प्रविधिसंग लडिरहेको पुस्ताको वेदनाः मोबाइल र इन्टरनेटको भूत


छिमेकी दिदीले छोरालाई अरु केहि कुरामा गाली गरेको सुनेको छैन शिवाय एउटा कुरा । हरेक पटक मोबाइल र ल्यापटपमा झुण्डियो भनेंर दिदि कराँउछिन् तर छोरोको जीवनरेखा नै त्यसैमा छ । भर्खरै एसईई दिएको छोरोले क्यालेण्डरमा रातोरातो मसिले दिनहरु केरेको छ, अबको १४ दिन बाँकी छ दादा मलाई मोबाइल किनिदिने डेडलाइनको भन्दै उ आशावादी देखिन्छ । उता दिदि मेरो मोबाइल चलाँउदा चलाँउदै बिगारिसक्यो भनेंर चिच्याइरहेकी छिन्, यो बडो अचम्मको घरघरको कहानी भएको छ ।

के मोबाइल र इन्टरनेटले सबैलाई बिगारेकै छ त? स्मरण रहोस् बिदेशमा हरेका दिदिका श्रीमान र आफन्तजन लगायत देशभित्रै भएका साथीभाई र आफन्तसंग पनि दिदिले आजभोली फोनमा पैसो हाल्नुको साटो मेसेन्जरबाटै कल गर्न थालेकी छिन् । मोबाइलमा अटाएको संसारमा छोराको गेमको संसार छ अनि दिदिको आफ्नै तर के मोबाइलको प्रयोग गलत हो त ?

सूचना र प्रविधिको यूगमा बालबच्चाहरुलाई आउटडोर क्रियाकलापमा पठाउन र सामाजिक बनाउन गाह्रो त पक्कै छ तर प्रविधिबाट पर राख्नु र बन्देज लगाउनु के सामाजिक बनाउनु हो ? के मोबाइल नचलाउने र गेम नखेल्ने सबैजना बालबच्चाहरु प्रगतिशिल हुन त ?

यस्तै केहि बिषयमा पटक पटक बिवाद हुन्छ मेरो आँफैंसग अनि अरुसंग पनि । कति सिमा हो भर्चुअल बिश्वको, कति भौतिक बिश्वको ? भेटेर हालचाल सोध्नु र मेसेन्जरमा कुरा गरेर जानकारी लिनुको फरक सोच्छु । बिवाहको कार्ड प्रिन्ट गरेर घरघरमा पूर्याँउदा गज्जबको निम्तो हुने हो या कार्डको ईमेज ईमेल या अन्य माध्यमले पठाउनु निम्तो पनि गज्जब हो ?

कुरा जे सुकै होस यो प्रविधि र परिवर्तनको कुराहरुमा यदि कोही मज्जाले पिल्सिएका छन् भनें ति अहिलेका पुस्ता हुन् । उनीहरुका लागि प्रविधिको प्रयोगको परिभाषा हामीले पूर्नपरिभाषित गर्न सकेका छैनौं ।

मोबाइलवाट ईलुमिन्याटीजहरुका बारेमा थाहा पाएको भाईले मलाई क्यापीटलीस्ट र कन्सपीरेसी थियोरिहरु सतत बताँउदा मैले मोबाइल गेममात्र हैन भन्ने चाल पाँए । सुचनाको खोज र अध्ययनका लागि पनि हामीले प्रविधिको प्रयोगकर्ताहरुलाई उत्प्रेरित गर्न नसकेको भनें हो ।

दैनिक ५ घण्टा बढि मोबाइल र ग्याजेटमा बिताउने प्लस २ का बिधार्थीलाई पढ्नका लागि भनें किताब, कापी र कलममै पुराना संरचना भएको टेबलमा थेच्चारीन लाउने शिक्षण पद्धति र अभिभावकहरु पनि मेरो नजरमा फेल नै मानिन्छन् ।

