किरण केसीलाई यो मेलम्ची र फास्ट ट्र्याकको काम दिए हुन्छः मदनकृष्ण श्रेष्ठ


किरण केसिको निर्माणमा मह संचारको प्रस्तुतिमा सुदन केसीद्वारा निर्देशित पहिलो नेपाली कथानक चलचित्र “दालभात तरकारी” को पहिलो सामाग्री स्वरुप “भिजिट भिसामा” बोलको गीत सार्वजनिक भएको छ । नेपालीजनका प्रिय, सुप्रसिद्ध कलाकार हरीवंश आचार्यको शब्द तथा नेपाली सङ्गीतका भिष्मपिता शम्भूजीत बास्कोटाको साङ्गीतिक स्वादलाई निसान भट्टराई तथा अन्जु पन्तले स्वर दिएका छन् ।

काठ्माण्डौको कुमारी हलमा आयोजित गीत सार्वजनिक कार्यक्रमको संचालन लोकप्रिय रेडियो प्रस्तोता तथा भिजे नरेश भट्टराईले गर्नुभएको थियो । अत्यन्त उर्जा, हाँसो तथा नेपाली चलचित्र, साङ्गीतिक क्षेत्र तथा पत्रकारहरुको उपस्थितिमा सम्पन्न उक्त गीत सार्वजनिक कार्यक्रममा सङ्गीतकार शम्भूजीत बास्कोटाले गायकद्वयको खुलेर तारिफ गर्दै, “शम्भूजित बास्कोटा सङ्गीतकै लागि जन्मिएको र सङ्गीतको सेवा गर्दा गर्दै बिदा माग्नेछ” भन्नुभयो ।

नेपाली मौलिक चलचित्रका सर्वप्रिय कलाकार मदनकृष्ठ श्रेष्ठको रमाइलो गफले उपस्थित अतिथीहरु तथा दर्शकदीर्घामा खित्का छुट्थ्यो । “गीतमा हरीदाईसंग निरुता सिंहको जोडी कस्तो सुहाएको मदनदाईले कुनै चलचित्रको गीतमा नाच्नुपर्यो भने कोसंग जोडी गाँस्नुहुन्छ?” भन्ने प्रस्तोता नरेश भट्टराईको प्रश्नमा कलाकार श्रेष्ठले “म त निरुता सिंहसंगै जोडी गाँस्ने कस्तो राम्रो कलाकार यो अघि मैले निरुतासंग काम गरेको थिइन सुटिङमा उसको प्रोफेसनल व्यवहार र अभिनयमा उनको मिहिनेत हेरेर अत्यन्त प्रभावित भएँ” भन्दै कम्मरै मर्काएर देखाउनुभयो । “तर यो किरणलाई भने कुनै काम दिनै हुन्न मिहिनेत गरी हाल्ने । मलाई त सार्ह्रै डर लाग्ने भन्या कस्तो मिहिनेती राम्रो काम गरी हाल्छ दिन रात उसले यो चलचित्रमा गरेको मिहिनेत तारिफयोग्य छ । बरु यो मेलम्चीको ठेक्का फास्ट ट्र्याकको ठेक्का पनि किरणलाई दिए हुन्छ काम सत् प्रतिशत ग्यारेण्टी” भन्ने कुराले हल हाँसो र तालिको गडगडाहटले गुञ्जयमान भयो ।

साङ्गीतिक पक्षको तारिफ गर्दै कलाकार श्रेष्ठले शम्भूजीत बास्कोटाको काममा शब्द खर्चिन कुनै कसर बाँकी राख्नुभएन, “शम्भूजीत कस्तो मान्छे भने जे छोयो सुन भयो” त्यति भन्दै गर्दा श्रद्धा व्यक्तगर्न मदनकृष्ठ श्रेष्ठ छेउ आउनुभएका बास्कोटालाई “हँ हँ मलाई नछोउ म फेरी सुन हुँला ।” त्यतिकैमा छेवैमा रहेका महका हरीवंश आचार्यले “दाई तेसो भए फाइदै होला ६५ केजीको सुन ३३ केजीको सुन ओझल पर्ला” भन्दै ठट्टा गर्नुभयो ।

सर्वप्रिय मूर्दन्य कलाकार हरिवंश आचार्यले नवप्रविधिले कलाकारहरुको अनुहार काम र सम्पत्ति नयाँपुस्तासम्म पुग्न सहयोग गरेको विषयबारे बोल्नुभएको थियो । यूट्यूबप्रति कृतज्ञता व्यक्त गर्दै कलाकार आचार्यले “यसले हामीले ४० वर्ष अघि गरेको काम अहिले नव पुस्तालाई देखाउन पाएका छौं नत्र कहाँ अहिलेको पिढीले हाम्रो अनुहार हाम्रो आवाज चिन्थे होलान । जे होस निशान भट्टराई तथा अन्जु पन्तको स्वर सुहाउँदो सङ्गीत सार्ह्रै राम्रो बनेको छ । यो भन्दा त झन अर्को आउनेवाला गीत झनै राम्रो बनेको छ, त्यो भन्दा अर्को अर्को त झन त्यो दुवैभन्दा चर्को बढी राम्रो बनेको छ र त्यो दुवैभन्दा यो भिजिट भिजामा त गज्जबै बनेको छ” भन्दै ठट्यौली गर्नुभएको थियो ।

कार्यक्रममा अब पालो थियो अर्का मूर्दन्य कलाकार तथा “दालभात तरकारी”का निर्माता किरण केसी (राता मकै)को “म सुदनको कामबाट अत्यन्त प्रभावित भएँ धेरै राम्रो काम गरेको छ म सुदनको बाउ भएकोमा गर्व महशुस भएको छ । सुदन मेरो छोरो हो र यो फिलिममा निर्देशकीय जिम्मेवारीका लागि कुनैपनि किसिमको सोर्सफोर्स मेरा पूज्यनीय ढोगनीय महान कलाकार मदन दाई र हरीदाईलाई कहिल्यै गरीन । हरीदाई आफैले एउटा कथा छ यसो हेर्दैगर भनेको विषयलाई पछि निर्देशनको जिम्मेवारी हस्तान्तरण भएको हो । गीत त ट्रेलर मात्रै हो चलचित्र साह्रै नै राम्रो बनेको छ” भन्नुभयो ।

गीत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित नेपालकै पहिलो विमान ह्यांगर बुद्ध एयरको प्राविधिक तथा अप्रेशनल परीसरमा गरीएको छ । गीतलाई लोकप्रिय नृत्य निर्देशक कवीराज गहतराजले बडो शालीनताका साथ सबै कलाकारहरुको सुन्दर नृत्य देखाउन सफल हुनुभएको छ । गीत सम्भवत प्रथम पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परीसरमा छायांकन गरिएको हो ।

सार्वजनीक गीतमा हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, आँचल शर्मा, पुष्पल खड्का, वर्षा राउत लगायतका कलाकारलाई देख्न सकिन्छ । धेरै वर्षदेखि हलिउड, बलिउड तथा नेपाली सिनेमामा विभिन्न प्राविधक पाटो तथा सह-निर्देशकको भूमिका निर्वाह गर्दै आएका सुदन केसिको निर्देशन रहेको चलचित्र “दालभात तरकारी” नयाँ वर्ष २०७६ को बैसाख १३ गते सार्वजनिक हुँदैछ । चलचित्र “दालभात तरकारी” टोलीलाई लाइभमाण्डूको शुभकामना !


Loading comments...