वानीरा गिरी को हुन् ?


डा.वानीरा गिरी भन्नु “नेपाली साहित्यका विश्व नारी रत्न” हुन् । आधा आकाश ओगटेको जनसङ्ख्याको कुरा भन्नुपर्दा वानीरा गिरी नेपाली भाषासाहित्यको एउटा सिङ्गो अस्तित्व हुन्, एउटा सिङ्गो स्वाभिमान हुन् र झन्नै एउटा सिङ्गो शिर हुन् । वानीरा गिरी फेरि दोहोर्‍याएर पाउन नेपालले चिरकाल प्रतीक्षा गर्नुपर्ने पनि हुन्छ ।

वानीरा गिरीका बुबाले सौतेनी आमाको खप्की खप्न नसकेर आफ्नो मातृभूमिलाई चटक्कै छोड्नुपरेको थियो । भनौं, इन्द्रराज गिरीले प्रवासमै कर्म गरेर त्यतै जीवन तुरेका थिए । आफ्नो पितृभूमि र मातृभूमि पछ्याएर वानीरा गिरी फेरि नेपालकै धुलो टेक्न आइपुगिन् । अनि यसै माटोले उनलाई नेपाली साहित्यमा दिग्विजय नै गराइदियो ।

लेखकः नरेन्द्रराज प्रसाई

नेपाली भाषासाहित्यका नारीचुली वानीरा गिरीको रचनामा कुनै राजनीतिक सिद्धान्तको रङ देखिँदैन । उनी कुनै राजनीतिक दलको पछौटे पनि बनिनन् । उनले निस्वार्थ रूपमा नेपाली भाषाकै सेवा गरिन् । नेपाली साहित्यलाई सम्मानका साथ मुलुकबाहिर पुर्‍याउन उनले जीवनभर साधना, आराधनामात्र गरिनन्; तपस्या नै गरिन् । तापनि उनलाई अन्धो राष्ट्रवादको मुखौटोधारी खेमाले उताकी अर्थात् भारतबाट हाम्रो भाग खान आइपुगेकी भनेर लखेट्न पनि छोडेनन् । उनले यस्ता कटुवचनलाई टेक्तै हिँडिन् र अन्ततः उनी नेपाली साहित्यका विश्व नारी रत्नमा नै दरिइन् ।

नेपाली भाषासाहित्यमा आफूहरूलाई ठेकेदार ठान्ने प्रचलन पनि नेपालको एउटा महारोग नै भएको छ । नेपाली भाषाका नाउँमा राइँदाइँ गर्ने ती नायक, नायिकाहरूको अपाच्य कर्तुतका दृश्य यहाँ प्रकाशित नभएका पनि होइनन् । स्वनामधन्य छद्मभेषीहरूको रेशमी पर्दा आफ्ना कर्मद्वारा च्यातेर त्यहीँनेर अलग्गै र सग्लो स्वपहिचान प्रस्तुत गर्ने वानीरा गिरीहरू नेपाली साहित्यका स्वाभिमानी शिर मानिएका छन् । समर्पित स्रष्टाहरूको प्रोत्साहनमा बिर्को लगाउन चाहनेहरूका माझबाट आफ्नो शिरलाई नभाँची वानीराहरूले आफ्नो सग्लो परिचय देशदेशान्तरमा दिएका छन् । वानीराले नेपाली स्रष्टाको स्वाभिमानी शिरको प्रतीक अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पुर्‍याएकी छिन् ।

नेपाली भाषाको सेवा गर्छु भनेर ठेकदारी लिनेहरूले जसरी कविशिरोमणि लेखनाथ पौडयाललाई आशैआशमा हिरिक्कहिरिक्क पारेर तड्पाइएको थियो, जसरी नाट्यसम्राट् बालकृष्ण समलाई आश्वासनको दियो बालेर आफूहरूप्रति प्रज्वलित पार्दै समका भागमा अन्धकार पार्ने प्रयास गरिएको थियो र त्यसरी नै महाकवि लक्ष्मीप्रसाद देवकोटालाई आफ्नै घरको परिसरमा आइपुगेको बेला पनि पानीसमेत खान नदिएर होच्याइन्थ्यो र महाकविको जीवनकालभरि नै पागलकै व्यवहारसमेत गरिएको थियो । वानीरा गिरी स्वयम्ले पनि त्यस्ताखाले डरलाग्दा खप्की र हैकम सुनेकी, देखेकी र भोगेकी पनि थिइन् ।

वानीरा गिरी प्रवृत्तलाई जरैबाट उखेलेर मास्ने परम्परा पनि नेपालमा नौलो मानिएन । एकातिर वानीराको किल्किले समाउने र अर्कातिर वानीराको घुँडामुनि नुहाइधुवाइ गर्ने तिनै तत्त्वहरू घरिघरि हामीले देख्तै आउँनुपर्‍यो । वानीरालाई व्यङग्य हान्न खोज्दा आफै जोकर भएकाहरूको रोगबाट वानीरा सदैव अलग रहँदै आइन् । वास्तवमा राणाको चिहान खोस्रेर, उधिनेर र खोतलेर ल्याइएको सिनो ढुक्ने काम वानीरा गिरीबाट पनि कहिल्यै भएन ।

