Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

लघुकथा : माया !

१२ असार २०७६, बिहीबार २१:३१

“आहा, कति राम्री देखिएकी !” – फकाउने शैलीमा भने श्रीमान जीले ।

“हो र ?” – लजाए झैँ मैले पनि जबाफ फर्काएँ, जबाफ फर्काउने मन भने थिएन ।

दिनभरिको काम, थकान र अझ मलाई अफिसबाट लिफ्ट नदिएको रिस पनि मरेको थिएन । आफुलाई उति सन्चो नभएर लिफ्ट मागेको त “ मेरो साथीहरूसँग भेटघाट छ, म भ्याउँदिन, बसमा जानु है” भनेर पन्छिए उनी । लोग्ने मान्छेहरू सहजै कसरी पन्छिन सकेका !

बस पनि काठमाण्डौको जात्रै छ । ठेल मठेल, धकेल पकेल, अझ महिलाहरू त बस चढेर झर्नु भनेको ठूलै युद्ध जीते झैँ पो हुन्छ । घर आउँदा आफू सग्लै आई पुगे जस्तो पनि लाग्दैन, आफ्नो भारी जिउँ घस्रिएर आए जस्तो !

घर आउ, खाना पकाउ, छोरा छोरीको इच्छा पुरा गर, खाना खुवाउ, अनि भाँडा माझेर बिस्तरा तताउन जाउ – दैनिकी लगभग यस्तै हुन्छ । फेरि सकि नसकि हाँसिरहनु भने बिर्सनु हुँदैन । नत्र सबै आफूसँग रिसाएर अर्को जात्रा ! हरे, यो यान्त्रिक जिन्दगी !

“के छ प्रिय?” राता आँखा पुर्लुक्क पार्दै मतिर हेरे उनले । ह्वास्स रक्सीको गन्ध मुख भित्रै पस्यो, झण्डै बान्ता नभएको ।

“के हुनु” छोटो जबाफ फर्काएँ ।

दिनभरि उनी कति व्यस्त भए, भ्याई नभ्याई भएको , मलाई अफिसबाट “पिक अप” गर्न नभ्याएको सबै बेलि बिस्तार लाए । मेरो दुख सबै बुझेको, स्थिति अब सुध्रँदै जाने घोषणा गर्दै थुप्रै मायाका कुरा गर्न भ्याए ।

मेरो कपाल मुसारे, गाला सुमसुम्याए – म थकाईले निस्लोट निःशब्द उनलाई हेरिरहें । म भित्र कुनै शक्ति या उत्साह बाँचेको थिएन, सुत्न चाहन्थें । उनका औँलाहरू चलिरहे मेरो थकित जिउँमा । कुनै असर थिएन ती औँलाहरूको ।

“प्रिय! मेरो जीवन ! म तिमीलाई धेरै माया गर्छु” – सुस्त मेरो कानमा फुस्फुसाए उनी । म भावविहिन उनको अङ्गालोमा बाँधिई रहेँ । नाटक गर्ने पनि जाँगर थिएन ममा । आँखा चिम्लिएर बस् म उनको भएँ उनी शान्त नभएसम्म । मायाको तातोले भने पोलिरहेको थियो ।

मुक्ति गौतम
असार ०९, २०७६
टिमिन्स, क्यानडा

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या