । वर्ष २०७५ मा नेपालले निकै ठूलो मानविय क्षती र दूर्घटना अनि निकै आशालाग्दा घटना र परिवेश दुबै देखाएको छ ।

वर्ष २०७६ ले बहूमतको सरकारका विभिन्न योजना, अभ्यास तथा आशाहरुमा कसरत गरीरह्यो । विकास पूर्वाधारका केही आशलाग्दा कुराहरुले वास्तवमैं आशा बढाएका छन् । विश्व शान्तिको प्रमुख केन्द्र अथवा भनौ आकर्षण केन्द्र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल निर्माणमा भईरहेको युद्धस्तरको प्रगतिले देश विकाशको सवालमा गम्भीर देखिन्छ भने सरकारका केही महत्वाकांक्षि योजना र ति योजनाहरुमा भएका प्रारम्भिक अभ्यासहरुबाट भोली हामीले प्राप्त गर्ने नतिजा भने जनताको मन शंकास्पद अवस्था मैं छ । जस्तैः भारतबाट जलमार्गको प्रयोग गर्दै पानीजहाजलाई प्राथमिकताका साथ स्थापना तथा संचालन गर्ने ।

सडक दूर्घटनाका क्रमहरु यो वर्ष पनि बढ्दो पाइयो भने वर्ष भरि नै नेपाली सामाजिक सञ्जालहरु केहि न केहि काण्ड र मुद्दामा तातिएकै देखियो ।

यस वर्ष नेपालले आफ्नै भूउपग्रहको प्रक्षेपण तयारी गरेको छ, काठमाडौ उपत्यकाका चक्रपथको कलंकी कोटेश्वरको रोड बिस्तारले अन्तिम प्रारुप पाएको छ भनें नेपाली सरकार अन्र्तगत पानी जहाज मन्त्रालय पनि गठन भएको छ । संघीयताका बदलीएका शाषन प्रणाली र परिवेशमा आम नेपालीहरु यस वर्ष निकै रुमलिएका पाइए, उजुरी देखि उपचारसम्मका कुराहरुमा दुविधा अनि प्रादेशिक सरकार र केन्द्रिय सरकारबिचमा दुविधा र वैमनस्यता सम्म पनि यस वर्ष देख्न पाइयो ।

वर्षको शुरुवात सुखद रह्यो तथापी वर्खा लागेपछि बाढी पहिरोका श्रृखलाहरुले भनें नेपाल भरि निकै नै चोट दिएर गए । सिमा यसपाला पनि खोटिँदै आए अनि यस वर्षको अन्तमा भनें मन्त्रीपरिषदको निर्णयमा सगरमाथाको उचाई नाप्ने स्वदेशी टोली सगरमाथा माथि उकालिँदैछ । श्रावण महिनाको ११ गते कैलालीकी चेली निर्मला पन्तको रहस्य हत्याले वर्षभरि अनि जुनीजन्मान्तरका लागि नेपाली समाजका लागि नमेटिने पीडा दिएर गएको छ । निर्मला हत्या काण्डको हत्यारा खोजिक्रममा सबुतको नष्ट गरिदाँ पनि सरकारी संयन्त्रको मौनता अनि कम प्रभावकारिताको सर्वत्र बिरोध भएको छ । यस वर्ष पनि निर्मलाले न्याय पाउन सकिनन, वर्ष २०७५ को सबैभन्दा ठूलो पीडामा निर्मला हत्याकाण्ड पर्न आउँदछ ।

वर्षको शुरुवाती क्रममा नै आफूलाई वुद्धको अवतार बताउने नयाँ वुद्ध भनिने राम बहादुर बम्जन माथिको आरोप र खोजिले पनि निकै चर्चा पाएको थियो । गोरेको सुनकाण्डले ल्याएका प्रश्नहरु अनि तथ्य खोजिमा यस वर्ष पनि निकै चुकेको छ भनें त्यत्रा सुन छिर्ने एयरपोर्टमा यस वर्ष पनि खाडी मुलुकबाट फर्किएका नेपाली कामदारले घरमा ल्याएका ससाना कुराहरु पनि छिराउन नपाएका निकै घटनाहरु दोहोरिरहे ।

