हाङपाङका शिर : गणेशबहादुर राई


‘सानो भइन्जेल मर्छन् कि भन्ने डर, ठूला भएपछि मार्छन् कि भन्ने डर !’ यस नेपाली भनाईबारे घोत्लिँदा म मेरा गुरुवर गणेशबहादुर राईलाई सम्झन पुग्छु । मेरो त्यस सम्झनाका दृश्यहरू मैले २०२० सालदेखि २०२५ सालसम्म पढेका बेलाका हुन् । त्यस बेला हाङपाङमा गणेशबहादुर राई प्रधानाध्यापक थिए । अनि त्यस मेरो स्कूलको नाउँ थियो ‘सरस्वती डी.एस्.बी. हाई स्कूल ।’

लेखकः नरेन्द्रराज प्रसाई

प्रकृतिले धुमधाम सिँगारेको त्यस ठाउँको नाउँ नै ‘हाङपाङ’ होे । वास्तवमा ताप्लेजुङ जिल्लाको एउटा नामी ठाउँ हाङपाङ हो । कुनै बेला आठराईभरिमा एउटा लोभलाग्दो ठाउँ नै हाङपाङ थियो । अनि त्यस भेगको सामाजिक जीवनको एउटा उदाहरणीय ठाउँ पनि हाङपाङ गाउँ नै थियो । अनि हाङपाङको एउटा गहना, सम्पति र शिर नै गणेश सर थिए । त्यस बेला आठराईमा गणेशबहादुर राई भन्नु विद्वताका प्रतिमूर्ति, सशक्त फुटबल खेलाडी, गायक, सङ्गीतकार, गीतकार र कुशल प्रधान अध्यापकको नाउँ थियो । छिमेकी हाई स्कुलका प्रधान अध्यापकहरूले समेत राई सरलाई नै आदर गर्थे । त्यसैले त्यस बेला छिमेकी ठाउँहरूका लागि हाङपाङ ईर्ष्यालु भएर पनि सौम्य, प्रेरक र मर्यादित ठाउँ थियो । अनि त्यसको कारक तत्व नै हाङपाङमा एक जना गणेशबहादुर राई थिए ।

मेरो जन्मभूमिमा शिक्षाको ज्योति छर्न गणेश सर २०१८ सालमा हाङपाङ पसेका थिए । यी त्यस बेला २२ वर्षको कल्कलाउँदो उमेर लिएर दार्जीलिङबाट हिँडेका थिए । उनले देहरादुुनमा पढे । त्यस बेला उनका मिल्ने साथीहरूमध्ये डा.हर्क गुरुङ, प्रा.डा.दुर्गाप्रसाद भण्डारी, चेतन कार्की आदि थिए ।

गणेश सरले बी.ए.बी.एड् पढे । पढेर यिनले हाङपाङलाई नै सेवाकेन्द्र बनाएका थिए । उनले पदार्पण गरेपछि त्यस दुर्गम, अनकन्टार र अँध्यारो ठाउँमा एक्कासि सूर्य उदाएको थियो । उनकै अथक मिहिनेतले त्यहाँ झुप्रो प्राथमिक पाठशाला भवन बन्यो, स्कूल भवन बन्यो र साहित्य भवन पनि बन्यो । उनकै नेतृत्वमा त्यस गाउँमा मिडिल स्कूल सञ्चालन भयो, हाइस्कूल पनि खुल्यो र सङ्गम क्लब पनि बन्यो । अन्ततः म पनि गणेश सरको त्यही पसीनाको एउटा कमाइ बन्न पुगेँ । त्यसैले गणेश सर उपर मेरो हृदयले बराबर कृतज्ञता जनाई रहन्छ । वास्तवमा त्यति बेला उनले प्रदान गरेको दिव्य ज्योति बोकेर म अहिलेसम्म हिँडिरहेको छु । देख्ने सुन्नेले ‘आजको यो नरेन्द्रराज प्रसाई बन्नुको पार्श्व भूमिका नै गणेशबहादुर राई हुन्’ भनेमा मलाई थप गौरवीबोध हुने गर्छ ।

गणेश सरले हाङपाङको भूभागलाई नै उर्वरा बनाएका थिए । उनले त्यहाँ कति गोडमेल गरे, कति मलजल हाले र कति आफ्ना भावना रोपे । उनी त्यसै स्कूलको भविष्य निर्माणमा एकोहोरो भएर जुटिरहे । त्यस बेला उनका लागि विश्वको सर्वोत्कृष्ट ठाउँ नै हाङपाङ थियो । क्रमशः गणेश सर भन्नु नै हाङपाङ भयो र हाङपाङ भन्नु नै गणेश सर भयो ।

