कथाः ब्ल्याक होल


‘या देवी सर्वभूतेषु….!’
आज पनि सपनामा उसकी हजुरआमा विपनामा झैँ मन्त्रोच्चारणका साथ पूजा गरिरहेकी थिइन् ।
• ‘ब्ल्याक होल अर्थात् कालो दूलो— जसले ब्रम्हाण्डका मै हुँ भन्ने सूर्य लगायतका सम्पूर्ण ग्रह मात्र नभएर उपग्रह र तारामण्डललाई क्वाप्लक्क निलिदिन सक्छ । त्यस दूलोका ओरिपरि उज्यालो देखिन्छ । हरेक ग्रह, उपग्रह, पिण्ड, उपपिण्ड सबै र सबै त्यस दूलोमा भएको गुरुत्वाकर्षणको अत्याधिकताले गर्दा त्यसैमा प्रवेश गरेर त्यसैमा समाहित हुन अग्रसर रहन्छन् । त्यसै दूलोभित्र नै कैयन सूर्यहरू लगायत विशाल र ससाना ग्रहहरू समेतको नवनिर्माण हुनेगर्छ । व्रम्हाण्डमा यस्ता ब्ल्याक होलहरू धेरै छन् । वास्तवमा सृष्टिको कारक तत्व पनि ब्ल्याक होल नै हो र संहार पनि उसैबाट सम्भव देखिन्छ ।’

‘ड्याडी ! टिभीको आवाज ठूलो भयो । मम्मी ! मैले कसरी होमवर्क गर्नु …?’ कोठामा पढ्ने प्रयासमा रहेको उसको छोरो चिच्याएको थियो । नरसिंह टिभी र छोरोलाई ट्वाल्ल परेर हेरिरहेको थियो ।

तत्काल केही क्षण मै आउँदै गरेको समय पर्खिरहेको छ, नरसिंह !

नरसिंह अर्थात् ऊ यस कथाको प्रमुख पात्र हो । चिच्याएको छोरोको अनुहार हेरेर मुसुक्क हाँसेको थियो नरसिंह । तुरुन्तै कल्पनारत भएको थियो ऊ, ‘अब भान्छामा ढुनुमुनू गर्दै गरेकी उसकी स्वास्नी उसका सामु रौद्ररूपमा उपस्थित हुनेछ ।’
अथ देवी महात्मनम्…. देवी कृत्यम्…!

‘खिचिक्क….’ प्रतिक्षित उसका कानमा आवाज परेपछि उसले आवाज आए पट्टि हेरेको थियो ।

लेखकः इन्दिरा प्रसाई

हो त नि उसकी स्वास्नी नजिकैको भान्छाकोठाबाट हातमा डाडु बोकेरै भित्रिएकी थिई । अब टेलिभिजन जोडिएको विजुलीको स्वीच नै बन्द भइसकेको थियो । हातमा रिमोट बोकेको सिंहे केही बोलेन, अहिले पनि ट्वाँ परेर रौद्ररूपकी कोपिला नाउँधारी आफ्नै स्वास्नीलाई हेरिरहेको थियो ऊ । उसको अनुहारमा पराजित हाँसो छरिएको थियो । ‘रिमोट आफ्नै हातमा भएर पनि के हुने रहेछ र ? जब मेन लाइन नै चट भएपछि …!’ ‘मैले कुरा बुझेँछु अब कि अझ मैले मलाई बुझाउन बाँकी छ ?’ स्वास्नीद्वारा भरखरै सम्पन्न क्रियापछिको आफूमा परेको प्रतिक्रिया आफैँभित्र पोख्तै थियो ऊ ।

‘ब्ल्याक होल’ उसले आफैँ भित्रको आफूसँग भनेको थियो ।
‘छोरो पढिरहेको देखेर पनि टिभी केलाई खोल्नु परेको हँ ?’ ‘ब्ल्याक होल…!’ कोपिलाको अनुहारमा हेरेर खुइय…सास फाल्दै उसको आवाज धीमा गतिमा बाहिरिएको थियो ।

‘के बोल्या होला ? कुरा पनि नबुझिने । छोरालाई यसो पढाउँदा त हुँदो हो नि … जुनबेला पनि कि सुत्यो, कि अफिस, कि टिभी… ! कस्तो हो यो यिनीहरूको चाला …!’

