मेरी भाउजू : भागीरथा प्रसाई


हाम्रा घरमा नौमती बाजा बजेको बेला म तीन वर्षको थिएँ । त्यस बेला मेरा दाजु विष्णुभक्त प्रसाई २० वर्ष र मेरी भाउजू भागीरथा प्रसाईको उमेर १५ वर्षको थियो ।

तेह्रथुमका जयनारायण सुवेदी समाजसेवी थिए । अनि ताप्लेजुङका जयप्रसाद प्रसाई पनि समाजसेवा, शिक्षासेवा र गीतसङ्गीतमा प्रसिद्ध थिए । त्यही उपक्रम जोडिन पुग्दा मेरा जेठा दाजुले मेरी भाउजूलाई डोली चढाएर सङ्गीतमय नौमती बाजागाजाका साथ जिजु हाउस प्रवेश गराएका थिए ।

बिहेअघिदेखि नै हाम्रो घर या भनौं जिजु हाउसमा तामझाम थियो । कोठेबारीभरि सुन्तोला लटरम्म फलेका थिए । अघिल्ला वर्षहरूमा खाने मान्छे नभएर सुन्तला बोटैमा कुहिन्थे र झरेका हुन्थे । बिहे ताक हाम्रा बारीका सुन्तोला आउनेजानेहरूले पनि खाएका थिए । तर १०-१२ बोटमा फलेका सुन्तला मान्छेले खाएर कति नै पो सकिन्थ्यो होला र ?

ठूल्दाजुको बिहेको दुई महिनाअघिदेखि हाम्रा घरको वरिपरि म मान्छे नै मान्छे मात्र देख्थें । बिहेका दिन त हाम्रा घरमा कति हो कति मान्छे थिए । मेरो बाल्यकालमा मैले त्यति धेरै मान्छे देखेको त्यो पहिलो चोटि थियो । त्योभन्दाअघि मैले त्यतिका मान्छे कहिले देखेको पनि थिएन ।

मेरा दाजु भाउजूको बिहे २०१५ साल माघ १२ गते भएको थियो । बरियाँत आउनुअघि हाम्रो आँगनमा पराल ओछ्याइको थियो । हामी मसिना केटाकेटी त्यहीं लडिबुडी खेल्थ्यौं । साँझ पख बेहुली भित्र्याइकाले हाम्रो घरमा मइन्टोल बालेर झिलिमिली पारिएको थियो ।

दाजुको बिहे भएपछिको अर्को महिना मेरा दाजु भाउजू सक्रान्ति बजारतिर लागे । त्यतैतिर उनीहरूले आफ्नो उद्योगधन्दा चलाए । त्यतिबेला सक्रान्ति बजारमा मेरा दाजु भाउजूको त्यहाँभरिको अर्को ठूलो किराना पसल थियो भने ठूल्दाजुले फोटो स्टुडियो पनि खोलेका थिए । धनी महाजनका छोरा भएका कारण पनि मेरा दाजुले चलाउने क्यामरा “एशिका डी” थियो । त्यतिबेला जो कोहीले त्यस्तो क्यामरा चलाउँदैन थिए ।

२०१६ सालको कुरा हो; आठराईको सक्रान्तिमा सर्वप्रथम कम्युनिष्ट पार्टीको झन्डा फरफराएको थियो । अनि त्यो झन्डा गाड्ने नेता मेरै ठूल्दाजु विष्णुभक्त प्रसाई थिए । प्रा.डा. वल्लभमणि दाहालको सक्रिय सहयोगमा मेरा दाजुले त्यो झन्डा आफ्नै निवासमा गाडेका थिए । त्यति खेर मेरा दाजुका उल्लेखनीय सहयोगीहरू सी.एम. कन्दङ्वा र विशालकुमार लिम्बू पनि थिए । बिहे गरेको वर्षदिन पनि नपुग्दै आफ्ना पति राजनीतिमा प्रखर भएको मेरी भाउजूले प्रत्यक्ष देखेकी थिइन् । तर उनलाई राजनीति मन पर्दैन थियो । यतिहुँदा हुँदै पनि धेरै नन्दकुमार प्रसाईहरूलाई मेरी भाउजूले संरक्षण दिइसकेकी थिइन् । किनभने उनीहरू मेरा दाजुका कार्यकर्ता भैसकेका थिए । २०१७ साल पुस १ गते कम्युनिष्ट पार्टीको त्यो झन्डा पुलिसले उखालेर लगेका थिए ।