गणेश सरले हाङपाङमा निशुल्क पनि सेवा गरे । तर जब हाई स्कूल आत्मनिर्भर बन्न थाल्यो, प्रख्यात हुन थाल्यो र स्कुलमा विद्यार्थीको संख्या पनि बढ्न थाल्यो अनि त्यसपछि उनले मासिक पाँच सय रुपैयाँ तलबसमेत थाप्न थाले । उनले तलब थाप्न थालेपछि त्यहाँ क्रमश: अरूका आँखा पनि बल्न थाले । अनि विविध षड्यन्त्रबाट राई सर त्यहाँबाट धपाइए ।

२०३८ सालको कुरा हो; केही असामाजिक तत्वहरूका कारण अपमानित भएर गणेश सरले हाङपाङबाट हात धुनुपर्यो । त्यस बेलाको काण्ड ती गुरु बाबुका लागि जीवनमा बिर्सिनसक्नु दुःखद र चिरस्मरणीय घटना बन्न पुग्यो । गणेश सरको मनमा बज्र परेपछि श्रीमती, आफ्ना लालाबाला र झिटीगुन्टा बोकेर त्यहाँबाट उनी रोएर हिँडेका थिए ।

बीस वर्षको कमाइ हाङपाङमै छोडेर गणेश सर अपर्झट खाली हात ताप्लेजङतिर लागे । आफ्नी पत्नी र छोराहरू पाल्न त्यस बेला उनीसँग दुक्ख, सुक्खको अनुभवबाहेक केही थिएन । त्यसपछि यिनले पूर्ण धैर्य राखेर ताप्लेजुङ बजारमा एउटा अङ्ग्रेजी स्कूल खोले । तर त्यस ठाउँको प्राप्त आम्दानीबाट गणेश सरको पारिवारिक जीवनले बामे सर्न सकेन । त्यस नयाँ बन्दोबस्तले उनको दैनिक आहारबिहार चल्नै सकेन । यसै प्रसङ्गमा गणेश सरकी धर्मपत्नी विद्या भाउजू भन्ने गर्थिन्- ‘हेर नरेन्द्र ! त्यस बेलाको हाम्रो हालत सम्झँदा अहिले पनि मलाई रिङ्गटा लागेर आउँछ । सरको हाङपाङको मिहेनतको उपलब्धि नै हात लाग्यो सुन्ना त भयो नि ! छोराछोरीको भविष्य झन्नै कालरात्रिमा परिणत भएको थियो । तर क्रमशः हामीलाई दैवले साथ दिए । हाम्रा लागि पनि भगवान् रहेछन् जस्तै लाग्न थाल्यो । विस्तारै छोराछोरीले खुट्टा पनि टेके । अन्तिम अवस्थासम्म पनि सरको हेरचाह गर्न पैसाको कतै न कतैतिरबाट जोहो पनि भैरह्यो । सरका लागि छोराछोरीले पनि गरे । हाम्रा इष्टमित्र पनि रहेछन्; सर बाँचुन्जेल हामीले साथ पाइरह्यौं ।’

कहिलेकाहीँ म गणेशबहादुर राईको जीवन चक्रलाई सम्झने गर्छु । म त्यस बेलादेखि सरको जीवन बुझ्ने अझै प्रयास गर्ने गर्छु । म हाङपाङमा पढेको समय सरले कहिले शैक्षिक भ्रमण गराएर हामीलाई त्यसबारे निबन्ध लेख्न लगाउँथे, कहिले स्कूलको आर्थिक स्रोतका लागि हामीलाई पनि देउसी खेल्न उनीसँगसँगै लान्थे र कहिले स्कूलमै साहित्यिक गोष्ठी गराएर हामीलाई पनि सरिक गराइरहन्थे । सरले मलाई गीत गाउन सिकाएको क्षणलाई पनि म सदा सम्झिरहने गर्छु । त्यस बेला सर गीत लेख्तै आफूसँगसँगै हामीलाई गाउन लगाउने गर्थे । गणेश सरको रचना र सङ्गीतमा हामी स्कूले केटाकेटी गीत गाउँथ्यौँ । स्कूलको वार्षिक उत्सवमा त्यहाँ हामीद्वारा साँस्कृतिक कार्यक्रम सञ्चालन हुन्थ्यो । मैले त्यहाँ पाँच कक्षासम्म मात्र पढें । हाङपाङ छाडेर म २०२५ सालमा झापा पसेपछि मैले गीत गाउन सकिन नै ! मेरो वाल्यकालमा गणेश सरले मेरो हात समाई समाई मलाई गाउन लगाएका शब्द र सङ्गीत भने अझै मेरा दिलभित्र घुलमिल हुने गर्छन्:

ढकमक्क फुलेको
झलमल हाँसेको
हेर, हेर यही हो मेरो देश,
यही हो मेरो हाङपाङ
यही हो मेरो देश !