• ‘भोलि बाको एकछाकी र पर्सी तीन महिने मासिक हो । दिदीलाई बोलाउनु पर्छ कि पर्दैन ? के बोलाउनु तिनलाई पनि, जुनबेला पनि रोएको रोई, कत्ति न मैले नै उनका बाउआमा मारे झैँ गरेर मलाई खाउँला झैँ गरेर हेर्छिन् । न बोलाउँ भने पनि… फेरि मै उस्ती …! आ… जे सुकै गर्नु, तर भोलि र पर्सी चाहीँ अफिसबाट टन्न धोकेर टिल्ल परेर नआउनु …!’ भरखरैमात्र नाइटी भिरेकी कोपिलाले कोठामा जिरोवाटको बत्ति बालिसकेकी थिई । उसले पनि आफूलाई वस्त्रधारी बनाइसकेको थियो । केही अघिमात्र छोरो निदाएपछि उनीहरूको रात्रिकालीन कार्यक्रम भर्खरै सकिएको थियो ।

स्वास्नीसँग प्रतिवाद गर्ने शब्द प्रायजसो हुँदैन पनि सिंहेसँग ।
‘ब्ल्याक होल…!’ केही अघिमात्र कोपिलाभित्र आफू स्खलित हुँदाको अनुभूतिले कताकता चसक्क भएको थियो उसलाई । त्यसै पनि स्वास्नीका कुरा सुन्छमात्र सिंहे, हत्तपत्त बोल्दैन ।

‘ड्याङ ड्याङ ड्याङ ………!’ छातीभित्र केही उफ्रे झैँ भयो । नरसिंह भिजेको बिरालोजस्तो छ । ‘थुइक्क… तँ … नरसिंह … कसरी हँ ?’ उसको आफ्नै नाउँले उसैलाई गिज्याएजस्तो लाग्यो ।

‘स्वास्नीका अघिल्तिर भिजेको बिरालोजस्तो, पुच्छर हल्लाइरहेको कुकुरजस्तो मान्छेको नाउँ कसरी नरसिंह हुनसक्छ ? मेरो नाउँ मैलाई स्वीकार्य छैन । म यो नाउँ फालिदिन्छु । तर अहिले आएर नाउँ फाल्दा पनि मैले नाउँ विनाको मान्छे भएर कसरी काम चलाउने ?’
‘आइमाइको नाउँ पनि कोपिला हुन सक्छ त ?’ ‘छोराको नाउँ पूर्णबहादुर ? यो केटो पनि कसरी पूर्ण होला त ? लोग्नेमान्छेको नियति आखिर ब्ल्याक होल नै हो ।’ छोराको भविष्य सम्झेर पनि उसलाई वाक्वाकी लाग्लाजस्तो भयो ।

• उसकी हजुर आमाको आँखामा अविरल आँसुको कारक : ब्ल्याक होल ।

• उसको बाको स्विकृत प्रिय क्षेत्र : ब्ल्याक होल ।

• अनि उसको आफ्नै पनि आरम्भ, गन्तव्य र प्रस्थान : ब्ल्याक होल ।

‘तँ त त्यस्तो थिइनस् त सिंहे, बिहे नहुञ्जेल त आमाकै पछि पछि लाग्थिस् । आमा रिसाएर तँसँग बोलिनन् भने तँ भातै खाँदैनथिस् । रोएररोएर मर्न खोज्थिस् र आमाले नै हारेर तँसँग बोल्नु पथ्र्यो । तर स्वास्नी ल्याएपछि ….’ उसकी दिदी धुरूधुरू रोएकी थिई ।

‘तेरै कारण आमा पचास नपुग्दै मरिन्, बेस्यार हुन थालेपछि यसैयसै विरक्तिएर गलेर छाठी नपुग्दै बा पनि मरे ।’

बाको पैँतालीस दिनको कामका बेला उसकी दिदी मीठू बेस्सरी रोएकी थिई । उसले सुनिमात्र रह्यो । त्यति खेर उसले फकाएन पनि दिदीलाई ।

• ‘एई दिदी, मेरा कारणले कसरी मरिन् आमा र बा पनि ? भन त मलाई, मैले बुझिनँ ।’ बाउ मरेको अड्चालीसौँ दिनमा सिंहे दिदीका घरमा पुगेर प्रश्न गर्दै थियो । भाइको प्रश्न तेर्सिएपछि मीठूले लामो खुइय काडेकी थिई । मीठूले केहीबेर विचित्र भावले भाइलाई हेरी रहीे । मीठूका दृष्टिमा भाइप्रति खिन्नताभाव मात्र थियो । ‘स्वास्नीको कमारो बज्या, अस्तिका कुरा बुझ्न स्वास्नीले पठाएपछि आज आएको हो यो’ मीठूले अड्कल काटेकी थिई ।

