Knitting

हिँउदमा हराएका स्वीटर बुनाईहरु


स्वेटर या स्वीटर जेसुकै भनेपनि हिँउदमा सहज न्यानो दिने कपडाहरु मध्य स्वीटर एक पुरानो सहयात्रि हो । हामी कमैले मात्र हातले बुनेको स्विटर नलगाएका होलाउ। हातले बुनिएका स्वीटरहरु क्रमबद्ध रुपमा एकएक घार गरि बुनिएका हुन्छन्, दिनानुदिन घारघार बढाएर अनि कुरुसमा हात चलाएर गृहणीहरुले बुनेको स्वीटर नै केही दशक अघिसम्म नेपाली सडक, कार्यालय अनि सदनसम्मको शान थियो ।

२ दशक मात्र पनि अगाडी जाने हो भने पनि आज जस्तै सरल अनि सुलभ फ्लीश अनि डाउनका ज्याकेटरु कहाँ पाइन्थ्यो र ? हातले बुनिएका स्वीटरहरु लगभग हरेक दराज अनि घरका गहनाहरु थिए । बेलायती साम्राज्यका बिभिन्न ससाना टापुहरुमा मजदुर अनि माझीहरुका पत्नीरुले पतिका लागि स्वीटर बुन्न थालेका इतिहास १८ औं शताब्दीको मध्यवाटै पाइन्छ अनि क्रमश त्यही नवप्रवतनात्मक कपडा अझ भनौं जर्सीलाई स्वीटरको नाम दिएर अमेरिका अनि यूरोपका जाडोहरुमा प्रयोग गर्न थालियो । हुन त ऊनका बुनाईहरु ईशापूर्व ३००० बर्षदेखि नै प्रचलन मा छ है तर आज स्वीटरको नै उत्खनन गर्न चाहन्छौं । जाडोका न्याना कपडाहरु घरघरमै तयार हुन्थे, बुनिएका स्वीटर पञ्जा, टोपीहरुले जाडो थेग्दथे अनि माया बढाउथे ।

सन् १८८१ मा माझीहरुले स्वीटरलाई अनौपचारीक तर समान पहिरनका रुपमा आत्मसाथ गरेका थिए । स्मरण रहोस् नेपाली हिँउदमा पनि के गाँउ ? के शहर अनि के धनी के गरिब? स्वीटर एउटा यस्तो जाडोको सहयात्रि हो जसले लाज अनि काज दुबैको हिँउदमा रख्खे गरेको थियो ।

राजाहरुका अनौपचारीक तस्वीर अनि राजनेताका संग्रहीत तस्वीरहरु हेर्दा पनि स्वीटरको प्रयोग गरेको पाइन्छ, नेपालमा । ऊन किनेर ल्याउने अनि कुरुसको प्रयोग गरेर दुई तर्फवाट सीपयूक्त हातले ऊनलाई गाँस्दै ल्याउने, एउटा स्वीटर बुन्न कम्तिमा पनि १५ दिन लाग्ने गर्दथ्यो ।

टुडिखेल देखि टंगालसम्म, बजारदेखि बिहारसम्म अनि मेचीदेखि महाकालीसम्म घरघरका झ्यालमा घाम छिर्न थालेदेखि ओझेल नपरुन्जेलसम्म गृहणीहरु कुरुस लिएर स्वीटर लगाएत अन्य कुराहरु बुन्ने गर्दथे ।
धेरै गीतहरुमा स्वीटर, बुनाई, कुरुस अनि माया जोडिएको पाइन्छ । भारतीय लेखक अनि गीतकार गुलजारको एउटा सानो शायरी गिराहे यहाँ उल्लेख गर्न चाह्यौं
ए बुन्ने मान्छे
तिमीले कति सजिलै यी धागाहरु बुनेर एउटा सिंगो कपडा बनाउन सक्दछौ ? मलाई पनि सिकाई देउ न ?
मैले पनि एकफेर एउटा समबन्ध बुन्ने अनि जोड्ने प्रयास नगरेको हैन
धागोहरुको जोडघटाउमा मैले बुन्न जानिन
ए बुन्ने मान्छे
तिमीले कति सजिलै यी धागाहरु बुनेर एउटा सिंगो कपडा बनाउन सक्दछौ ? मलाई पनि सिकाई देउ न ?

