महाकवि देवकोटा – प्रमुख सन्दर्भ


• लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
• तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए ।
• देवकोटाका सात जना दिदीहरू थिए ।
• देवकोटाले दस वर्ष नपुगी कविता लेखेका थिए । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षकमा उनले कविता लेखे ।
• देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढेका थिए ।
• देवकोटाले १७ वर्षको हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
• देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढेका थिए ।
• देवकोटाले आइएस्सी पढ्दा लेखेको ‘वसन्तषोडसी’ शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो ।
• देवकोटाले प्राइवेट परीक्षार्थीका रुपमा पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
• सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो ।
• देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
• देवकोटा जुवा, तास र पासामा पनि पारङ्गत थिए । उनी रक्सी पनि खान्थे ।
• देवकोटा गीत गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे ।
• देवकोटालाई २००४ सालमा वनारसबाट प्रकाशित हुने “उदय”मा ईश्वर बरालले “महाकवि” लेखेपछि उनलाई महाकवि भन्न र लेख्न थालियो । त्यसभन्दाअघि उनलाई युगकवि भनिन्थ्यो ।
• देवकोटा महाकविमा प्रसिद्ध भएपछि सिद्धिचरण श्रेष्ठले देवकोटासँग “युगकवि”को उपाधि मागेर २०१२ सालमा आफ्नो नाउँअघि युगकवि लेखे; अनि उनी पनि युगकविमा नै चर्चित भए ।
• देवकोटाले लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
• देवकोटाले त्रिचन्द्र कलेजमा प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसर हुने उनी प्रथम नेपाली थिए ।
• देवकोटा गरीव थिएनन् तर अति अव्यवहारिक थिए । हातमा पैसा परेपछि कसरी फुर्मास् गर्ने भन्ने सोचमा उनी केन्द्रित हुन्थे । अनि जताबाट भए पनि उनी पैसा मास्नेतिरै उन्मुख हुन्थे र भोलिपल्टदेखि भोकै पनि सुत्थे ।
• देवकोटाले पैसा जोहो नगर्ने मुख्य कारण के पनि थियो भने मनदेवीले धर्मका नाउँमा पैसा उडाउन थालेपछि देवकोटाले पनि घरमा पैसा ल्याउन मन गर्दैन थिए ।
• देवकोटालाई १९९५ साल पुस २० गतेदेखि १५५ दिन राँचीको पागल खानामा राखिएको थियो ।
• पागल खानाको उपचारका क्रममा देवकोटालाई डा.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मनु भौगोलिक गल्ती हो ।’
• देवकोटाले २०१० सालमा रूमानिया जाँदा सिरक, डस्ना र सिरानी नेपालबाटै लगेका थिए । उनी जहाजबाट ओर्लेपछि आफ्नो बेडिङ आफै बोकेर हिड्थे । त्यतिबेलाको त्यो दृश्य धेरैलाई रमिता भएको थियो ।
• देवकोटा २०१० सालमा चीन गए । त्यसबेला अध्यक्ष माओ त्सेतुङसँग उनले हात मिलाएका थिए ।
• देवकोटाले चीनबाट फर्केपछि चीन र माओको धेरै व्याख्या गरे । त्यसबारे उनले दुईटा कविता पनि लेखे । त्यसपछि उनलाई कम्युनिष्टको आरोप लगाएर काङ्ग्रेसले धेरै दुक्ख दिन थाले । तर उनलाई राजा महेन्द्र र गणेशमान सिंहले काखी चेपेका थिए ।
• गणेशमान सिहंले देवकोटाको खुट्टा नै ढोग्थे ।
• देवकोटा भारतका तीन महान कवि प्रसाद, पन्त र निराला बराबरी एउटै सिङ्गो कवि थिए भनेर भारतका महापण्डित राहुल साङ्कृत्यानले लेखेका थिए ।
• देवकोटाले महापण्डित राहुल साङ्कृत्यानकै कारणले ‘पागल’ लेखे र त्यस कविताको प्रथम पाठक जनकलाल शर्मा थिए । पागल कविता वाचनकै क्रममा देवकोटाले जनकलाल शर्मालाई झन्नै कुटेका थिए ।
• देवकोटालाई पागल सम्झेर मदन पुरस्कार (त्यस पुरस्कारलाई म बक्सिस् भन्छु) दिइएन । खास कुरा के थियो भने रानी जगदम्बाले देवकोटालाई पुरस्कारका साथै थप नगद र जिन्सी दिन्छिन् भन्ने डरले उनलाई जगदम्बाको आँखाबाट ओझेल पारिएको थियो ।
• देवकोटा अति नै लोकप्रिय भएपछि मदन पुरस्कार गुठीका अध्यक्ष (रानी जगदम्बाका तत्कालीन निजीसचिव) कमल दीक्षितले देवकोटाको स्तुति गरेर २०६६ सालमा “गुरूभेटी” भन्ने किताप लेखे- “२००४ सालमा वनारसमा देवकोटाले भिख माग्दा मैले पनि एक रूपियाँ चन्दा दिएको थिएँ” भन्ने उक्त कितापको मुल मन्त्र देखियो । त्यसै सन्दर्भमा मैले (नरेन्द्रराज प्रसाईले) त्यस बेहोराको कठोर आलोचना गरेर दीक्षितकै सम्पादनमा मदन पुरस्कार गुठीबाट प्रकाशित “नेपाली” त्रैमासिक २०६६ सालमा एउटा लेख छपाएको थिएँ ।
• देवकोटाबारे कमल दीक्षितको “गुरूभेटी” काण्डको लिङ्क प्रस्तुत छ; http://hknepal.com/wp/?p=11914
• देवकोटाले आदिकवि भानुभक्त आचार्यलाई सर्वोत्कृष्ट कवि मान्थे ।
• देवकोटाले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समलाई धेरै सम्मान गर्थे । उनी पौड्यालको त खुट्टै ढोग्थे ।