राजा आउने कुरा र राजाका समर्थन, बिरोध र भ्रमणका सिलसिलाहरु वर्ष भरि चलिनै रहे । वर्षको उत्तरार्ध तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीको देश दौडाहा अनि वर्षको मध्यतिर नयाँ शक्तिका बावुराम भट्टराईको देशदौडाहले पनि निकै चर्चा पायो । सरकारले यसै वर्ष अश्लिल चलचित्र हेर्न नेपालमा रोक लगाँउदै सम्पूर्ण आइएसपीहरुलाई त्यस्ता साइटहरु बन्द गर्न लगाएको छ भनें वर्षको अन्तिममा विश्वमै लोकप्रीय खेल पबजी ब्याण्ड गरेर नेपाल सरकारले समर्थन र बिरोध दुबै बटुलेको छ ।

वर्षमा गुमाएका व्यक्तित्वहरु
कला, राजनीति, समाज तथा व्यापारीक क्षेत्रबाट नेपाली जनमनमा आफ्नो प्रभाव जमाउन सफल केही लोभलाग्दा व्यक्तित्वहरुलाई वर्ष २०७५ ले खोसेर लगेको छ ।

तुलसी गिरीः पूर्व प्रधानमन्त्री डाक्टर तुलसी गिरीको मृत्यू पनि यसैै वर्ष भयो । तात्कालिन राजसंस्था र राज घरानाका प्रियपात्र मानिएका गिरी नेपाली राजनितीका ज्यूँदा ईतिहास भन्दा कम थिएनन ९० वर्षको उमेरमा २०७५, पौष ३ गते संसार त्याग गरे । नेपाली राजनीतिक सिंहासनमा पटक पटक आफ्नो प्रभाव जमाउन सफल पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीले राजकीय अन्त्येष्टि भएन ।

भरतमोहन अधिकारीः लोकप्रिय कम्यूनिष्ट नेता तथा पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले गठन गर्नुभएको बि.सं. २०५१ सालको ९ महिने एमाले सरकारको सर्वाधिक सफल अर्थमन्त्री तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा फागुन १८ गते निधन भयो । विक्रम सम्वत् १९९३, बैशाख २२ गतेका दिन महोत्तरी जिल्लाको भ्रमणपुरमा जन्मिनुभएका अधिकारी तीन हप्ता लामो फोक्सो र मुटुको कठिन उपचारको क्रममा २०७५, फागुन १८ गते ८३ वर्षको उमेरमा शनिबारका दिन राती ९ः३५ मिनेटमा काठ्माण्डौस्थित ह्याम्स अस्पताल, धुम्बाराहीमा निधन भएको थियो । आफ्नो गाउँ आफै बनाउँ अन्तर्गत स्थानिय निकायलाई सिधै विकास बजेट दिने सुरुवात गर्नुभएको तथा ज्येष्ठ नागरिकलाई भत्ताको प्रारम्भ गर्नुभएको योगदानका लागि देशले युगौं सम्झिराख्नुहुने प्रात्र बनिरहनु हुनेछ ।

उपेन्द्र देवकोटाः यता विश्वकै चर्चित अनि सिद्धहस्त न्यूरो सर्जन तथा पूर्व स्वास्थ मन्त्री डा. उपेन्द्र देवकोटालाई पनि वर्ष २०७५ ले हामीबाट खोसेर लग्यो । उनको चर्चा त्यसबेला चुलियो जतिबेला सिङ्गापुरमा वहाँकै नेतृत्वमा चिकित्सा विज्ञानमा अतिनै कठिन मानिएको शिर जोडिएका नेपाली नानीहरु गंगा जमूनाको अप्रेशन भएर छुट्टयाउन सफल हुनुभयो । अत्यन्त छोटो समयमा क्यान्सरको कारणले पूर्व स्वास्थ मन्त्री समेत भएका डाक्टर देवकोटाले असार ४ गते संसारबाट सदाका लागि बिदा लिए ।