मेरा दाजु भाउजू सक्रान्ति बजारमा बस्न थालेपछि मलाई पनि उनीहरूले आफैसँगै राख्न थाले । जब मैले पाँच वर्ष टेकें त्यसपछि म घरी हाङपाङ हुन्थें र घरी सक्रान्ति बजारमा हुन्थें । यसको प्रमुख कारण के थियो भने मेरी भाउजूले मलाई अपार माया गर्थिन् ।

मेरी आमा र मेरी भाउजूको नाउँ एउटै थियो । अनि मेरी भाउजूले पनि मलाई आमाको जस्तैजस्तै माया पनि गर्थिन् । साथै काम बिगार्दा आमाको जस्तै भाउजूको पनि थप्पड खाएको मैले अझै बिर्सेको छैन । ती हातमा भएको शक्ति पनि मभित्र प्रवेश गरेको अहिले म अनुभूत गर्ने गर्छु ।

सानामा म भाउजूका हात समाई समाई हिंड्थें । उनी जताजता जान्थिन् उनले मलाई पनि डोर्याउने गर्थिन् । त्यतिमात्र होइन, त्यतिखेर उनले मलाई नुहाइदिने गर्थिन् । उनैले मेरा खुट्टा धोइदिने र खुट्टामा चिल्लो लगाइदिने गर्थिन् । उनले मेरो कपाल कोरेर दुइटा चुल्ठो बाटिदिने गर्थिन् । त्यति खेर उनी मलाई गुन्यूचोली लगाएर नचाउने गर्थिन् । सक्रान्ति बजारमा बस्ता म प्राय: मेरी भाउजूसँगै सुत्थें । मैले त्यसरी मेरी भाउजूको माया तीन वर्षसम्म पाइरहें । म आठ वर्ष लागेपछि मेरा दाजु भाउजूकी पुत्रीरत्न जन्मी । पुष्पलता जन्मेपछि भाउजूकी खेलौना पुष्पा नै बन्न थाली । त्यसपछि म मेरी भाउजूबाट क्रमश: ओझेल पर्न थालें ।

बाह्र वर्षको उमेरमा अर्थात् २०२५ सालमा गाउँलेसँगै म पनि मधेश झरें । त्यस बेला मेरा दाजु भाउजू शनिश्चरे बजारमा बस्थे । दाजु भाउजूको करबलबाट म पहाड फर्कन नै सकिन । त्यसैले छ कक्षाबाट मेरो पढाइ शनिश्चरे हाइस्कुलमा सुरू भयो । त्यस बेला मेरो पालनपोषण भाउजूबाटै भएको थियो । मेरा लुगाफाटा पनि भाउजूले धोइदिन्थिन् । त्यति मात्र होइन मेरा रहरलाई मेरी भाउजूले बुझ्ने गर्थिन् । त्यस घडी उनले बाँधी राखेको नयाँ घडी पनि मलाई दिएकी थिइन् । अनि स्कुले साथी भाइले मलाई लेडिज घडी भनेर पनि जिस्क्याउने गर्थे । तर मैले आफ्ना नारीबाट घडी चाहिँ खोलिन । जसले जे भने पनि म लेडिज घडी लगाएर नै स्कुल गइरहें ।

म मधेश आएपछि मेरो ढिप्पी र करबलका कारण मेरी आमाको पनि झापामा नै बसाइँ सराइँ भयो । आमा आउनुअघि मेरा दाजु भाउजूसँगै बसेर मैले ६ र ७ कक्षा पढेको थिएँ । त्यसपछि म आफ्नै खेती अथवा सालबारीबाट साइकल चढेर शनिश्चरे हाइस्कुल धाउन थालें । मैले ८ कक्षासम्म झापामा नै पढें । त्यतिखेर झापा आन्दोलन चर्किरहेको थियो र म पनि त्यस आन्दोलनमा सक्रिय थिएँ । त्यतिखेर मेरो ज्यान पनि धरापमा थियो । त्यसैले मेरी आमा र नीरा दिदीको कर, बल र जबरजस्तीका कारण २०२८ सालदेखि म काठमाडौं आएर पढ्न थालें ।