• देवकोटाका गणेश पं.श्यामदास वैष्णव थिए । देवकोटा भन्थे वैष्णव कविता लेख्तै जान्थे । देवकोटाले तलव थाप्ने दिन पैसाको थैलो बोक्न पनि वैष्णव उनी सँगसँगै जान्थे । त्यस बेला कागजको नोट हुँदैनथ्यो धातुको सिक्का हुन्थ्यो ।
• देवकोटा आफ्नो निर्णयमा हिड्दैन थिए; जसले जे भन्यो उनी त्यसकै पछि लाग्थे ।
• देवकोटालाई २००४ साल साउन ३ गते आफ्ना दास्तावेज लेखाउन काङ्ग्रेसले अनेक प्रलोभन देखाएर बनारस पुर्याएका थिए । भोकभोकै बस्न थालेपछि उनी काङ्ग्रेसलाई सराप्तै नेपाल आए ।
• देवकोटा २००९ साल वैशाख १ गते राजा त्रिभुवनबाट सांसद भए । त्यसपछि पनि राजा महेन्द्रले उनलाई माननीय सांसदमा मनोनीत गरेका थिए ।
• देवकोटा साइकलमा हिंड्थे ।
• २०१३ सालमा भारतमा सम्पन्न अफ्रोएशियाली लेखक सम्मेलनमा भाग लिने देवकोटा पहिलो नेपाली थिए । त्यसबेला उनको केहीले अपमान गरे तापनि सबैभन्दा धेरै मान उनैको गरिएको थियो । “धर्मयुग”जस्तो सुप्रसिद्ध र विशिष्ट हिन्दी पत्रिकाले समेत देवकोटाको फोटो आवरणमा राखेर जय मनाएको थियो ।
• २०१५ सालमा अफ्रोएशियाली सम्मेलन सोभियतसङ्घको तासकन्दमा भएको थियो र त्यहाँ जाने पनि देवकोटा पहिलो नेपाली थिए । त्यसबेला उनको भाषण संसार प्रसिद्ध भयो । देवकोटापछि अफ्रोएशियाली सम्मेलमा भाग लिने प्रथम नारी स्रष्टा डा.वानीरा गिरी थिइन् ।
• देवकोटाले नै नेपाली भाषालाई सर्वप्रथम अङ्ग्रेजी साहित्यका माध्यमले अन्तर्राष्ट्रिय जगतमा पुर्याएका थिए । उनी नेपाली, अङ्ग्रेजी, नेवारी लगायत चौध भाषा बुझ्थे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदामा छापिएको थियो ।
• डा.केआई सिंहको प्रधानमन्त्रित्वमा देवकोटा शिक्षा मन्त्री भए । केआई सिंहले धर्मराज थापालाई मन्त्रीमा सिफारिस गरेका थिए तर राजा महेन्द्रले देवकोटाको नाउँ मन्त्रीमा घोषणा गरे ।
• देवकोटा २०१४ साल साउन ११ गतेदेखि ११० दिनसम्म मन्त्री भएका थिए । त्यसैबेला नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा हिन्दी भाषा झिकेर नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाएका थिए ।
• देवकोटाले मन्त्री भएका बेला उनका समकक्षी मन्त्री जनरल भूपालमानसिंह कार्कीको समेत साथ पाएर त्रिभुवन विश्वविद्यालयका लागि कीर्तिपुरमा पाँच हजार रोपनी जग्गा अधिकरण गरेका थिए ।
• देवकोटा मन्त्री भएका दिन उनलाई निवासबाट मन्त्रालय पुर्याउने काम सत्यमोहन जोशीले गरेका थिए ।
• देवकोटाको समेत सल्लाहमा राजा महेन्द्रले २०१४ सालमा रोयल नेपाल एकेडेमी (नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान) को स्थापना गरेका थिए ।
• देवकोटा केटी प्रिय थिए । उनले केहीसँग मन जोडे र केहीसँग तन पनि जोडे । उनले सोभियत रूस, भारतको पटना र दार्जिलिङ अनि काठमाडौंका केही केटीसँग माया साटासाट गरेका थिए ।
• देवकोटाले एक पटक देवकुमारी सिन्हालाई मन पराएका थिए । त्यसैले उनी सिन्हा (पछि थापा)लाई भेट्न घरिघरी दार्जिलिङ पुग्थे ।
• देवकोटाले कृष्णप्रसाद भट्टराई नेपालको नागरिक नै होइनन् भारतीय नागरिक हुन् भनेर मुद्धा हालेका थिए ।
• देवकोटा क्यान्सर पीडित हुँदा राजा महेन्द्रले आर्थिक सहयोग गरेका थिए ।
• भारतीय दूतावासका साँस्कृतिक सहचारी कवि शिवमङ्गल सिंह सुमनले कोलकातामा देवकोटाको उपचारका लागि खुबै सहयोग गरेका थिए ।
• देवकोटाका ८४ वटा किताप छापिए; उनका ४५ किताप छाप्न अझै बाँकी छन् ।
• देवकोटाले ‘मुनामदन’ खण्डकाव्य ८ घन्टामा लेखेका थिए ।
• देवकोटाले १० दिनमा “सुलोचना” महाकाव्य लेखे । उनले भने “सुलोचना” लेख्न मलाई ६० घन्टा लागेको थियो ।
• देवकोटाले खण्डकाव्य र काव्य ३६ वटा, महाकाव्य ६ वटा, कवितासङ्ग्रह २१ वटा र नाटक, निबन्ध प्रबन्ध, कथा, उपन्यास, समालोचना आदि लेखे । साथै उनले केही किताप अनुवाद पनि गरे ।
• देवकोटा एउटा खसीको टाउको खाएर एकै रातमा एउटा खण्डकाव्य लेख्न सक्थे ।
• देवकोटाकै स्नेहले सोभियत रूसकी डा.आगानीनाले महाविद्यावारिधि गरेकी थिइँन् ।
• देवकोटा र आगानीना एकअर्कालाई स्नेह गर्थे । उनी सुरूसुरूमा आगानीनाको तस्विर खल्तीमा बोकेर पनि हिंडे ।
• देवकोटाले ‘उद्धेश्य के लिनु ? उडी छुनु चन्द्र एक’ लेखे । त्यो लेख्ता धेरैले देवकोटा पागलै हुन् भनेका थिए; तर उनी स्वर्गीय हुनु पाँच घण्टाअघि उनकी प्रिय स्रष्टा डा.आगानीनाकै देश अर्थात् रूसको यानले चन्द्रमामा खुट्टा टेकेको थियो ।
• देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजे र १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।