रविन्द्र अधिकारीः वर्षको उत्तरार्धमा नेपाली उड्ययन ईतिहास अनि हेलीकप्टर दुर्घटनाको श्रृंखलामा अर्को नमिठो घटना घट्यो । विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा विशेष छुटका लागि पहल गर्नुभएर लोकप्रियता कमाउनुभएका सर्वप्रिय युवा नेता तथा वहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई हामीले २०७५, फाल्गुन १५ का दिन ताप्लेजुङ जिल्लाको बाह्र डाँडा नजिकै उनी चढेको हेलिकप्टर दूर्घट्नामा गुमायौं ।

आङ छिरिङ शेर्पाः यति, तारा तथा हिमालय एयरका मालिक तथा ट्रेकिङ क्षेत्रबाट नाम बनाउनुभएका चर्चित पर्यटन ब्यवसायी आङ छिरिङ शेर्पाको पनि पर्यटन मन्त्री रविन्द्र अधिकारी गुमाएको ताप्लेजुङ जिल्लाको बाह्र डाँडाको हेलिकप्टर दूर्घटनामा निधन भयो । सगरमाथा आरोहरणको प्रथम नेपाली चेली पासाङ ल्याह्मू शेर्पाको साँईला देवर हुनुहुन्थ्यो स्व. आङ छिरिङ शेर्पा । वहाँसंग सोही घटनामा यूवराज दाहाल, उड्ययन प्राधिकरणका उपनिर्देशक बिरेन्द्र प्रसाद श्रेष्ठ र सुरक्षाकर्मी अर्जुन प्रसाद घिमीरे लगायत पाइलट प्रभाकर केसीको पनि २०७५, फाल्गुन १५ मा भएको दुर्घटनामा मृत्यु भयो ।

एकजना नेपाली चेलीले इथोपियन एयरलाइन्स दुर्घट्नामा ज्यान गुमाएको खबर पनि वि.सं. २०७५ ले छाडेर गएको दुःखद घटनाको सूचीमा दर्ता हुनगयो ।

बिएस राणाः नेपाली रङ्मञ्च तथा ठूलो पर्दाका पुराना कलाकार बिएस राणाको मृत्यूले पनि यस वर्ष नेपाली कलाप्रेमीलाई ठूलो चोट दियो । कलाकारिता क्षेत्रमा तीन दशक भन्दा बढी समय बिताएका ७६ वर्षे बरिष्ठ कलाकार बिएस राणाको उपचारका क्रममा २०७५, माघ १८ का दिन काठ्माण्डौस्थित शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । सेक्शपियरका अधिकांश कृतिहरुका नेपाली संस्करणमा उनले अभिनय गरेका कारण उनलाई नेपाली रङ्मञ्चका सेक्शपियर पनि मानिन्छ ।

राणाले नेपाली चलचित्र सेतो बाघ, दक्षिणा, दासढुङ्गा, चिनो, बसन्ती, नेपाली बाबु जस्ता यादगार कृतिहरु तथा दर्जनौं दर्जन नेपाली टेलीचलचित्रमा अभिनय गर्नुभएको थियो ।

बुद्धिकृष्ण लामीछानेः
चर्चित लोकगायक बुद्धिकृष्ण लामीछानेको मृत्यूले पनि यस वर्ष कला क्षेत्रलाई ठूलो मर्म दिएको छ । भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा वि.सं २०१५ साउन १ गते जन्मिएका लामिछानेका लोकप्रिय गीत ‘घाँस काट्ने खुर्केर’, ‘पिढीमा बसेर मेरै बाटो हेरेर’, ‘गाई त बाध्ने पाटको दाम्लो’, ‘बाखरी बाखरी, बाखरी बाँध्ने डोरीले मैले के गर्नु’ जस्ता सर्वप्रिय गीत नेपाली साङ्गीतिक नक्षत्रमा सदा सम्झिइनेछ । लामिछाने ७ वर्षदेखि प्यारालाइसिसको समस्याले घरमैं थला पर्नुभएको थियो, वहाँको शरीरको दाहिने भाग नचल्ने समस्या थियो । वहाँले लोक गायकको रुपमा जीवनको महत्वपूर्ण समय रेडियो नेपालमा पनि खर्चिनुभएको थियो । वहाँको २०७५, पौष १३, शुक्रबारका दिन ६६ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

