पञ्चदेवल विनायक न.पा.मा नगर बस चलाउन नसकिने नै हो र ?


देश केन्द्रिकृत शासन प्रणालीबाट हाल विकेन्द्रित शासन प्रणालीमा रुपान्तरित भएको छ । अर्थात, काठमाण्डौमा भएको सिंहदरबार अहिले गाँउ गाँउमा पसेको छ भन्दा फरक नपर्ला । राणा शासनको अन्त्य पछि नेपालको राजनितिमा धेरै उथलपथल आएको छ । मैले मेरै उमेरमा राजतन्त्र देखि लोकतान्त्रिक गणतन्त्र सहितको शासन देखेकि छु तथा प्रत्यक्ष अनुभव गरेकी छु । अझै अब त देशले फट्को मारेर संघीयतामा गइसकेको छ । केन्द्र कै मुख ताक्नु पर्ने, जिल्लाको निर्णयमै निर्भर रहेर स्थानीय काम कार्वाही गर्नु पर्ने अवस्था छैन । जसले गर्दा नागरिकहरुले स्थानीय स्तरमै सहज, सस्तो सरकारी सेवा प्राप्त गरिरहेका छन् ।

स्थानीय सरकारका नामले परिचित विभिन्न गाँउपालिका तथा नगरपालिकाका जन प्रतिनिधिहरुले आफ्नो गाँउपालिका तथा नगरपालिकाका जनताहरुको आवश्यकता, जरुरत र समस्यालाई मध्यनजर गर्दै आफ्नो सेवा सुविधामा कटौती गरेर एम्बुलेन्स, नगर–बस, फोहर उठाउने गाडी लगायतका साधनहरु खरिद गरी आफ्नो पालिकाका जनताको सेवा गरिरहेका उदाहरण प्रशस्त रहेका छन् ।
म केहि दिन अगाडी काम विशेषले गृह जिल्ला अछामको पञ्चदेवल विनायक नगरपालिकामा जानु पर्ने थियो । लामो समय पछाडी घर जान पाउदा मन फुरुंग भएको थियो । काठमाण्डौंबाट जुम्ला जाने गाडीमा साइखोला (दैलेख र अछामको सिमाना छुट्याउने नदि, त्यँहाबाट पञ्चदेवल विनायक नगरपालिका ७–८ कि.मि.को दुरीमा छ ) सम्मको टिकट काटेर बसमा चढे । मन धेरै हर्षित थियो, कति बेला घर पुगेर परिवार तथा छर –छिमेकमा भलाकुसारी गरौला भनेर म मन मनै धेरै नै चञ्चल भइरहेकी थिए । करिब २७ घण्टाको निरन्तर यात्रा प्रश्चात म साइखोलामा गाडी बाट झरे ।

गाडीबाट झरेर म नजिकैको चिया पसलमा विनायक बजार जाने गाडी कति बेला आउछ भनेर प्रश्न गर्दा पसलका साहुजीले सुर्खेतको गाडी गइसक्यो नानी, अब त अटो (सफारी) मा जानु पर्छ भनेर सल्लाह दिनु भयो । जब साहुजीले मलाई त्यँहाको प्रचलनमै भएको (चलनचल्तीको) सफारी भाँडा बताउदा म झाँगाबाट खसेको महसुस गरेकी थिए ।

म दुई दिनको बाटो बसमा यात्रा गरेर रु १७०० को दरको टिकर गरेर त्यँहा पुगेकी मान्छेले साइखोलाबाट विनायक बजार सम्म पुग्नको लागि रु १५०० तिरेर सफारीमा जानु भन्दा अन्य विकल्प थिएन । अन्य यात्रु हुँदा चाहि सो रु १५०० मा भाग लगाएर आफ्नो भाग तिर्नु पर्दथ्यो । मैले पनि दोस्रो विकल्प नै रोजे, अर्थात, अन्य यात्रुलाई खोजेर आफ्नो भागको भाँडा तिरेर विनायक बजार सम्म पुगे ।

काठमाण्डौंबाट साइखोला पुगेको भन्दा साइखोलाबाट विनायक बजार पुगेको यात्रा मेरो लागि निकै कष्टकर रहेको अनुभव रह्यो । त्यँहा शाारिरीक कष्ट भन्दा मानसिक कष्ट थियो । मैले छोटो दुरीमा बढी रकम तिर्नु प¥यो भनेर मलाई कुनै गुनासो थिएन । तर जुन किसिमको त्यँहा यातायातको प्रणाली र बाध्यता देखियो त्यो दृश्यले मलाई अलि धेरै नै मानसिक कष्ट दिएको अनुभव गरे । म बल, तागत भएको युवाको त एकदिन यात्रा गर्न यस्तो हालत भयो भने त्यस क्षेत्रमा दैनिक रुपमा ओहोर दोहोर गर्नु पर्ने, भारी बोकेर हिड्नु पर्ने, बालबालिका, बृद्ध तथा अन्य स्थानीय बासिन्दाहरुको दैनिकी कति पिडादायी होला ?

मध्यपहाडी लोक मार्ग भएकाले पनि कालोपत्रे पक्की बाटो हुँदाहुदै पनि कि त चर्को मूल्यको सफारीमा नै यात्रा गर्नु पर्नेे, नत्र आफ्नै दुई खुट्टाले गन्तब्य तिर जानु पर्ने बाध्यता आफ्नै आँखाले देखे पछि सम्बन्धित निकाय तथा सम्बन्धित जनप्रतिनिधिहरुको ध्यान पु¥याउनका लागि पनि अति जरुरी देखेर नै यस विषयमा कलम चलाउनु परेको हो । सडक बाटो हुँदा हुँदै पनि एकातिर सार्वजनिक यातायातको साधनहरु नचल्ने अर्कातिर त्यस क्षेत्रमा उपलब्ध हुने यातायातको साधन सफारीमा भाँडा तिर्न नसक्ने भएको हुनाले पनि यस क्षेत्रका किसानहरुले आफ्नो उत्पादनलाई बजार सम्म पु¥याउनै पाउदैनन् । सम्बन्धित नगरपालिकाले कम्तिमा पनि १–२ ओटा सम्म नगर बस सञ्चालन गरिदिएमा यस क्षेत्रको मुहार फेरिने थियो । यँहाका बासिन्दाहरुको दैनिकी पनि सरल, सहज र उपलब्धीमूलक हुनुका साथै, कृषि उत्पादनले पनि बजार पाउने थियो ।
सञ्जु पौडेल
पञ्चदेवल विनायक नगरपालिका, अछाम
हाल काठमाण्डौं


Loading comments...