‘ हुतुतुतु…’
नजिकैबाट पानी खसेको आवाज आएको थियो ।

‘ए, पानी आयो पानी आयो, लौ अचम्मै पो भो, आज कसरी यतिबेला धारामा पानी आयो हँ ?’ मीठूका डेरावाल साथीहरू कराएको आवाज सुनिएको थियो ।
‘एक छिन पख् है भाइ, म गाग्री लाइनमा हालेर आउँछु ।’ मीठू प्लाष्टिकको गाग्री बोकेर पानीको कल्याङ मल्याङ आवाज आएतिर लागी । धारा त्यतै हुनुपर्छ ।
‘ ए सिंहे आइज, चिया पकाउँछु, खाएर जा ।’ मीठू पानीतिर अल्मलिए पछि झ्याऊ लागेर कोठाबाट निस्केर सिंहे अलिपर पुग्दै थियो । मीठूको आवाजले ऊ फर्केर आयो ।

‘भन न दिदी, बाआमा मेरै कारण मरेका हुन त ?’

ग्यास बालेर चिया पकाउँदै गरेकी मीठूले पुलुक्क भाइका अनुहारमा हेरी । टीठलाग्दो अनुहार छ, बरखी बोकेको केटोको सेतो पोसाक मटमैलो भइसकेको छ ।

‘जागीरेले काठमाडौँको धुवाँधुलोमा किन लाउनु पर्यो सेता लुगा ?’ किरियापछि लुगा फेर्ने चर्चा चलेका बेला मीठूले प्रतिवाद गरेकी हो ।

‘हाम्रो संस्कार हो, लाउँछु, नसके छ महिनामा फुकाउँछु ।’ मीठूको सल्लाह पन्छाएको सिंहेलाई बढो सम्मान र मायाका आँखाले हेर्दै गम्केकी थिई कोपिला ।

‘हो नि दिज्जू पनि…!, एक्लो छोरोले पनि रीत नपुर्याई कीरिया गरे कसरी तर्लान् पितृ ।’ साईँदुवा भएर बोलेकी थिई कोपिला ।

‘खुब आइस् संस्कार सिकाउने नकच्चरी ! लोग्नेलाई दिनभरिको भको नभको कुरा लाएर घरझगडा लाउने संस्कार चैँ काँबाट भित्र्याएकी थिई कुन्नि यसले?’ मीठूलाई कोपिलाका जगल्टा गनेर प्रश्न सोध्न मन थियो । तर अब जस्तै कर्तुतले पनि बितेका बाउआमा फर्काउन मिल्ने थिएन । त्यसैले चुपचाप लागेर माइतीको नाउँमा बाँकी रहेको यही एउटा भाइ जोगाउनु नै उसलाई त्यसबेला सही लागेको थियो । तर कोपिलाले उसका बाआमालाई गरेको व्यवहार सम्झँदा मीठूको मुखै तम्तमाइलो भएर आएको थियो ।

त्यसदिन लगत्तै चर्पीभित्र पसेकी मीठूले निकै ठूलो स्वरले खकारेर थुकेको आवाजले कोपिला र सिंहे दुवैको कान छेडेको थियो ।

मीठूले खकारेर थुकेको आवाजले छेडिएकी कोपिलाले लोग्नेलाई अपराधी हेरे झैँ हेरेकी थिई । तर सिंहेले कोपिलाको अनुहारमा हेर्दै हेरेन । त्यसबेला पनि सिंहे भिजेकै बिरालो भएको थियो ।

अनि घर पछाडिको चापाकलमा पुगेकी कोपिलाले पनि आफ्नो रिस साधेर जोडजोडले कल चलाएकी थिई ।

‘क्वाईँ क्वाईँ..क्वाईँ ख्याँ ख्याँ ख्याँ ………….!’

