गीताको श्लोक १ः१


धृतराष्ट्रले सञ्जयलाई प्रश्न गर्दछन्, मेरा पुत्र र पाण्डुको पुत्र दुबै खलकहरु कुरुक्षेत्रको पावन भूमिमा युद्ध हेतु भेला भएका छन्, त्यहाँ अब के के हुदैंछ मलाई बताउ ?

यति भन्दै गर्दा धृतराष्ट्रमा भएको उत्कट चाह प्रष्ट देखिन्छ, त्यो चाह जस्ले उनलाई कमजोर बनाइरहेको छ अनि धेरै प्रश्नहरु जन्माइरहेको छ । शायद त्यो लालसा जस्मा उनी आफ्ना पुत्रहरुको जीत हेर्न चाहन्छन्, पुत्रमोहमा अन्धा भएका उनी न्याय र सत्य भन्दा पनि आफ्नो खलक र नाताले उन्मुख भएका छन् । धृतराष्ट्रको अवरोहण यहाँबाट प्रष्ट देखिन्छ ।

लालसा भनेंको पिँध नभएको भाडो झैं हो जुन कहिले पनि भरिँदैन । हामी मानवजाती बिभिन्न वहाना र हेतुले लालसाको शिकार भएका हुन्छौं तथापी मानव जीवनको बिशिष्ट उपस्थिति भनेंकै स्नेह र प्रेममा छ । मानव जीवन प्रकृतिसंग आसन्न भएर मानवता प्रति सदाचार हरनु नै पूर्णता कहलिनेछ भनेंर गीतामा भनिएको छ ।

उदहारणका लागि एउटा मानव चाहे कुनै खोक्रोपनाले भरिएको छ या फुलहरु या ताराहरु । यि कुराहरुले भरिनु केवल एउटा देष्टान्त हुन सक्दछ तर फुल या खोक्रोपना या ताराहरु बाट भरिनु सान्दर्भिक बिकल्पहरु हुन् । खोक्रोपना, फुल र ताराहरु बाहिर जति छन् भित्र पनि उतिकै छन्, मानव भित्र र बाहिर दुबै तर्फ एउटा ब्रह्माण्डको संकेत गीताले गरेको छ । लालसा तब उत्पन्न हुन्छ जब मानिसले आफुलाई झनै खोक्रोपनाले भर्दै जान्छ अनि त्यस खोक्रोपना भर्न उस्ले भौतिक कुराहरु प्राप्तिको सहारा लिन्छ ।

मानिसले आफुभित्र र पूर्णतालाई हेर्न जरुरी छ, गीताको यस श्लोकले राजा धृतराष्ट्रलाई लालसामा उन्मुख देखाएको छ । जतीजती आफ्ना पुत्रहरुको जीतको लालसा उनिमा बढ्दै जान्छ उति उति उनी झन बेखुशी र उत्कट बन्दै जान्छन् । बुद्धले पनि यसै लालसा र कामवासना बाट माथिको बुद्धत्वको कुरा पैरवी गरेका छन्, मानवताका कुरा हरेक धर्म र ग्रन्थमा लुकेको छ ।

माया, स्नेह, समभाव र समानताका नाराहरु गुञ्जन पर्ने विश्वमा बिभेद, रेसिज्म, पहिचानमा आधारित राजनितीका कुराहरु बिखण्डन भइरहेको छ । गीताको सान्र्दभिक्ता विश्वमा थप जरुरी भएको छ । माया गरौं र माया गर्न सिकाऔं ।
शान्तिको कामना

सुयोग ढकाल


Loading comments...