२०७१ सालदेखि मेरा दाजु भाउजू पनि बसाइँ सराइँ गरेर काठमाडौंको जोरपाटीस्थित अरूबारी आए । त्यसपछि हामी माझ बाक्लै भेटघाट हुन थाल्यो । दाजु भाउजू पनि बराबर नइ गृहमा आउने र हामी पनि घरीघरी भावि गृहमा जाने गर्थ्यौं । वास्तवमा मेरी आमा स्वर्गीय भएपछि आमाको आत्मा सर्लक्कै मेरो ठूल्दाजुको आत्मामा सरेको हो कि जस्तै मलाई लाग्ने गर्थ्यो । किनभने आमा स्वर्गीय भएपछि दाजुले मलाई पहिलेभन्दा पनि धेरै माया गर्ने गरे । साथै उनी मेरो कामप्रति गैरवीबोध गरिरहने गर्थे र भाउजूले पनि त्यसै गर्थिन् ।

मेरा दाजु र भाउजूको उमेर ढल्किनेक्रमले उनीहरूका लागि दैनिक घरधन्दा सहज थिएन । जेठो छोरो सागर जागिरे र कान्छो छोरो इन्जिनियर सन्देश अमेरिका हुँदा बूढाबूढीको बूढेसकाले धोक्रो काँधै माथि नै थियो । तर उनीहरूका चारै जना छोरी पुष्पा, मुना, रीता र जुनाले तँ छाड र म छाड गरेर मेरा दाजु भाउजूको सेवा गरेका थिए । त्यसैले भाउजूले इन्दिरा र मलाई भनिरहन्थिन्- “मैले छ भाग लगाउँ भनेको दाजुले मान्नु भएन । सेवा गर्ने छोरी अंश खाने चाहिं छोरा !” सँच्चै हो, मेरी भाउजूले छोरा छोरीमा कहिले भेद गरिनन् ।

मेरी भाउजूको शरीर दिनप्रतिदिन जीर्ण हुँदै जाँदै थियो । भाउजूको नाजुक अवस्थामा छोरीहरूले गरेको कृत्य बिर्सिनसक्नुको थियो । त्यसैले मेरा दाजु भाउजूलाई म भनिरहन्थें- “हजुरहरूका लागि यी चार जना छोरी त साक्षत देवी हुन्; यिनीहरूले भाउजूलाई प्राण दिइरहेका छन् । उनीहरूका पतिहरू पनि उच्चकोटिका रहेछन् ।” साँच्चै हो आफ्नो घर परिवारै विर्सेर चार जना छोरीले मेरा दाजु भाउजूको सेवा गरिरहे । भाउजूको अवस्था खच्केपछि इन्जिनियर छोरा सन्देश र पिएच्डी गरिरहेकी बुहारी सुधा पनि अमेरिकाबाट नेपाल आए । केही समय भाउजूको सेवा गरेर उनीहरू फर्केर उतै गए । आफूलाई माया गर्ने, आफ्ना मनका कुरा पनि बुझ्ने र आज्ञाकारी कान्छो छोरो नै अमेरिका बस्ने भएको बेहोराले पनि दाजु भाउजूलाई थप अमिलो लाग्ने गर्थ्यो । सन्देश पनि आमाको पीडामा फिटिफिटी नै थियो । तर अमेरिका बस्नु पर्ने उसको बाध्यता थियो ।

मेरी भाउजूको शारीरिक अवस्था रात दुई गुना र दिन चार गुना खस्केर जान थालेको थियो । मेरा दाजु र चार जना छोरीका आँखा हरेक पल भिज्न थालेको प्रत्यक्ष दृश्य मैले हेरिरहेको हुन्थें । मेरी भाउजूको व्यथा हेरेर मेरो मन पनि विछिप्तै हुन्थ्यो । भाउजूको त्यो गम्भीर अवस्थाका कारण कान्छो छोरो सन्देश अमेरिकामा थामिन सकेन । अनि उ लगत्तै फेरि नेपाल आयो । अनि पहिले पहिले झैं आमाको सेवामा ऊ तन, मन र धन अर्पेर बस्न थाल्यो ।