सुख्खा यामको कलबाट त्यसदिन पानीको साटो खोक्रो आवाजमात्रै आइरहेको थियो ।

• ‘भैगो सिंहे, अब बितिसकेका कुरा झिकेर तेरो कुरो तैँसँग गर्नुको अर्थ नै केही छैन नि ! कसलाई सुनाउनु म पनि, तैँ भन् न ? यी मेरा खसम र यिनका परिवार त जुन बेला पनि बल्छी थापेर बसेका हुन्छन् । कुन बेला यसका माइतीको ओरालो लाग्ने खाले कुरा आउँछ र यसलाई लखेट्न पाइन्छ भनेर उनीहरू ढुकेर बसेका हुन्छन् । आखिर मेरो व्यथा पीर पनि त कतै पोख्नु पर्ने हुन्छ नि ! मेरो मनको डाह पनि त मैले हलुका पार्नु पर्ने हुन्छ नि ! त्यसैले भनिहालेँ भाइ ! भैगो अब ती कुरा पनि किन गरौँ र ? तँ मेरो एउटामात्र भाइ, म तेरी एउटीमात्र दिदी न हौँ । हामी दुई बाहेक अर्को सहोदरी पनि छैन नि हाम्रो त !’ भाइ फकाउने नियतले मीठूले भनेकी थिई ।

‘हैन दिदी, मलाई प्रष्ट गरी भन त, मेरै कारण बाआमा कसरी मरे ?’ यसबेला भने सिंहेको अलि गर्जनै सुनिएको थियो । मीठूले भाइको अलि मोटै आवाज सुनेपछि संत्रस्त भएर एकपटक कोठा चोटा र चारैतिर आँखा दौडाएकी थिई । त्यति खेर त्यहाँ उनीहरू दिदी भाइको वार्ता सुन्ने अर्को कोही थिएन ।

सिंहे त्यस घडी मीठूसँग भने सिंहै हुन खोजेको थियो ।

‘स्वास्नीले राम्रैसँग पाठ पढाएकी छ यसलाई, अब मैले केही सिकाउनु अथवा मायाममताका कुरा गर्नुसँग यसलाई केही वास्ता हुने छैन ।’ मीठूले पनि मनमनै गुनी सकेकी थिई ।

‘हेर बाबै सिंहे ! तैँले राम्रो गरिनस्, बिहे गरेपछि तँ बदलिँदै गइस् । आमा घरमा तँ आउने बाटो कुरेर बस्थिन् । दिनभरि तँ आउलास् र पहिले पहिले झैँ सँगै बसेर चिया खाउँला भनेर पर्खिन्थिन् । तर तँ भने अफिसबाट घर फर्किनासाथ कोठाभित्र गएर स्वास्नीसँग बस्थिस् । बिहेअघि आमाले पस्केपछि अमृत मानेर भात खान्थिस् । आमाले पकाको जस्तो मीठो कतै नलाग्ने तँ, स्वास्नीकै मात्र स्वाद र स्वास्नीकै मात्र बयान गर्न थालिस् । आमाको छातीमा एकपछि अर्को घाउ लाग्दै गयो । सक्भर आमासँग तर्किने र सामुन्ने परिहाले र आमाले सीधा मुखले कुनै प्रश्न गरिहालिन भने तँ बाङ्गो मुखले उत्तर दिने गर्थिस् र आमाबाट टाढा भाग्ने प्रयास गर्थिस् । तेरो वेवास्ता नै आमाका लागि रोगमाथि रोग भएर थुप्रिन थाल्यो । हो कि होइन भाइ !

‘पट्याङ्…..!’ नजिकै कतै ठूलै बम पढ्के झैँ आवाज वातावरण भरी छरिएको थियो । तर त्यो विजुलीको ट्रान्समिटर पढ्केको थियो ।

‘भैगो अब जे भयो भयो, न आमा फर्किन्छिन् न बाबा नै ! तर दुवै असमयमै मरे र बेखुसीमै मरे । सम्झिँदा दुक्ख लाग्छ; नरमाइलो लाग्छ । तैँले भुतुक्क माया गर्दा गर्दै मरेका भए चित्त बुझाउने बाटो हुनेथ्यो । अब मेरो एक्लो माइती तँ नै होस् । तर बाआमाको हुन नसकेको छोरो तँ, म तेरो के आस गरूँ ? नगरूँ भन्दा पनि फेरि आसै पनि नमर्ने रहेछ भाइ ।’ मीठू आफूभित्र भएजति सबै खन्याएर हलुङ्गिएकी थिई क्यार । अब उसको अनुहारबाट वादल हराउँदै थियो ।