दिवाकर गोल्छाः यही वर्ष देशले आर्थिक क्षेत्रका एक सफल ब्यक्तित्वलाई गुमाएको छ । हुलास स्टीलका संस्थापक संचालक तथा गोल्छा अर्गनाईजेशनका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष, प्रथम संविधानसभाका पूर्व सभासद् तथा चर्चित उद्योगपति दिवाकर गोल्छाको ६६ वर्षको उमेरमा भारतको चेन्नईस्थित अस्पतालमा उपचारको क्रममा २०७५, चैत्र २७ गते बुधबारका दिन निधन भयो । देशले एउटा आक्रामक व्यवसायिक नीतिको विज्ञ गुमाएको छ ।

साथै २०७५ मा भएका विविध घटनाक्रमहरुः
बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र एसपी बलराम पोख्रेलको सवारी दुर्घटनामा मृत्यू भएको थियो जस्मा एसपी पोख्रेलको दुर्घटनास्थलमै र सिडियो भट्टराईको उपचारको क्रममा निधन भएको थियो । बिभिन्न शंका र उपशंकाको घेरामा रहेको उक्त दुर्घटनाका तथ्य अनि रहस्यहरु यस वर्षले भने गोप्य नै राखिदियो ।

यसै वर्ष पुरै देशलाई अचम्म पार्दै सरकारले बेग्लै मधेश देशको माग गरेर विखण्डनकारी गतिविधि गरेका सिके राउतलाई ११ बुँदे सहमति गराउँदै अकस्मात मूलधारको राजनीतिमा अवतरण गराउन सरकार सफल भयो ।

वर्षको अन्तिम् महिना चैत्रमा बारा, पर्सा, रौतहट जिल्लामा आएको विनासकारी हावाहुरीले देशैभरि निकै ठूलो मर्म दिएको छ । उक्त हावाहुरी टोर्नेडो भएको समेत पुष्टि भईसकेको छ । वर्षाको मुखैमा भएको अप्रत्यासित यो घटनाको उचित व्यवस्थापनसहितको गाँस, बाँस तथा कपासको आशामा स्थानीय खुल्ला आकाशमैं अझै कुरेर बसेका छन् । वि.सं. २०७२ को महाविनासकारी भूकम्पले दिएको घाउमा त अझै प्रभावकारी मल्हम तथा व्यवस्थापन गर्न नसकेको राज्यले तराईको यो दुःखत घटनाको व्यवस्थापन कसरी गर्नेछ, यो प्रश्न २०७६ ले अवश्य गर्नेछ ।

अझै  चैत्र महिनाबाट देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा धावन मार्ग मरम्मतको काम भएकाले जहाजहरु रातीको १० देखि बिहानको ८ सम्म उडान अवतरण हुन नपाँउदा निकै कष्ट र हलचल भयो । राती ९ः३० बजे दुबईका लागि उडान हुनुपर्ने राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाईन्सबाट उडानका लागि सवार २०० बढी यात्रुलाई उडान भर्न नदिई विमानभित्रै रातभर थुनिएको खबर नेपाली उड्डययन इतिहासकै अचम्मको घटनामा दर्ता हुनपुग्यो । यद्धपी भोलीपल्ट विमानमा सवार सबैलाई वहाँहरुको गन्तब्यमा पुर्याइएको थियो । यही वर्ष हिमाल आरोहणका लागि लुक्ला जाने उडानहरुको उडानस्थल परिवर्तन गर्दै सबै उडानहरु रामेछापको विमानस्थलबाट प्रारम्भ भईसकेको छ ।

वर्ष २०७५ मा सागिंतिक रियालिटी शो हरुमा नेपाल आइडल र द भ्वाइस अफ नेपालले नेपाली दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । प्रथम द भ्वाइस अफ नेपाल सिडि बिजय अधिकारी र दोश्रो नेपाल आइडल स्वरुप रवी ओडलाई यस वर्षले स्वागत गर्यो । रवी ओडकी आमाको करेन्ट लागेर मृत्यू भएको प्रसंगले उनका प्रशन्सकहरुलाई निकै दुःखी बनाईदियो ।

यस वर्ष चर्चित गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा वोलको गीतमाथी अघोषित प्रतिबन्धले यूट्यूबबाट हटाउनुपर्दा निकै आलोचना र कटाक्षहरु भए । यो घटनालाई सूचनाको हकमा नै हमला भएको भन्ने तर्क र बिरोधका स्वरहरु उठेका थिए ।

