के सामाजिक सञ्जाल हाम्रा लागि हानिकारक छन् ?


संसारभरका तीन अर्ब मानिस अथवा विश्वको पूरा जनसंख्याको झण्डै ४० प्रतिशत मानिसहरु सामाजिक सञ्जाल प्रयोग गर्दछन् । केही प्रतिवेदनहरुका अनुसार हरेक मानिसले औसतमा दुई घण्टा यस्ता सामाजिक सञ्जालहरुमा सेयर, लाइक, ट्वीट वा अपलोड गरेर समय बिताइरहेका हुन्छन् । हरेक मिनेटमा दशौँ लाख ट्वीट र स्न्यापच्याटमा फोटो अपलोड हुने पनि ती प्रतिवेदनहरु बताउँछन् । सामाजिक सञ्जालले हाम्रो जीवनमा ओगट्दै गइरहेको हिस्साले हाम्रो मानसिक स्वास्थ्य, रहनसहन तथा समयमा केही असर गरिरहेको छ त ?
सामाजिक सञ्जालले हाम्रो जीवनमा पाइला टेकेको धेरै समय भइसकेको छैन । यसकारण पनि यसको प्रभावका परिणामहरुलाई निर्णायक मानिहाल्दा चाँडो हुन्छ । सामाजिक सञ्जालको प्रभाव अध्ययन अनुसन्धानका लागि नयाँ विषय बनिसकेकोमा भने दुई मत छैन । यस्ता सामाजिक सञ्जालको अध्ययन हुँदा प्राय फेसबुकलाई नै हेरिने गरेको पनि पाइन्छ । बिबिसीले एकीकृत गरेको अध्ययनहरुको आधारमा निम्न परिणामहरु फेला परेका छन् ।

तनाव

राजनीतिदेखि उपभोक्ता सेवाका समस्याहरु सामाजिक सञ्जालमा ओकलिने गरिन्छन्, तर समस्या कहाँनेर छ भने हामीले लेख्ने गरेका यी पोष्टहरुले हाम्रा चिन्ता र तनाव बढी प्रकट गर्दछन् । सन् २०१५ मा वासिङटनस्थित पिउ रिसर्च सेन्टरले सामाजिक सञ्जालले तनाव बढाउन सहयोग गर्छ वा घटाउन भनेर अध्ययन गरेको थियो । १८ सय मानिसमा गरेको सर्भेले पुरुषको तुलनामा महिलाहरु बढी चिन्तित र तनावमा रहने पाइएको थियो । ट्वीटरले अरुको तनावबारे पनि जानकारी दिने हुनाले यसले मानिसहरुको तनाव बढाइरहेको तर साथसाथै महिलाहरुका लागि तनाव कम गर्न पनि यसले भूमिका खेलेको पाइएको थियो । पुरुषहरुमा यही कुरा नपाइएको भएपनि सामाजिक सञ्जालहरुले केही हदसम्म तनाव कम गर्ने भन्ने निष्कर्ष यस अध्ययनको थियो ।

मुड

सन् २०१४ मा शोधकर्ताहरुले अष्ट्रियामा गरेको अध्ययनले, २० मिनेट फेसबुक चलाएपछि उनीहरुको मुड नराम्रो हुने फेला पारेको थियो । सहभागीहरुका अनुसार समय खेर मात्र गएको अनुभूतिले मुड बिग्रिने उनीहरुको भनाइ थियो । सामाजिक सञ्जालहरुमा राम्रो वा नराम्रो मुड फैलिने गरेको पनि युनिभर्सिटि अफ क्यालिफोर्नियाले जनाएको छ । सन् २००९ देखि २०१२ सम्मको १० करोड फेसबुक प्रयोगकर्ताहरुको स्ट्याटसको आधारमा यो कुरा पत्ता लगाएको हो । यस अनुसन्धानका अनुसार कुनै शहरमा खराब मौसमबारे लेखिएको एउटा पोष्टले राम्रो मौसम भएको अर्को शहरका मानिसहरुका १.३ वटा पोष्टहरुमा नकारात्मक प्रभाव पर्ने पाइएको थियो । यसमा खुशीको कुरा के छ भने, सुखद समाचारले १.७५ वटा पोष्टहरुमा सकारात्मक प्रभाव पर्ने पाइएको थियो । तर, यही पोष्टहरुले उनीहरुको मुड पनि सपार्छ वा सपार्दैन भन्ने चाहिँ स्पष्ट छैन ।