‘त्यस राँणले मेरो छोरो पेटिकोट भित्रै राखी, असत्ती रै‘छे तेरी आमा बुझिस् सिंहे ?’ हजुर आमाले मलाई छातीमा टाँसेर रूनु हुँदा म दस वर्षको थिएँ दिदी ! तिम्रो त बिहे भैसकेको थियो क्यार ।’

‘आमा ! तपाईंले बालाई किन पेटीकोटभित्र राखेको, हजुरआमा आज मसँग कत्ति रूनु भयो ।’ ‘चड्याम्म…!’ आमाले मेरो गाला चडकाएर प्रश्नको उत्तर दिनु भएको थियो ।

‘नकच्चरो, जे पायो त्यही बोल्ने तँलाई… पख न भरे तेरो बाउ आएपछि थाहा पाउलास् ।’ म कङ्कला शब्द गरेर रुँदै हजुरआमाको काखमा पुगेको थिएँ । ‘यस राँणले सबैलाई सिध्याउने भई । अब मेरो नातिलाई कुटेरै मार्ने भई । दयामाया नभएकी !’ म हजुरआमाको संरक्षण क्षेत्रमा सुरक्षित भएर रोदनमा थप चिच्याहट भर्दै थिएँ ।’

‘सिकाउनु नि अझै यस्तै बेइजती कुरा । मेरो पेटिकोटमा तिम्रो छोरो नपसेर को पस्छ त ? सहन त्यस्तै गाह्रो हुन्थ्यो भने छोरोलाई राख्थ्यौ नि आफ्नै काखमा; किन बिहे गर्दिनु पथ्र्यो नि ।’ हाम्री आमाले त्यसदिन रौद्ररूप नै देखाउनु भएको थियो ।

‘नकच्चरी, पख न भरे तेरो पोइलाई सोधम्ला !’ हजुर आमाले हाम्री आमासँग पाखुरा सुर्कनु भएको थियो । त्यस रात म ननिदाउञ्जेलसम्म बा आउनु भा‘थेन ।

‘अब किन तैँले चाहीँ बोलिरहनु पथ्र्यो र ? तिमी आइमाई जातले गर्दा घरमा शान्ति नहुने रहेछ ।’ देवी भागवत् पढ्दै गरेका हजुरबा किताब बिसाएर बोल्नुभएको थियो । निद्रा पर्ने बेलामा हजुर बा बोलेको यती नै कुरा मैले सुनेको हुँ । तर त्यसपछि म निदाएँ क्यार ।’

‘आमा, तपाईँले यस केटालाई फोहोर कुराहरू सिकाउनु हुन्छ त ? छि… आफ्नै छोराको त्यस्तो कुरा गर्न लाज पनि लाग्दैन है तपाईँलाई ?’ अमीलो मुख लाएर बाले हजुरआमालाई भन्नु भा‘थ्यो । ‘आमालाई सम्झाउनु न बा, मलाई त घरमै आउन पनि मन लाग्दैन ।’ आफ्ना बालाई सम्वोधन गरिसकेपछि अरुदिनजस्तै मलाई स्कुलमा छोड्दै त्यसदिन पनि मेरा बा अफिस जानुभएको थियो ।

त्यसैदिन म स्कुलबाट घर फर्किँदा हाम्रा घरको आँगनभरी मानिसको भीड थियो । तुलसाको मठ नेरी एउटा मान्छेजस्तै सुतेको थियो । त्यसलाई हजुरआमा जप गर्दा ओड्ने गरेजस्तै पहेँलो हरनामी ओडाइएको थियो । त्यसकै नजिकमा मेरा बा पलेँटी मारेर टाउको निहुर्याएर बस्नु भएको थियो । अलि पर्तिर हजुरबा टुक्रुक्क बस्नुभएको पनि देखें । मेरा बाका नजिकै गएर मैले ‘बा’ भनेँ । बाले पुलुक्क मेरा अनुहारमा हेर्नु भएको थियो । बाका आँखामा आँसु थियो । त्यसैबेला मैले त्यस भुईँमा सुतेको मानिसलाई नजिकैबाट हेरेको थिएँ । त्यो त हजुरआमा पो हुनुहुँदो रहेछ । ‘बा… हजुरआमा…?’ मैले रून्चे भएर सोधेको थिएँ । ‘स्वर्गवास भयो । आमाको स्वर्गवास भयो बाबु ।’ त्यसपछि बा रूनु भएको थियो । मैले त्यस अघि बा रोएको कहिल्यै देखेको थिइन, दिदी ।’

