EXCLUSIVE | कान्तिपथस्थित एक अस्पताल ‘नो दर्ता! बकाइदा संचालन’


काठमाण्डौ, १३ भाद्र, २०७७ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले यही २०७७, अषाढ ३१ गते काठमाण्डौको कान्तिपथस्थित ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. लाई पत्राचार गर्यो र त्यो पत्रले घरानीया ब्यवासायीक गतिविधिको दम्भमा सचालकद्वय रुप ज्योती तथा मिला सायमीले कसरी र कस्तो स्वरुपसम्ममा संचालन गरेका छन् भन्ने छताछुल्ल पारेको छ । जनताको स्वास्थ्यको ठेक्का कसरी माफियाहरुले व्यवस्थापन गर्छन भन्ने उदाहरण ।

बिना अनुमती यती संवेदनशील अस्पताल कसरी संचालन हुँदैछ?

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. लाई पठाएको ३ भिन्नाभिन्नै पत्रको प्रति ‘लाइभमाण्डू’ले प्राप्त गरेको छ । जसले एउटा अस्पतालको भरमा विनाअनुमती अर्को स्थानमा जनताको जनस्वास्थ्य जस्तो संवेदनशील विषयलाई पनि परवाह नगरी कसरी संचालन भएको छ भन्ने विषयको पर्दाफास गर्छ ।

अवैद्य रुपमा संचालन भइरहेको ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. लाई कारवाही अगाडी बढाउन पत्राचार गर्ने सरोकारवाला निकायहरुः

  • नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग
  • प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश
  • प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय-काठमाण्डौ

पत्र नं. १

के लेखिएको छ नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. लाई पठाएको पत्रमा?

पत्र.सं : २०७६/७७ को च.नं.: ४७७ मा स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोख्रेलद्वारा जारी उक्त पत्रमा ग्राण्डी सिटी क्लिनिक एंड हस्पिटल प्रा. लि. काठमाण्डौलाई उल्लेख गर्दै संचालनका लागि स्वीकृति दिने निकायको प्रमाणित प्रतिलिपी उपलब्ध गराउने आदेश सहितको “आवश्यक कागजात तुरुन्त उपलब्ध गराउनु हुन्” भन्ने विषय अन्तर्गत लेखिएको छः

प्रस्तुत बिषयमा श्री स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखामा तहा श्री ग्राण्डी सिटी क्लिनिक एंड हस्पिटल प्रा. लि. को संचालन अनुमति सम्बन्धमा सरोकारवालाबाट उजुरी परेको हुदा सो संस्थाको स्वास्थ्य सेवा संचालन स्वीकृति दिने निकायको प्रमाणित प्रतिलिपि आवश्यक छानविन प्रयोजनार्थ यस स्वास्थ्य सेवा बिभागको उपचारात्मक सेवा महाशाखामा यथासिघ्र तिन (३) दिन भित्रमा उपलब्ध गराईदिनुहुन यसै पत्र मार्फत सुचित गर्दछु । 

पत्रको वास्तविक प्रति हेर्नुहोस्ः

पत्र नं. २

के छ प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशले ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. लाई पठाएको पत्रमा?

के छ प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशले स्वास्थ्य सेवा विभागले ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. लाई पठाएको ‘निवेदन अनुसार सूचना उपलब्ध गराई दिने’ विषय अन्तर्गत लेखिएको छः

श्री स्वास्थ्य कार्यालय काठमाण्डौको नाममा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशका ब. स्वा. प्र अर्जुन सापकोटाद्वारा  मिति २०७७ साउन ०८ गते प्रेसित पत्रमा, “प्रस्तुत विषयमा स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको च.नं. ४७२ मिति २०७७/३/२६ को पत्र यसै साथ संलग्न छ । सो पत्रमा उल्लेखित विषय त्यस कार्यालयसँग सम्बन्धित भएकोले पत्रानुसारको विवरण सो महाशाखालाई उपलब्ध गराइदिनुहुन र सोको जानकारी यस कार्यालयलाई दिन जानकारी गराइएको छ ।” लेखिएको छ ।

पत्रको वास्तविक प्रति हेर्नुहोस्ः

पत्र नं. ३

के लेखिएको छ प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय-काठमाण्डौले ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. लाई पठाएको पत्रमा?

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय-काठमाण्डौका निमित्त कार्यालय प्रमुख (अधिकृत – सातौ)ले स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखा, टेकुलाई लेखेको पत्रले काठमाण्डौको कान्तिपथमा संचालनमा रहेको ग्राण्डी सिटी क्लिनिक एंड हस्पिटल प्रा. लि. ले सम्बन्धित निकायको अनुमति बेगैर, बिना लाइसेन्स जनस्वास्थ्यसँग खेलवाड गर्दै सरकार, सरोकारवाला तथा देशको कानूनको धज्जिया उडाएको देखिन्छ ।

पत्रमा लेखिएको छः  

प्रस्तुत बिषयमा ग्राण्डी सिटी क्लिनिक एंड हस्पिटल प्रा. लि. को संचालन अनुमति सम्बन्धमा तहाबाट जानकारी माग भएको सम्बन्धमा यस कार्यालयको अभिलेख अनुसार उक्त स्वास्थ्य संस्थाले यस कार्यालयबाट स्वास्थ्य संस्था सञ्चालनको अनुमति लिएको नदेखिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । लेखेको छ । 

पत्रको वास्तविक प्रति हेर्नुहोस्ः

पैसा र घराना कै दम्भमा कान्तिपथस्थित ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. का सचालकद्वय रुप ज्योती तथा मिला सायमीले प्रचलित कानून र सरकारको उपस्थितिको धज्जिया त उडायो उडायो, देशको जनस्वास्थ्य, जनताको जीवन, आरोग्यको ठेक्का कसरी र कस्को नियन्त्रणमा छ भन्ने एउटा ठूलो प्रश्न चिन्ह पनि उठाइदिएको छ । कसैले केही गर्न सक्दैन भन्ने घरानीया मानसिकता तथा दादागीरी विरुद्ध सम्बन्धित सरकारी निकायले देखाएको प्रयासको भने सराहना गर्नुपर्छ ।

त्यस ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. को स्वास्थ्य सेवा लिएका नागरिक सचेत रहनुहोला, दर्ता बेगैर सञ्चालित स्वास्थ्य संस्थाको गलत उपचार अथवा गलत परिक्षणको भरमा घरबार अथवा तपाईंको अमूल्य जीवन खेर नजाओस् । यदि तपाईंले यस अघि त्यहाँ स्वास्थ्य सेवा लिनुभएको छ भने हामीलाई अवस्य सम्पर्क गर्नुहोला ।


Loading comments...