केहि समय यूरोपमा रहँदा मैले नेपाली बिधाथीर्हरसंग साक्ष्ाँत्कार गर्न पाँए, मुख्य कुरा नेपालबाट आएपछि पर्ने समस्या भनें यहाँको सिस्टममा अडाप्ट हुन अफ्ठेरो भनेंर बिधार्थीहरुले वर्णन गरे । ट्रेनको रुट देखि खाना खाने ठाँउको उपलब्धतासम्म अनलाइन हेर्ने सिस्टममा अध्ययन पनि अनलाइन खोज र असाइनमेन्ट सबमीट गर्ने सिस्टममा हुन्छ जुन हामीले नेपालमा सिकेकै छैनौं अनि त्यसै कारणले पनि सिस्टम बुझ्न हामीलाई सकस्या पर्दछ । अनलाइन साक्षर नभएका कारणले नै मात्र पनि प्रथम सेमिस्टर या टर्ममा नेपालमा राम्रो पढेका बिधार्थी पनि त्यहाँ पछि पर्ने बताइन्छ । हुन त नेपालमा नामका पछाडि इन्टरनेशनल नाम भएका कलेजहरुलाई बिशिष्ट रकम तिरेर पढेको भएपनि कलेजले कोर्स शिवाय कपाल नकाट्न, डि आईको पिटाई र गाली खान र आफ्नो सेल्फ रिस्पेक्ट गुमाउन शिवाय कलेजले अरु केहि सिकाएको छैन जस्तो भान हुन्छ ।
प्लस २ पढेका बिधार्थीले पछि गएर बिभिन्न इन्ट्रान्स पेपर, सिपमुलक कोर्सहरु जस्तै आइएल्टस, टफल गर्दासम्म तयारीहरु अनलाइन र जाँच समेत अनलाइन गर्नुपर्ने देखिन्छ तर कलेजमा यो संयन्त्रलाई पाप र अपराध मानेर पढाइन्छ, उत्तर कस्ले दिने हो ?

मोबाइल लिएर या चलाएर जाँदा गाली खाएका र अभिभावकसम्म बोलाएर गाली खाएका बिधार्थीहरुको जमातले प्रविधीको साक्षात्कार र सिकाईमा प्रविधिको प्रयोग कहिले बुझ्ने हुन् ? कठिन छ ।

पूर्वि यूरोपका केहि देशहरुको प्रतिव्यक्ति आय र कूल ग्राहस्थ उत्पादननै प्रविधि र प्राविधिक जनशक्तिको देनले धानिएको छ । हामीले चलाउने बिभिन्न एप्लीकेशन र प्लेटफार्महरु जुन विश्वमै सर्वाधिक चलाइन्छ ति कुराहरुको कोड पूर्वि यूरोपका ससाना चिसा र हिँउले ढाकिरहने देशका मान्छेले गरेका हुन्छन् । प्रविधिमा समृद्धि लुकेको छ तर हाम्रो देशको शिक्षणमा प्रविधिलाई पाप मानिन्छ ।

अनलाइनमा पनि शैक्षिक पाठ्यक्रम, मक परीक्षाहरु राखिदिएर, भिडियो अडियोका माध्यबाट सिकाएर हामी बिद्यार्थीहरुलाई सिकाई थप सहज बनाउन किन सकिरहेका छैनौं ?

नेपालका हरेक कलेज र स्कुलमा ईन्टरनेशनल नाम त राखिन्छ तर शिक्षण त अझै रामायणकालको पाठशालाको आधारमा छ नि ।

यो रामायणकालिन शिक्षण पद्धतिलाई केहि खुकुलो पार्न सकिने वर्षका रुपमा यस वर्षलाई अगाडि सार्न सम्पूर्ण बिधार्थीका तर्फबाट मेरो अनुरोध छ । बिश्वले अनलाईन सिकाई र पढाईलाई आत्मसाथ गरिसकेको छ, हामी नेपाल धेरै पछि छौं यसतर्फ ध्यान दिऔं ।

ग्लोवल्ली प्रतिस्पर्धा गर्न सक्ने शिक्षण त्यस संस्थाको मात्र हुन्छ जस्को अनलाइनमा पनि शिक्षण पद्धति र सामाग्रीहरु हुन्छन् ।

माथि उल्लेख गरेको दिदिको छोरोले पनि अनलाइनमा गेम मात्र नभई पढ्न पनि पाइन्छ भन्ने थाहा पायो भनें भिडियो हेर्दै, अडियो सुन्दै अनि मोबाइल स्क्रीनबाट पढ्दै कति कुरा सहजै सिक्नेथियो होला, तर हामीले उसलाई त्यो पढ्ने अनलाइन चौतारी दिएका छौं त ?  मननयोग्य कुरा भयो ।

—-
सुयोग ढकाल


Loading comments...