चिन्ता
अनुसन्धानकर्ताहरुले सामाजिक सञ्जालले निम्त्याउने चिन्ता र यसका कारणले हुने बेचैन तथा भयबारे पनि अध्ययन गरेका छन् । कम्प्युटर एण्ड ह्युमन बिहेभियरमा प्रकाशित एक लेखमा बताएअनुसार सात वा सातभन्दा बढी सामाजिक सञ्जालहरु प्रयोग गर्ने मानिसहरु ० देखि २ वटा मात्र सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसभन्दा बढी चिन्तित रहने देखिएको छ । सन् २०१६ मा रोमानियाको बेब्स्–बोल्याइ विश्वविद्यालयले सामाजिक सञ्जाल तथा सामाजिक चिन्ताबीचको सम्बन्ध अध्ययन गर्ने प्रयास गरेको भएपनि, यसबाट एकै खालको परिणाम आउन नसकेपछि यसमा थप अनुसन्धान गर्नुपर्ने बताएको थियो ।

मानसिक चिन्ता वा डिप्रेसन
केही अध्ययनले मानसिक चिन्ता र सामाजिक सञ्जाल प्रयोगबीच सम्बन्ध भएको पत्ता लगाएपछि, सामाजिक सञ्जाललाई राम्रो कामको लागि कसरी प्रयोग गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ । ७०० जना विद्यार्थीमाथि गरिएको दुई वटा अनुसन्धानले अनलाइन अन्तत्र्रिmयापछि विद्यार्थीहरुमा खराब मुड, निराशा र व्यर्थपन बढेको पाइएको थियो । नकारात्मक अन्तत्र्रिmयाबाट डिप्रेसनको लक्षण अझ बढी रहेको पनि पाइएको थियो । सन् २०१६ मा १७ सय मानिसमा गरिएको अनुसन्धानबाट धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसहरु अरु मानिसभन्दा मानसिक चिन्ताको शिकार बन्ने सम्भावना तीन गुणाले बढ्ने पनि पाइएको थियो । साइबर बुलिङ, अरुको जीवनको प्रगति र आफु केही नभएको अनुभव तथा सामाजिक सञ्जाल चलाएपछिको विरक्तताका कारणले मानसिक तनाव भएको उनीहरुको भनाइ थियो ।

निन्द्रा
युनिभर्सिटि अफ पिट्सबर्घले १८ देखि ३० वर्षीय १७ सय मानिसहरुमा गरेको सामाजिक सञ्जाल र उनीहरुको सुत्ने बानीको अध्ययनले उनीहरुको निद्रामा समस्या रहेको देखाएको थियो । सामाजिक सञ्जालमा बेलाबेलामा लग इन गरेर हेर्न पर्ने बानीले उनीहरुको निद्रामा समस्या रहेको देखिएको थियो । मोबाइल तथा ल्यापटपका स्क्रिनबाट आउने प्रकाशले हाम्रो निद्रालाई अबेर बनाइदिने भनेर भनिएको भएपनि, सामाजिक सञ्जालले निद्रा ढिलो गराएको वा निद्रा नलाग्नेहरुले सामाजिक सञ्जालमा बढी समय व्यतीत गरेको भन्नेबारे प्रष्ट खुलेको छैन ।