सिंहे पुरानो समयमा पुगेको थियो । उसलाई हजुरआमा र बाको सम्झनाले एकैपटक आक्रमण गरेको थियो । अहिले पनि बोल्दाबोल्दै उसको गह भरिएर आएपछि उ मीठूका सामुन्नेमा चुप लागेर बसेको थियो ।

‘म अहिले गएँ दिदी !’ केहीबेरपछि सिंहेले भारी आवाजले दिदीसँग विदा माग्दा नमाग्दै ऊ त्यहाँबाट हिँडेको थियो । सिंहे निस्केपछि मीठूका आँखा सिंहेको चियाको गिलासमा परेको थियो । ‘गिलासमा चिया जत्तिको त्यत्ति नै पो रहेछ, त्यसले त चिया पनि खाएन छ । बेक्कारमा यत्तिको कुरा गरेँ । बरो टुहुरो केटोको चित्त दुखाएँ ।’ त्यस बखत पनि मातृभाव जागेर लुतुक्क भएकी थिई मीठू ।

समयले सानो साँझ आगमनको सङ्केत दिँदै थियो ।

‘या देवी सर्वभूतेषु….!’ नजिकै घण्ट बजाउँदै कुनै नारीस्वरले मन्त्रोच्चारण गरेको सुन्दा सिंहेलाई हजुरआमाको झझल्को लाग्यो । अनि हिंड्दाहिंड्दै ऊ टक्क एकैछिन उभिएको थियो । तुलसाको मोठमा बत्ति बालिरहेकी दिदीकी सासू रहिछिन् । उसले शिष्टाचार ढोग गर्यो ।

‘ए, बाबू कुन बेला आएको नि, फर्किहालेको ?’ उनले पनि सिंहेलाई सधैँ झैँ आत्मीयता पूर्वक सोधखोज गरिन् ।

‘को हुन्थ्यो नि, त्यही बेस्सेको भाइ हो । हलुवापुरी ख्वाएर पठाई होली, उसका माइती आएपछि त उसलाई पुगिहाल्यो नि ! मेरै छोरो जोइटिङग्रे भइदियो, अलि त मेरो आफ्नै पुर्पुरो उस्तो हो । अर्कालाई पनि के भन्नु र हौ…. ?’ अलिपरमात्र पुगेको सिंहेका कानमा दिदीकी सासूले कसैलाई जवाफ दिँदै गरेको आवाज परेको थियो ।

‘ब्ल्याक होल !’ सिंहेले मुखमा मुस्कान ल्याउँदै मनमनमा भनेको थियो ।

‘कुईँ …कुईँ…कुईँ…!’
नजिकै कसैले कुकुरलाई कुटेको थियो । वातावरणभरी कुकुर कराएको आवाज पोखिएको थियो ।

सिंहेको मनभरि पोखिएको हजुरआमा, हजुरबा र आफ्नै बाआमाको स्मृति अझै उसले उठाउन सकेको थिएन ।

‘…अलि दिनसम्म घरमा शोक, पटकपटक भोज र त्यसपछि हजुरआमा, हजुरबा, बा र आमा पनि उसका घरबाट अलप !’ उसको स्मृतिले ढोका थुन्न खोजेको थियो ।
अलि पछि हजुरआमाको कोठा पूर्ण रूपले सिंहेको कोठामा रुपान्तर गरिएको थियो । हजुरबाका पुस्तक र अरू सबै सामान बाले लिनु भएको थियो; तर हजुरआमाका पोका पन्तुरा र कन्तुरहरू कता कता गए सिंहेलाई थाहा भएन ।

यसरी आफ्नै घरका अग्रजहरू पनि समयले निल्दै निल्दै जाँने रहेछ । क्रमशः क्रमशः सबै र सबैको नियति नै यहीमात्र हो । यसमा दुक्ख मनाउने कि खुसी हुने कि तटस्थ बस्ने ? आफू भित्रकै प्रश्नहरूमा जेलिँदै गएको सिंहे एउटा गल्लीभित्र पसेको थियो ।