★★★★
१) देवकोटाबारे यी आदि ४०० पृष्ठको “देवकोटाको जीवनशैली” मेरो १८ वर्षको तपस्या थियो ।

२) “देवकोटाको जीवनशैली” (२०६६) तेस्रो संस्करण पनि बजारमा सकिनेक्रममा छ रे; अब चौथो संस्करण ल्याउन प्रयासरत छु ।

३) “देवकोटाको जीवनशैली” पाउने प्रमुख ठाउँ : १. एजुकेशनल बुक हाउस, जमल; २. भृकुटी पुस्तक पसल, प्लाजा; ३. एकता बुक्स, थापाथली ।

४) “देवकोटा शताब्दी महोत्सव”का अवसरमा आयोजित देवकोटा विषयक चित्रकला प्रतियोगितामा प्रसिद्ध चित्रकार राजन काफ्लेबाट निर्मित प्रस्तुत महाकवि देवकोटाको चित्र (फोटो) समेत सर्वोत्कृष्ट घोषित भएको थियो ।

५) २०५७ सालमा “पारिजातको जीवनकथा” नाउँको जीवनी कृति पनि झन्नै “देवकोटाको जीवनशैली”कै स्वरूपमा मैले लेखेको थिएँ । किताप छापिएपछि नाउँ र छद्मनाउँबाट मैले धेरै गाली खाएको थिएँ । वास्तवमा त्यस बेलाको त्यो साहित्यिक युद्ध मैदानमा आगै बलेको थियो । तर ईश्वरवल्लभ, गोविन्द भट्ट, मोदनाथ प्रश्रित, कमल दीक्षित, नरहरि आचार्य, प्रदीप नेपाल, खगेन्द्र सङ्ग्रौला आदिले मेरो लेखनबारे वकालत गरिदिए र मलाई अघि हिंड्न सहज भएको थियो ।

® मैले लेखेका ७७ वटा कृतिमध्ये जीवनी कृति मात्र २८ वटा प्रकाशित भैसकेका छन् ।

मैले लेखेका कृतिहरूको सूची हेर्नका लागि www.nai.com.np मा गएर “नइको चिनारी” क्लिक गर्नुहोस् ।

© नरेन्द्रराज प्रसाई