बिप्लव नेतृत्वको माओवादीबाट काठमाण्डौ नख्खुमा एनसेल कार्यालयको मूलद्वार अगाडीको बिष्फोटमा एकजनाको मृत्यू भयो भने केहि हताहतमा परेपछि एक्सनमा ओर्लिएको सरकारले बिप्लव समूहलाई प्रतिबन्ध लगायो र केन्द्रियस्तरका विप्लबका नेता सहित सयौं कार्यकर्ताहरुलाई धमाधम समात्न थालियो ।

काठमाण्डौको माइतिघर मण्डलाले कहिले डाक्टर गोबिन्द केसी त कहिले निर्मला हत्याकाण्डको समर्थनमा निकै जमात र बिरोधका स्वरसहितका कार्यक्रमहरुले निरन्तरता पाईनैरह्यो ।

यो वर्ष सुशासन तथा कानूनी राज्यको उदाहरणमा ठूलो प्रश्नचिन्ह सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तको भ्रष्टाचारमा खुल्लेआम संलग्नताको घटना सार्वजनिक भयो । स्टिङ अप्रेसनमार्फत् सार्वजनिक भएको भिडियोले भ्रष्टाचार विरुद्ध आक्रामक अख्तयराको कार्यपद्धती तथा र राष्ट्रकै शासनपद्धतिप्रति जनताको विश्वासमा ठूलो कुठाराघात भयो ।

यस वर्ष पुरुषोत्तम मास थियो । यही विशेष मासका कारण काठमाण्डौस्थित मत्यस्य नारायणमा निकै घुँईचो सहित मेला लागेको थियो भने मिथिलाको अन्तरगृह परिक्रमा र मिथिला परिक्रमाको रौनक पनि बेग्लै थियो । यसै वर्ष जनकपुरमा भारतीय प्रवुद्ध नेतृत्वहरुको उपस्थितीमा रामायण अनि नेपाल भारत मैत्री सम्बन्धका अनेक पक्षहरुमा वकालत गरिए भने जानकी मन्दिरमा आयोजित मोदी उपस्थित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डाको स्वरुप बिगारेर राखिएको विषय पनि चर्चामा रह्यो । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण र योगी आदित्यनाथको भ्रमणले जनकपुरमा निकै रौनक पैदा गरेको थियो र यसै वर्षबाट जनकपुर अयोध्या बससेवा पनि संचालन गरिएको हो ।

विश्वकप फुटवलको उपाधिमा फ्रान्सले दोश्रो पटक कब्जा गर्दै वर्ष २०७५ लाई एउटा इतिहासका साथ पोल्टो भरिदियो । क्रिकेटमा सन्दीप लामिछानेको जादूले विश्वलाई नेपाली छवीको नयाँ आयाम बनाउन सफल भयो भने । वर्ष २०७४ सालमा पाएको ODI मान्यताको शान कायम राखेको छ । प्रवासी नेपालीहरुको पीडा अनि हाँसोका साथ यस वर्ष पनि नेपाली शासन संयन्त्रले प्रवासी नेपाली र बिधार्थीको मुद्दा र वेदनालाई सम्वोधन गर्ने निती अनि ठोस कदम ल्याउन सकेन । फलस्वरुप नर्सिङ विषय पढ्न अष्ट्रेलिया गएका विद्यार्थीहरु त्यहाँ आईपरेको नीतिगत अप्ठेरोमा नमज्जाले फस्नपुगे ।

यूट्यूब लगायत अन्य श्रोतहरुमा अशोक दर्जी अनि नेपाल आइडल र द भ्वाइसका कलाकारहरुको खोजि र रौनक कायम रह्यो । प्रसाद चलचित्रको ‘लै लै’ बोलको गीतको चर्चा निकै रहेको यस वर्ष भने लोक स्वाद मिश्रित गीति कोशेली नेपाली चलचित्रमा वर्ष २०७५ मा उति आएनन र आएका पनि उति जनजिब्रोमा छाउन सकेन ।