हाङपाङबाट २०३८ सालमा गणेश सर हिंडेपछि त्यो ठाउँ माटो मात्रको भयो, नाउँ मात्रको भयो र ठाउँ मात्रको भयो । सबैले भन्न थाले- त्यसपछि त्यहाँ कुनै रमाइलो चिज देखा परेन । गणेश सर नभएको हाङपाङ सबै थोक भएर पनि रित्तो भयो, एक्लो भयो र अधुरो भयो । त्यस मनोहारी, सुकोमल र हरियाली हाङपाङ उजाड भयो, विरक्तिलाग्दो भयो र अपूर्ण जस्तै भयो ।

गणेश सर काठमाडौं आएपछि सर र विद्या भाउजूसँग मेरो प्रायः सधैं भेट हुन्थ्यो । उनीहरू मेरा घरमा पनि आइरहने गर्थे । राई दम्पती उनीहरूका ती दयनीय स्थितिका दिनहरूका बारेमा एउटै मान्छेसँग कृतार्थ थिए । भनौँ प्रजापति दाइले लगाएको गुनबाट उनीहरू सधैँ नतमस्तक थिए । यसै प्रसङ्गमा विद्या भाउजूले मलाई बराबर भन्ने गर्थिन्— ‘प्रजापति प्रसाईले नै हामीलाई प्रसस्तै आँट, भरोशा र साथ दिए, तर उनी स्वर्गीय भएपछि हाम्रो आशा पनि क्रमशः बिलाउन थाल्यो । अरूहरूबाट हामीले त्यस प्रकारको कुनै पनि सहयोग र सद्भावना पाएनौं ।’

विद्या भाउजूले कुनै दिन मलाई भनेकी थिइन्—‘ईश्वरले हामीलाई साथ नै दिए ।’ वास्तवमा गणेश सरलाई दैवले बलियो साथ दिन खोजेको पनि थियो । जीवन बाँच्नका लागि उनले क्रमशः कसैसँग शिर नझुकाउनु परेको दिन पनि आएको थियो । त्यस बेला उनको दयनीय आर्थिक स्थितिलाई सपार्न उनले कसैसँग गुहार माग्नु परेन । स्कूलबाट फालिएपछिका दिनहरूमा उनले खाएको, लाएको ऋण कसैसँग चन्दा मागेर पनि तिर्नुपरेन । किनभने क्रमशः उनी आर्थिकरूपले दरिलो हुँदै गएका थिए । भनौं गणेश सरले हङकङको एउटा राम्रो स्कूलमा शिक्षक भएर काम गर्ने अवसर पाए । उनका कान्छा छोरा अमोद पनि उहीँ पैसा कमाउँदै बसे । गणेश सर हङकङमा ७ वर्षसम्म पढाउने काममा नै ठाँटी रहे । तर त्यसपछि उनी विरामी परे । अनि उनको भाग्यमा अर्को विर्को लाग्यो । त्यसपछि उनी नेपाल नै फिरे ।

नेपालमा आएपछि राई सरकी पत्नी विद्या, माइलो छोरा आलोक र छोरी एलिजाबाट उनको राम्रो हेरचाह हुन थाल्यो । त्यस बेलासम्ममा जेठा छोरा सङ्गीतकार अशोक राईले पनि नाउँ कमाउन थालिसकेका थिए । राई दम्पतीकी छोरी एलिजा चाहिं किशोर थापासँगको वैवाहिक जीवनमा बाँधिएर अष्ट्रेलिया पुगिन् । त्यहींबाटै एलिजाले आफ्ना आमा, बुबाप्रतिको कर्तव्य गरिरहिन् । भनौं उनले खर्च पठाई रहिन् । माइलो छोरो आलोक पनि बुबाको बिडो थाम्ने गरी काठमाडौँको राम्रो स्कूलका शिक्षक बने । तिनै माइलो छोरा आलोक, बुहारी प्रमिला र नातिनी अस्लेषाले गणेश सरको तन, मन र धनले आजीवन सेवा गरेका थिए ।

वाँचुञ्जेल गणेश सर हाङपाङकै मात्र कुरा गर्थे । उनका लागि त्यहींकै साग र सिस्नो नै मीठो थियो । आफ्नो देश र आफ्नै गाउँमा रमाउने गणेश सर काठमाडौंमा पनि त्यति सारो रमाउन सकेका चाहिं थिएनन् । वास्तवमा उनीभित्र जरा गाडेर बसेको हाङपाङ मोहबाट उनी आजीवन उम्किन सकेका नै थिएनन् । वास्तवमा आफूले लगानी लगाएको हिसाबको सानै भए पनि माया हुँदोरहेछ नै ! आफूले पौरख गरेको कृति सानै भए पनि ठूलै लाग्छ । अनि आफूले जन्माएको रिट्ठो भन्दा कालो छोरो पनि विश्वमा सबैभन्दा सुन्दर मानिन्छ ।