मेरी भाउजूको कलेजो क्यान्सरले पुरै खाइसकेको थियो । उनी रातोदिन छट्पटाई रहेकी हुन्थिन् । त्यती खेर मुना र पुष्पाले आफैलाई विर्सेर चौबीसै घन्टा मातृ सेवा गरेका थिए । रीता र जुनकेरीले गर्ने सेवा पनि मामुली थिएन । खास गरेर त्यतिखेर भाउजू उपर मुनेको सेवा चमत्कारी नै थियो । उसको सेवाको नाप गर्ने मसँग क्षमता नै थिएन र पुष्पाको सेवा पनि मुनेको भन्दा घटी थिएन । साथै सन्देशले पनि आफ्नी आमाका लागि चौबीसै घन्टा पहरा दिइरह्यो । त्यतिबेला चार जना छोरी र दाजु भाउजूका सामुन्ने मैले सन्देशलाई भनेको पनि थिएँ- “तैंले तेरी आमाको सेवा गरेको देखेर मैले मेरी आमाको के सेवा गरेको रहेछु र भन्ने लाग्यो ! तँ जस्तो भक्त छोरा मैले प्रायः देखेकै थिएन; सन्देश !” चार जना छोरी र सन्देशले आफ्नी आमाको सेवा गरेको देखेर इन्दिरा पनि बराबर भन्थिन्- “तिमीहरूले यो जुनीमा कुनै तीर्थ व्रत नै नगरे पनि हुन्छ ।”

मेरी भाउजू साधु स्वभावकी थिइन् । उनी ठीक कुरा गर्थिन् । उनी प्रष्ट व्यबहारकी धनी थिइन् । साथै उनको बोलीले कसैलाई बिझाउँदैनथ्यो । उनी सरल थिइन् तर उनीमा उच्च विचार प्रखर थियो । उनीबारे मेरी आमा भागीरथा प्रसाई बराबर भन्ने गर्थिन्- “मेरी जेठी बुहारी न्यायवादी छे । उसले कुरा बनाएर गर्न जानिन । उसले सबै देवरहरूलाई पनि मिलाएर राखी । दाजु भाइको झगडा भयो भने ऊ आफै बीचमा पसेर मिलाई दिन्थी । उसको लोग्नेले झुक्किएर कसैको कुरा काट्यो भने पनि ऊ मन पराउदिन थिई । बुहारी भनेका त यस्ता पो हुन्छन् त !”

आठराई तेह्रथुम र ताप्लेजुङदेखि झापासम्मको कुरा गर्ने हो भने मेरा दाजु भाउजूका कारण थुप्रैले राहत पाए । स्कुले शिक्षा नपाएकी मेरी भाउजूकै आडमा धेरैले विश्वविद्यालय स्तरीय शिक्षा ग्रहण गरे । वास्तवमा त्यतिखेर धेरैलाई मेरा दाजु भाउजूले ओत दिए, भरोसा दिए र उत्साह दिए । उनीहरूकै संरक्षकत्वमा हामी पनि हुर्क्यौं, पढ्यौं र बढ्यौं । जिजु हाउसका सबै सदस्यले आआफ्नो ठाउँलाई बलियो बनाए । आज म यो नरेन्द्रराज प्रसाई हुनुमा मेरा दाजु भाउजूको पनि पार्श्व भूमिका खामिएको छ । तिनै मेरी भाउजूको पनि मातृवत् स्नेहले म सधैं उत्साहको शिखरमा चढिरहें । सिथिल, अशक्त र अर्ध चेतनामा पनि मेरी भाउजूले मलाई र इन्दिरालाई आशीर्वाद दिइरहिन् । अन्तिम समयमा पनि हामी नइलाई आशीर्वाद दिदै उनले भनेकी थिइन्- “बाबु, प्राण जाने बेलाको आशीर्वाद त लाग्छ है !”

मेरी भाउजूको अनुहार मेरा दिलमा ट्याप्यै टाँसिएको छ । उनका शब्दहरूले मेरा कानमा साउती गरिरहेका हुन्छन् । उनको आशीर्वाद मैले मनमा गाँठो पारेर राखेको छु । उनको मप्रतिको निश्चल माया मभित्रै अक्षय भएर बसेको छ । उनका सारा सम्झना मभित्र सुरक्षित छन् । यति हो उनको भौतिक चोला मात्रै हामी माझ रहेन; तर हाम्रा मनमनमा उनी चिरञ्जीवी छिन् ।

जीवन भन्नु यस्तै रैछ
धुवाँसँगै उड्दै जाने,
आफन्तका आँखाबाट
आँसु बनी बग्दै जाने !

© नरेन्द्रराज प्रसाई


Loading comments...