Govinda_Kc

डाक्टर केशीको अनशन केही समयको लागि स्थगित


जुम्ला, १८ भाद्र, २०७७ । कोभिड महामारी फैलँदै गईरहेको अवस्थामा आम नागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै डा केसीद्वारा आज देखी सुरु गर्न लाग्नु भएको सत्याग्रह केही समयका लागि स्थगन गर्नु भएको छ ।

विज्ञप्तीको पूरा पाठ
हाल चलिरहेको कोभिड महामारीले विकेन्द्रित र गुणस्तरीय स्वास्थ्य सेवा कति महत्वपुर्ण छ भन्ने कुरा प्रष्ट पारेको छ । हाल नेपालमा विद्यमान् स्वास्थ्य प्रणाली कति नाजुक छ, हाम्रो सार्वजनिक स्वास्थ्य सेवा कति अपर्याप्त छ र निजी स्वास्थ्य सेवा कति महंगो छ भन्ने यो महामारीले छर्लंग देखाएको छ । रोग लाग्नै नदिइ रोकथाम गर्ने सामुदायिक चिकित्सा र जनस्वास्थ्यको अवस्था कति नाजुक छ भन्ने पनि अब प्रष्ट भएको छ । देशको सत्ता चलाउने व्यक्तिले नै नेपालीको इच्छाशक्तिकै भरमा संक्रामक रोगको महामारी रोकिन्छ भन्ने आश गरेबाट जनस्वास्थ्यका हिसाबले हामी कति पछाडि छौं भन्ने देखाउँछ । सारा देशको ध्यान आज कोरोना महामारीतिर हुँदा एकतिर अरु रोगका बिरामीको उपचारै नपाइ मृत्यु भइरहेको छ भने लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र ठप्प हुँदा लाखौं मानिसहरु भोकै परेका छन् ।

यो अवस्थामा पनि स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा सुधार र सुशासनका लागि संघर्ष जारी राख्नु आवश्यक हुन्छ । त्यसका लागि मिडिया र नागरिक समाजको भुमिका प्रमुख हुन्छ । कोभिड महामारी नियन्त्रण नै प्रभावित हुने गरी सत्तासीन व्यक्तिहरुले निर्लज्ज रुपमा गरेको अरबौंको भ्रष्टाचार उदांगो पानै मिडियाले खेलेको भुमिका सराहनीय छ । यद्यपि नैतिकता गुमाइसकेको र लाज पचाइसकेको सरकार अद्यापि प्रमाणित भ्रष्टहरुलाई बचाउन उद्यत् छ । हाम्रा तर्फबाट हामीले शुरु गरेको सुधार अभियान पनि जारी छ । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु शुरु गर्नुपर्नेलगायतका मागहरु राखेर हामीले आजदेखि सत्याग्रहको घोषणा गरेका थियौं । हाम्रा मागहरुमध्ये सबैजसो विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने थिए । तर सरकारले माग पूरा गर्नको सट्टा उल्टै हक अधिकारको माग गर्ने जुम्लावासीहरुलाई धम्क्याउने र दमन गर्ने काम गरेको छ । प्रधानमन्त्री ओलीको केन्द्र सरकारदेखि कर्णालीको प्रदेश सरकार समेत जायज मागसहितको हाम्रो आन्दोलनलाई दमन गर्न लागी परेका छन् ।

यस्तो परिस्थितिमा कोभिड महामारी फैलँदै जाँदा जुम्लाबाट हाम्रो अभियानलाई निरन्तर साथ दिइरहने आम नागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै हामीले सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छौं । सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं । साथै बारम्बार साबुन पानीले हात धुन, बाहिर निस्कँदा नियमित मास्क लगाउन तथा सामाजिक दुरी कायम गर्न सबै नेपालीहरुलाई आग्रह गर्दर्छौं । यस्तो शिक्षा सबैले बुझ्ने भाषामा निरन्तर दिइरहेर संक्रमणको फैलावट रोक्दै बारम्बार लगाइएका निषेधाज्ञा बन्द गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । यस्तो जोखिमको समय निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मिलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिलाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं । हाल जुम्लामा रहनुभएका डा गोविन्द केसीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Loading comments...