रोगव्याध लागेपछि जस्तै मै हुँ भन्ने धनाढ्यको पनि आर्थिक अवस्थामा विचलन आउँन सक्छ । गणेश सरलाई पनि रोगले गाज्दै लगेपछि विद्या भाउजूले १० वर्षसम्म बढो हारगुहार गरेर, अनेक कसरत र कष्ट गरेर गणेश सरको सेवा गरेको देख्दा इन्दिरा र म विद्या भाउजूकोे महानताको गाथा गाउँथ्यौँ । त्यसपछिका दिनहरूमा मैले प्रायः जसो गणेश सरलाई रित्तो हातले कहिले ढोग गरिन । साथै मेरा मित्रजन र परिवारका व्यक्तिहरूलाई पनि गणेश सरलाई रित्तो हातले नढोग्नु भनेर म अनुरोध गरिरहेकै हुन्थें । मेरा बोलीहरू खेर नगएको विद्या भाउजुबाट पनि जानकारी पाउँदा मलाई गणेश सरको लगानीप्रति थप गौरव लाग्थ्यो ।

गणेशबहादुर राई साहित्यमा पनि दरिएको नाउँ हो । नेपाली र अङ्ग्रेजी भाषामा उनी पारङ्गत थिए । उनले दर्जनौं फुटकर रचना प्रकाशनमा ल्याए । नेपाली भाषामा उनले दुई वटा र अङ्ग्रेजी भाषामा एउटा कृति पनि लेखे । त्यसबापत उनले नेपाल सरकारबाट भानुभक्त पुरस्कार पाए । साहित्यमा समर्पित भएकै कारण उनले त्रिमूर्ति पुरस्कार पनि प्राप्त गरे । साथै उनले नइ धनरूप पुरस्कार पनि ग्रहण गरे । स्मरणरहोस्- मेरा कान्छा काकाका छोरा, बुहारी इन्जिनियरद्वय दीपकराज प्रसाई र जुली प्रसाईले नइ प्रकाशनमा आफ्ना बुबा रूपनारायण प्रसाई र आमा धनमाया प्रसाईका नाउँमा नइ धनरूप पुरस्कारको स्थापना गरेका छन् ।

राई सर सारै विमारी थिए । २०७२ साल, भदौ ७ गते उनकै निवास भक्तपुरमा पुगेर मेरा काका रूपनारायण प्रसाईकै हातबाट नइ धनरूप पुरस्कारको राशि र ताम्रपत्र गणेश सरलाई समर्पण गरियो । शताब्दी पुरुष डा.सत्यमोहन जोशीको पनि हस्ताक्षर भएको ताम्रपत्रमा लेखिएको छ— ‘लामो समयसम्म शिक्षणसेवामा संलग्न रहँदै नेपाली भाषासाहित्यमा समेत समर्पित ताप्लेजुङस्थित आठराई हाङपाङको प्रेरक व्यक्तित्व श्री गणेशबहादुर राईलाई नइ धनरूप पुरस्कार समर्पित गरिएको छ ।’ त्यस दिन पुरस्कार समर्पणका अवसरमा मेरा जेठा दाजु विष्णुभक्त प्रसाई र भाउजू भागीरथा प्रसाई पनि उपस्थित हुनु हामी नइका लागि अर्को गौरवको पल थियो ।

गणेश सरका डेरामा पनि र पछि घर बनेपछि घरमा पनि म र मेरी पुरोधिका इन्दिरा प्रायः गइरहन्थ्यौं । हामी पुग्दा सर खुसी हुन्थे । सरका हातको टीका लगाउन हामीले कुनै दशैं पनि छाडेका थिएनौ । पछिपछिसम्म पनि विद्या भाउजू भनिरहने गर्थिन्— ‘तिमीहरू दुवैलाई हामीले पो के दिन सक्छौं र ! सरले थुप्रै आशीर्वाद दिनु भएको छ ।’

मेरी आमा भागीरथा प्रसाई पनि गणेश सर भनेपछि हुरुक्कै हुन्थिन् । गणेश सरलाई भेटेका क्षण आमाको अनुहारै उज्यालो हुन्थ्यो । मानौँ त्यस क्षण उनी उनको प्यारो हाङपाङमै पुगेकी हुन्थिन् । त्यसै गरी मेरी आमालाई भेटेपछि गणेश सरको मुहार पनि उज्यालिन्थ्यो । शायद उनी पनि आमाको उपस्थितिमा हाङपाङमै पुगेको अनुभूति गर्थे । त्यसैले हाम्री आमाको नश्वर देह विसर्जन नहुञ्जेल र राई सर थला नपरुञ्जेल विद्या भाउजूका साथ मेरी आमाको आशिष थाप्न पनि गणेश सर नइ गृहमा आइरहन्थे ।


Loading comments...