कोमल ओलीको प्रश्न : जनतामा जाने कुरा कसरी अधिनायकवाद भयो ?


काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीले प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा भएको निर्वाचन घोषणाको बचाउ गरेकी छन् ।

राष्ट्रियसभामा शुक्रबार बोल्दै सांसद् ओलीले जनतामा जान्छु भन्नु कसरी अधिनायकवाद र तानाशाही भयो ? भन्दै प्रश्न गरेकी थिइन् । जनताको परीक्षणमा जाने कुरा कसरी तानाशाही र अधिनायकवादी भयो ? भन्दै उनले चुनावमा जान डराउनेहरुको मनमा अधिनायकवाद रहेको बताइन् । प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिले आउँदो वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेपछि प्रतिपक्षी दल र सत्तारुढ दल नेकपाकै सांसद्हरुसमेत सो घोषणाको विपक्षमा छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको, प्रधानमन्त्री तानाशाही बनेको आरोप राष्ट्रियसभामा प्रतिपक्षी दलका सांसद्हरुले लगाएका थिए ।

“जनतामा जाने कुरा कसरी तानाशाही भयो ? कसरी अधिनायकवाद भयो ?,” त्यसतर्फ लक्षित गर्दै ओलीले भनिन्, “अधिनायकवादीहरु जनतासँग जान्छन् कि बन्दुकसँग जान्छन् ? अधिनायकवाद भएको देशमा व्यक्तिहरु जेलबाहिर हुन्छन् कि जेलभित्र ?” उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै नेतृत्व युवामा जानुपर्छ भन्ने व्यक्ति महत्वाकांक्षी हुन नसक्ने पनि बताइन् ।

त्यस्तै, उनले सरकार, संसद् र अदालत, निर्वाचनमाथि धेरै शंका भइरहेकोमा पनि आपत्ति जनाइन् । “अहिले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भन्ने कसैलाई लाग्छ भने त्यसको व्याख्या गर्ने अधिकार अदालतलाई रहेको र अदालतले जे गर्छ, हामी सबैले स्वीकार्नुपर्छ,” उनले भनिन् ।


Loading comments...