• आज सिंहे घरभित्र पस्दा ठूलो साँझ पनि ओर्लिसकेको थियो । ‘या देवी सर्वभूतेषु….!’ पूजाकोठाबाट घण्टको आवाज सँगसँगै उसकी स्वास्नीको आवाज पनि आइरहेको थियो । त्यति खेर उसको छोरो पनि होमवर्क गर्दै थियो ।

‘पूर्णे होमवर्क सकिस् ?’ पढिरहेको छोरोको ढाड मुसार्दै मायालु लवजमा सिंहेले सोधेको थियो ।

‘सक्नै आँटेँ ड्याडी ! अब नेपाली मीसको हेण्डराइटिङ मात्र बाँकी छ ।’ पूर्णेले जानकारी गराएको थियो । अन्ततः पूर्णेले तथाकथित पढाई त्यसबेलाका लागि सकेको थियो । केहीबेरपछि लोबेडमा ढल्केको सिंहेसँगै टाँस्सीन आइपुगेको थियो पूर्णे ।

‘पूर्णे, मेरो छोरा !’ उसलाई लपक्क छातीमा टाँसेर बोलेको बाउको अचाक्कली मायाले पूर्णे छक्क परेको थियो । बाउको टाउकोको छेउछाउमा पुग्ने बित्तिकै सासबाट ह्वास्स परिचित गन्ध आएको थियो । यस प्रकारको बाउको गन्धबाट पूर्णे परिचित थियो ।

‘पसलबाट मम्मीले थाहा नपाउने गरी गुट्का किनेर ल्याउने हो ?’ पूर्वाभ्यास सम्झँदै पूर्णेले बाउको कानमा साउती मारेको थियो । ‘हैन हैन, छ मसँग ।’ सिंहेले मसिनै स्वरमा भनेको थियो । तर पूर्णेको टाउको भने मुसारिरहेको थियो । पूर्णे छक्क थियो । ‘के भो आज ड्याडीलाई?’ ‘किन यति धेरै माया गरेको होला ?’बालमनले अरु केही सोचेन र सकेन पनि ।

‘पूर्णे, तँ मेरो प्यारो छोरा होस् नी है ? एउटा कुरा भन्छु, मान्छस् ? सिंहेले भनेको थियो । ‘ड्याडी, आज पनि रक्सी खाइस्सेको हो । कस्तो गन्हायो, अब मम्मीले गाली गर्नु हुन्छ ।’ पूर्णे पनि यस्तो परिस्थितिमा उसकी मम्मी र उसको ड्याडीवीचको संभावित वाकद्वन्द्वसँग संत्रस्त भएको हुनुपर्छ ।

‘छोडिदे न अहिले तेरी मम्मीको कुरा, भन न मेरो कुरा मान्छस् मेरो प्यारो छोरा ?’पूर्णेको गाला, निधार, ओठ र जताततै चुम्मा खाँदै सिंहेले सोधेको थियो । रक्सी गन्हाए पनि बाउको अपत्यारिलो चुम्वन वर्षामा पूर्णे रमाउँदै थियो । ‘मान्छु ड्याडी, म असल छोरा हो नि !’ पूर्णेले पनि फुर्केर भनेको थियो ।

‘पूर्णे, मेरो प्यारो छोरा, तैँले बिहे नगर्नु है ।’

‘अनि ड्याडीले किन गरिस्सेको त ? मम्मीले पनि बिहे गरिस्सेको छ त ?’ बालमन प्रश्नले जेलिँदै अचम्ममा परिरहेको थियो । पूर्णे बाउकै छातीमा टाँसिइरहेको थियो ।

‘हुँदैन के, बिहे गर्नै हुन्न । त्यहाँ ब्ल्याक होल हुन्छ । त्यस ब्ल्याक होलले सबै क्वापल्याक्क पार्छ । हो छोरा हो, साँच्चै हो ब्ल्याक होलले मेरा बाआमा पनि खायो । मेरा हजुरबा हजुरआमा खाने पनि त्यही ब्ल्याक होल हो । तैँले बिहे गरिस् भने तेरो बाआमा पनि त्यही ब्ल्याक होलले खान्छ । केही बाँकी राख्तैन ब्ल्याक होलले ।’

सिंहे छोरालाई छातीमा चेपेर घुँक्कघुँक्क रोइरहेको थियो । आफू सानो छँदा यसरी नै कहिलेकाहीँ बाको छातीमा र धेरैजसो आमासँग टाँस्सिएर सुतेको पनि पूर्वस्मृति भइरह्यो यसबेला उसलाई ।

