अंग्रेजी नयाँ वर्ष अर्थात् ‘नेपाली टोपी दिवस’


काठमाण्डौ । नेपाली युवाहरुले बिगत ७ वर्ष देखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर नेपाली मौलिक उत्पादन र सबै नेपालीको साझा पहिरनको विश्वव्यापी पहिचान स्थापित गर्न अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आईरहेका छन् । यस वर्ष आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइन लागेको उल्लेख गर्दै नेपाली टोपी प्रतिष्ठानका अध्यक्ष शंकर बञ्जाडेले नेपाली टोपी दिवस अब स्थापित भएको उल्लेख गरे ।

‘जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवं सम्पूर्ण नेपालीभाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु हो,’ उनले भने, ‘प्रत्येक देशको आ–आफ्नै पहिचानका वस्त्र हुने गरेकोमा नेपाली टोपी पनि नेपाली नागरिक, संसारभर फैलिएका नेपाली भाषी एवम् नेपाली मूलका नागरिक सबैको नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने चाहान्छौं ।’

संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक संजालबाट शुरु गरेको यो अभियानलाई संस्थागत र थप ब्यबस्थित बनाउन ’नेपाली टोपी प्रतिष्ठान’ नामक संस्था पनि गठन भएको छ । साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा, हालसम्म विश्वका ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन हुनुका साथै थप गठन हुने प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ ।

नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ–आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ । यस अवसरमा बिश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहलाई यहि पौष १७ गते (जनवरी १ तारिख, २०२१) का दिन आफ्नो अवस्था अनुकुल अनुसार नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन अभियान्ताहरूले आह्वान गरेका छन् ।

संसारभर फैलिएको कोभिड महामारी र यसले मानब स्वास्थ्यमा पार्न नसक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस बर्ष प्रतिष्ठानका तर्फबाट भौतिकरुपमा मानिसहरु भेला हुने कुनै पनि औपचारिक कार्यक्रम भने यस वर्ष नराखिएको बताइएको छ ।

ढाका टोपीको इतिहास
नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हःपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।

ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जून एउटा अपभ्रम र मिथ्या मात्र हो । यो हाम्रो मौलिक उत्पादन हो ।


Loading comments...