यस्तै लगभग डेढ दशक अघि निस्केको नेपाली पप गीत उद्धृत गर्न चाह्यौं
शिरको टोपी शिरैमा
ढल्की हिड्ने पीरैमा

यसमा पनि एउटा लाइन छ
झ्यालको पर्दा खोलन
स्वीटर बुन्न बसन

यो गीतले पनि स्वीटर अनि झ्यालको पर्दालाई जोडेर एउटा इतिहास बर्णन गरेको छ ।
आज त शायद ति बुन्ने गरेका हातहरु पनि थाकिसके र कुरुसहरु पनि थन्क्याएको धेरै बर्ष भइसके होला ।
या त अब सहज ज्याकेट अनि फ्याक्ट्रीमा बनेका स्वीटरहरुको उपलव्धताले ति कुरुसहरुलाई संग्राहलयमा राख्ने अनि बर्णन गर्न मात्र लायक बनायो होला तर स्वीटरको संझना त अझै ताजा भएका पुस्ताहरु नेपालमा अझै छ ।

स्वीटर बुनेरै मात्रै पनि जिवीकोपार्जन गरेका दिदीबहिनीहरु देखि स्वीटर बुनेर मायालुलाई उपहार दिएका सम्म पनि उदहारणहरु छन् । भी नेक स्वीटर अनि गोलो स्वीटर सम्म, हाफ स्वीटर अनि बाहुला ठिक्क भएका स्वीटरहरु ।
स्वीटर बुनाई यस्तो अपरिहार्य सीप थियो ति बेला, अझै पनि दशकौं पुराना स्वीटरहरु दराज अनि बाकसमा हरेक घरघरमा पक्कै छन् र हुन पर्दछ ।

अहिलेपनि नेपाली पसलहरुमा हाते बुनेका भनेर बिभिन्न स्वीटरहरु बिक्रीमा छन्, नभएका हैनन । तर त्यो मायालु कुरुसहरुले बुन्नुपर्ने मान्छेको नाप लिएरै बुनेको स्वीटर जस्तो कहाँ पाउनु ?

बुन्न दिएको स्वीटर कहिलेसम्म तयार हुन्छ भनेर चासो लाग्नेहरु बुन्न दिएका हरुमा गएर बुझ्ने गर्दथे ।
आज गलासम्म भ्याइयो, पर्सिसम्म दुबै बाहुलाहरु सकिन्छ आदि उत्तरहरु आँउथे होलान् । सुस्तरि मान्छेहरुमा समय कम हुँदै गयो अनि मानव श्रम व्यबसाहीक हुँदै गएपछि कुरुसहरु थन्किए, आजका ज्याकेटहरुले न्यानो त दिन्छन तर स्वीटरमा न्यानो अनि माया दुबै हुनेगर्दथियो । शायद धेरै पतिहरुको शान अनि अव्यक्त प्रतिस्पर्धा पत्नीले बनाएका स्वीटर अनि त्यसको बुनाई गुणस्तरमा हुन्थे होलान् ? स्वीटरमा कुंएत्रो लागेर च्यातिदा कति मनहरु पनि च्यातियो होलान् ? स्वीटर केवल कपडामात्र थिएन एउटा संझना पनि थियो ।
कसैले छाडेर गएपछि उनले बुनेका या दिएका स्वीटर समातेर हरेक घारहरुमा भएका माया नियाल्दै धेरै रोएका छैनन भन्न सकिन्न ।
ति स्वीटरहरुले हिँउदको सभ्यता, आत्मनिर्भरता, राष्ट्रिय शान अनि मायाको वर्णन गरेका छन्, हिँउदमा स्वीटर बुनाईहरु अब सदैब मिस हुनेभए ।


Loading comments...