वानीरा गिरीको आफ्नो अस्तित्वमा जतिसुकै स्यालका लस्करहरूबाट बाटो छेक्न खोजिए तापनि उनी कहिल्यै छेकिइनन्, उनका अघिल्तिर जतिसुकै कुकुर भुकाए तापनि उनले आफ्नो बाटो छोडिनन् र उनीप्रति जस्तै मुर्कुट्टाद्वारा आक्रमण गराए तापनि वानीरा कहिल्यै तर्सिइनन् । बरु उनले आफ्नो बुताले ती सबैलाई आफू पछिपछि हिँड्ने जुलुस बनाइरहिन् । अनि हिजो वानीराका विपरीतध्रुवी जुलुसको नेतृत्व गरेर हिँड्ने व्यक्ति पनि आजै आफ्ना छातीमा हात राखेर ‘आकाशमा थुके आफ्नै मुखमा छिटा’ भन्ने वाक्य मनमनै वक्न बाध्य भएका देखिन्छन् ।

नेपालको वर्तमान भागबण्डाको राजनीतिक व्यवस्थाले गर्दा कैयौं वानीरा प्रवृत्त लेखकहरू आफल्न खोजिएका पनि छन् । दलगत स्वार्थले गर्दा साहित्यमा होचाहोचा कदका मान्छेहरूलाई तान्ने क्रेन राखिएको छ र त्यसैले तानेर माथिमाथि पुर्‍याउने चलन भएको छ । तर जति जे गरे पनि साहित्यमा सधैभरि क्रेन संस्कृतिको बोलबाला रहन सक्दैन । युगले अर्काको बुई चढेर अग्लिएका पुड्काहरूको सालिक निर्माण गर्दैन । भोलिको इतिहासले कर्मद्वारा अग्लिएका सर्जकको मात्र सालिक निर्माण गर्छ । अथवा कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा अनि प्रेमराजेश्वरी, गोमा र पारिजातका सालिक निर्माण भइरहने छन् । यिनीहरूलाई कसैले तिरस्कार गरेकै थिए भने पनि अब केही अर्थ रहेन । उनीहरूको नश्वर देह माटोमा विलिन भएको वर्षौं हुँदा पनि यी दिग्जीवन्त हुँदै नेपाली धरामा अजरअमर भएर रहेका छन् । अनि त्यही कोटिमा शिर ठाडो पारेर ठिङ्ग उभिने अर्की नारीचुली हुनुको गर्व हामीले भोग्न पाएका छौं, जसलाई विश्व समुदायका नेपाली भाषीले सगर्व नेपाली साहित्यको विश्व नारी रत्न वानीरा गिरी सम्बोधन गरेका छन् ।

ईश्वरवल्लभले मलाई भनेका थिए- ‘वानीरा यस युगकी नारीस्रष्टाकी शिखर चेतनाबिन्दु हुन् ।’ साथै इन्दिरा प्रसाईले पनि वानीरालाई हाम्रो गौरवी भन्न छाडिनन् । एकदिन उषा शेरचनले मलाई भनेकी थिइन्- ‘वानीरा गिरी एउटा हाडेओखर हुन् । उनी बाहिर हाड र भित्र मीठो गुदी हुन् ।’ साँच्चै हो वानीरा गिरीे उच्चस्तरीय सृजनात्मक गुदीकी नायिका हुन् ।

वानीरा गिरी सधैं स्वाभिमानको लडाइँमा जुझारु योद्धाका रूपमा युद्धरत भइरहिन् । उनी सधैं अस्मिताको सङ्घर्षमा समर्पित भइरहिन् । अनि उनी सधैं योग्यताको जुधाइमा अहोरात्र लम्किरहिन् । त्यसैले उनी नेपाली गौरव पोखिने धर्ती र आकाशमा स्वाभिमानको सग्लो प्रतीकका रूपमा उभिइरहिन् । उनको त्यो ठाडो शिरले २९००२ फूटको उँचाइलाई कहिल्यै घटाएन अथवा भनौं सगरमाथाको टुप्पोमा उनको शिरले पनि समानन्तर उँचाइ राखिरह्यो । तिनै हुन्- नेपाली साहित्यकी नारीचुली ! तिनै हुन्- विश्व नारी रत्न ! अनि तिनै हुन्- वानीरा गिरी ! यी सबैलाई एकमुष्ट भन्नुपर्दा तिनै हुन्- ‘नेपाली साहित्यका विश्व नारी रत्न अर्थात् डा.वानीरा गिरी’ ।

© नरेन्द्रराज प्रसाई


Loading comments...