वाइड बडी प्रकरणको निकै वकालत र चर्चा भएको यस वर्षमा अन्ततिर ललिता प्रकरणमा वालुवाटारको प्रधानमन्त्री निवास लगायत अन्य केहि सरकारी ओहदाका व्यक्तित्वको निवासका जग्गाहरु निजी नाममा गरिएको काण्डले निकै चर्चा पायो जसमा राजनीतिका सिद्धहस्त खेलाडीहरु तथा महत्वपूर्ण राजनीतिक पार्टी निकटका व्यक्तिहरु नै संलग्नताको समाचारले । आशा गरौं आँउदो वर्षले अवस्य पनि यो कुराको तथ्य उजागर गर्नेछ ।

नायिका करिश्मा मानन्धरको एसईई परीक्षाको नतिजा देखि रानीपोखरीको पूर्ननिर्माणको नतिजासम्म आउने वर्षले देखाउने छ । धरहरा पूर्ननिर्माणको कार्यको थालनीले अपेक्षाकृत गति लिन यस वर्षमा सकेको पाइएन भने भुकम्पले लडाएका मन्दिर, दरबार र देवालयहरु यस वर्षले पनि उठाउन सकेन । बृद्धभत्ता र बेरोजगारी भत्ताका चर्चा वर्ष भरि भइरहे तथापी यसको गतिशिलता र प्रभावकारिता यस वर्ष उल्लेख्य प्रगति केहि भएन । अनि वर्षमा घरिघरि बर्ड फ्लुको संक्रमणका खबरहरु आइरहे ।

प्रचण्ड पत्नीको अमेरिका उपचार देखि राष्ट्रपतिको सवारी सुरक्षामा सर्वसाधरणलाई परेको मारले यस वर्ष भिआईपी सवारी प्रति सर्वसाधरणलाई वितृष्णा पैदा गरिदिएको छ । हाईप्रोफाईल सवारीका कारण सर्वसाधरणले दुःख पाएको घटनाको जवाफ स्वरुप जनताले अटेर गरेर नियम उल्लंघन गरेर विरोध व्यक्त गरे ।

उता बिम्स्टेक सम्मेलन र एसिया प्यासेफिक समीटले देश निकै तताएको यस वर्ष होलीवाइन काण्ड अनि प्रचण्डको भेनेजुयला मोहको विज्ञप्तीले निकै चर्चा पायो । जिम्मेवार मन्त्रालय तथा विदेशमा स्थित नेपाली राजदूतावासद्वारा जारी केही औपचारीक बिज्ञप्तीमा भएको हाँस्यास्पद अनि गैरजिम्मेवारीपूर्ण लेखन गल्तीले पनि यस वर्ष निकै चर्चा पायो ।

पर्यटन वर्ष सन् २०२० को तामझामलाई स्वागत गर्दै यस वर्ष पर्यटन वोर्डले गरेका नयाँ र उत्साहजनक कार्यक्रमहरुले निकै प्रभावकारिता ल्याएको देखिन्छ । लुम्बिनीलाई लन्ली प्लानेट नामक साइटले एसियाको उत्कृष्ट १० गन्तव्यमा राखिदियो भने लन्ली प्लानेटले विश्वका टप ५ शहरमा सूचिकृत गरिदिएको छ । यसै वर्ष पर्यटन वोर्डले “ज्युँदो रामायण” श्रृंखलाका जानकारीमुलक भिडियोहरु उत्पादन गरेको छ जुन आगामी महिना रिलिज हुने भएको छ, रामायणका अन्तरकुन्तर अनि मिथिलाका इतिहास र अवयव लिएर बनेका यि भिडियोहरु विश्व समुदायलाई नेपाल चिनाउन अपेक्षाकृत सफल हुनेछ भन्ने हाम्रो शुभकामना ।

वर्ष २०७५ ले धेरै उत्तरहरु भन्दा धेरै प्रश्नहरु अनि प्रतिप्रश्नहरु जन्माएर गएको छ । आशा र निराशा बिचको यस वर्ष नेपालमा फेरि लोडशेडिगं सलबलाउन थालेको भान हसुन थालेको छ ।

आउँदो वर्षको सबैलाई शुभकामना! यस वर्ष २०७५ ले संघर्षका साथ धेरै नयाँ बाटोहरु खोलेर गएको छ अनि साथमा आशाहरु पनि । जय होस् !


Loading comments...