‘ड्याडी केहो त्यस्तो डरलाग्दो ब्ल्याक होल ? मलाई डर लाग्यो । कसरी खान्छ ब्ल्याक होलले ? अस्ति टिभीमा देखाएको थियो नि, अजिङ्गरले बाख्रा खाएको जस्तै हो ?’ आतङ्कित पूर्णेले सोधेको थियो । ‘हो छोरा, ब्ल्याक होलले सब निलिदिन्छ । बाख्रालाई अजिङ्गरले निलेकै जस्तो हामीलाई केही थाहा हुँदैन, ब्ल्याक होलले निलिसक्छ । मेरो प्यारो छोरा तँलाई कसरी बुझाउँ म ? ब्ल्याकहोलले मेरो संसारै निलिदियो । मेरो प्यारो छोरा !’ छोरालाई जोरले छातीमा टाँसेर सिंहे पुनः रुन थालेको थियो । ‘ड्याडी, हजुर नरोइस्योस् न, म बिहे गर्दिन नि त है ?’

‘के सुतेको होला बेला न कुबेला ? पूर्णे तँ किन सुतेको ? निदाइस् ? अब म पानी खन्याएर उठाउँछु है ? जौँ, भात पाक्यो, खान जाउँ ।’ कोपिलाले दुवैले ओडिराखेको पातलो ब्ल्याङ्केट हटाइदिएकी थिई ।

‘के हो आज पनि गन्हाउने झोल धोकेर आइयो ? उफ यो केटो पनि के यस्तो गन्हाउनेसँग टाँस्सिनु परेको होला ? मेरो त सासै रोक्किएलाजस्तो हुन्छ । उठ..’ पूर्णेलाई पाखुरामा समातेर उचाल्दै गरेकी कोपिलाले देब्रे हातले कुर्ताको फेरले नाक थुनेकी थिई । ‘म त जाडो भएर पो ड्याडीसँग सुतेको, मम्मी, मैले त होमवर्क पनि सप्पै सकेँ नि ।’ ओछ्यानबाट उठ्दै गरेको उसले मम्मीलाई खुसी पार्न भनेको थियो । ‘खुब राम्रो, तर यो जाँडसँग किन टाँस्सिनु पथ्र्यो नि ।’ कोपिलाले लोग्नेलाई औँल्याएर भनेकी थिई ।

‘बढी नबोल है आइमाई, तेरो बाउको कमाई खाएको छैन नि ?’ सिंहेलाई तीनपानेले वास्तविक सिंह बनाउन खोजेको थियो । ‘तिमी पनि बढ्ता कुरा नगर नि, मेरो मरेको बाउ किन बोलाउनु पर्यो । बोलाउनै परे तिम्रै बाउ बोलाउ न ।’ कोपिला पनि चर्केकी थिई । तर सिंहे त्यसपछि बोलेको थिएन ।

खुरुखुरु भात खाएपछि घर बाहिर गएर एउटा चुरोट तानेर केहीबेरमा सिंहे कोठामा पसेको थियो ।

• मध्यरातमा बिउँझेको सिंहेले देख्यो । ब्रम्हाण्डमा ब्ल्याक होल छ । ऊ नजिकै एउटा छ ।

पूर्णे मस्त निद्रामा छ । पूर्णेकै छेउमा कोपिला पनि मस्त निद्रामा छे ।

ब्ल्याक होलले जीवन आक्रान्त छ ।
उसको खुसी ब्ल्याक होलले खोसेको निधो छ ऊसँग ।

अनि ब्ल्याक होलले नै उसलाई खुसी दिएको सत्य पनि छ उसँग ।
त्यसैले ब्ल्याक होल विना जीवन संभव छैन, यो पनि बुझेको छ सिंहेले ।

ब्ल्याक होल चाहिन्छ ? ब्ल्याक होल चाहिँदैन ? उसको मथिंगल हल्लाउने गरी यी प्रश्नमात्र आइरहे, उसको टाउको फुट्लाजस्तो भएर दुख्न थाल्यो । त्यसपछि फेरि ऊ निदाएको थियो ।

• यहाँबाट फेरि अर्को कथा शुरू गर्न सकिन्छ ।

• • •
(कथाकार इन्दिरा प्रसाईका अनुरोधमा २०७६ जेठको ‘मधुपर्क’बाट साभार)


Loading comments...