लत
केही अनुसन्धानहरुले धुम्रपान र मद्यपानभन्दा पनि ट्वीटरको लत थाम्न अझै  गाह्रो हुनसक्ने भन्दाभन्दै पनि मानसिक स्वास्थ्य गडबड निदानबारे निस्किएको पछिल्लो म्यानुअलमा सामाजिक सञ्जालको लतबारे भने केही समावेश गरिएन । सामाजिक सञ्जालको प्रयोग अत्यधिक मात्रामा बढ्दै गएपछि वैज्ञानिकहरुले समेत मानिसहरुको व्यवहारमा आउने परिवर्तनमा विशेष चाख दिएर अध्ययन गरिरहेका छन् । नेदरल्याण्ड्सका वैज्ञानिकहरुले त झन् सामाजिक सञ्जालको लत पत्ता लगाउने मापन उपकरणको नै आविष्कार गरेका छन् । सन् २०११ मा बेलायतको नटिङह्याम ट्रेन्ट विश्वविद्यालयका डारिया कस र मार्क ग्रिफिथ्स्ले सामाजिक सञ्जालको लत मानसिक समस्या भएको र यसका लागि व्यवसायिक उपचारकै खाँचो पर्ने निष्कर्ष निकालेका थिए । वास्तविक जीवनमा कम अन्तत्र्रिmया गर्ने, सम्बन्धहरुमा समस्या रहेका तथा पढाइमा प्रगति गर्न नसकेका धेरै मानिसहरुले सामाजिक सञ्जालमा धेरै समय बिताउने पाइएको थियो ।

सम्बन्ध
कुरा गर्दागर्दै साथीले कहिलेकाहीँ इन्स्टाग्राममा फोटो हेर्नेतर्फ लाग्दा सोच्नुभएको होला सामाजिक सञ्जालले हाम्रो सम्बन्धलाई के गरिरहेको छ भनेर । महत्वपूर्ण कुरा तथा छलफल भइरहँदा पनि फोनले हामीलाई डिस्टर्ब गरि नै रहेको हुन्छ ।जर्नल अफ सोसल एण्ड पर्सोनल रिलेसनसिपमा लेखेका अनुसन्धान कर्ताहरुले ३४ नचिनेका जोडीहरुलाई जीवनमा भर्खरै घटेको रमाइलो घटनाबारे १० मिनेटको कुराकानीमा डाँक्दा आधा मानिसहरुले फोन टेबलमा आफु नजिकै राखेका थिए । आफ्नै आँखा अगाडि फोन राखेकाहरुले १० मिनेटको वार्तालाप राम्ररी सम्झिन नसकेको, कुराकानी खासै अर्थपूर्ण नलागेको र कुरा गरेको साथीसँग पनि खासै नजिकिन नसकेको बताएका थिए ।

यसले प्रेम सम्बन्ध पनि खासै मजबुत बनाउन नसकेको पाइएको छ । क्यानाडाको युनिभर्सिटि अफ ग्वेलफले १७ देखि २४ वर्षका ३०० मानिसमाथि गरेको अनुसन्धानबाट महिलाहरुले पुरुषहरुभन्दा बढी फेसबुक प्रयोग गर्ने र आफ्नो प्रेमीले अरु केटीलाई साथी बनाउँदा केही इष्र्या लाग्ने गरेको बताएका थिए । उक्त अनुसन्धानले फेसबुकले इष्र्याको वातावरण सिर्जना गरिदिने र सम्बन्धमा ठेस पु¥याउन केही भूमिका खेल्ने गरेको भनी निष्कर्ष निकालेका थियो ।

निष्कर्ष
सामाजिक सञ्जालको प्रयोगले कस्ता असरहरु ल्याउँछन् भनेर यकिनका साथ भन्न सकिहाल्ने अवस्था छैन । यकिन भएको एउटै मात्र कुरा के हो भनेः मानिसको आचरण र अवस्थाअनुसार फरक मानिसलाई सामाजिक सञ्जालले फरक तरिकाले प्रभाव पारिरहेको छ । आधुनिक युगमा खानेकुरा, रक्सी, जुवा तथा अन्यको मोहसँगै सामाजिक सञ्जालको मोह पनि चुलिँदो छ । सामाजिक सञ्जाल खराब नै हो भन्नु गलत हुन्छ किनकी यसका अनेक लाभदायी पक्षहरु पनि छन् । यसको सही सदुपयोग गरी यसबाट भरपूर फाइदा लिनसक्नु फेरी हाम्रै हातमा छ ।
जेसिका ब्राउनले बिबिसीका लागि लेखेको लेखबाट सारांशित अनुवाद ।


Loading comments...