तिहारको रौनक देउसी भैलोमा
सवैको घर आगनमा तिहार आइपुगेको छ । जता ततै झिलीमिलि भइसकेको छ भने देउसी भैलोको आवाज यता उता गुन्जीइ सकेको छ । देउसी भैलो औंसीको दिनमा साथिसंगीहरु जम्मा भएर घर-घरमा आर्शिवाद दिँदै नाचगान गरि रमाइलो गर्ने एक सामुहिक कार्य होे । टोल छिमेकीको घर घरमा गएर एक जनाले गाउँने (भट्याउने) र अरुले उसैको स्वरमा स्वर मिलाउँदै गाउने र नाचगान गरी रमाइलो गर्दछन । आफ्नो घरमा आएका देउसी भैलोलाइ घरधनिले दान स्वरुप दक्षिणा दिने गर्दछन र भैली टोलिले घरधनिलाइ आर्शिवाद दिइ विदा हुने चलन चली आएको छ ।
अयोध्याका राजा राम बनवास गएर फर्केको यो औशीको दिनमा त्यस स्थानका मानिसहरुले घिउको दियो वाली त्यो कालो साँझलाइ उज्यालो बनाइ, देव श्रीराम भन्दै नारा लगाइ उत्सव मनाएका थिए । सोहि दिनको सम्झनामा बार्षिक रुपमा देउसी भैलो खेल्ने चलन सुरु भएको मानिन्छ । देव “श्रीराम” बाट “देउसीरी राम”… “देउसीरे”… हुँदै “देउसी”… भएको कुरा सुन्न पाइन्छ । देउसीको समयमा गाउँदा वा भट्याउँदा बलि राजाले पठाएर आएको भन्ने कुरा जनाइन्छ ।
बलिराजा को हुन भन्ने सन्दर्भमा बली भन्ने राजा पृथ्वीमा राज गर्ने गर्दथे । उनी निकै धनाड्य थिए, अरुलाइ दान नदिइ उनले खाना पनि खाँदैनथे । उनी निकै धनी र पुण्यवान भएकाले पृथ्वी देखी स्वर्गादि लोकहरुमा कम्पन हुन थालेपछि देवताहरुले भगवान विष्णको तपस्या गरे । तपस्यावाट प्रशन्न भएर भगवान विष्णुले बलिलाइ पाताल पुर्याउने आस्वासन दिनुभयो । त्यसपछि भगवान विष्णु ब्राह्मणको रुप धारण गरेर बलिको गृहमा प्रवेश गरी तीनपाउ जमिन माग गर्नुभयो । बलिले अति थोरै दान माग गर्यौ भन्दै जमिन दान दिने संकल्प गरे । त्यसपछि भगवान विष्णुको रुप विराजमान भयो र एउटै पाइलाले पृथ्वी ढाकियो अर्काे पाउले आकाश ढाकियो त्यस पछि तेस्रो पाउ भरिएको जमिन कहाँबाट दिने भनि बलिलाइ तनाव उत्पन्न भयो । उनले बाचा निभाउन आफ्नो शिर थापे, शिरमा भगवान विष्णुको पाउ परेपछि जमिनले थाम्न सकेन र जमिन भासिएर बलि पातालमा पुगे । अन्तमा पृथ्वीमा बर्षको एक पटक तिहारको बेला भ्रमण गर्ने अवसर होस भनि बलिले विष्णुसंग प्रथना गरे । उक्त प्रथना स्वीकार गरी भगवान विष्णु अन्र्तधान हुनुभयो । यसै बेला देखी तिहारमा बलिको स्वागतको लागि देउसी भैलो खेल्ने चलन सुरु भएको कुरा विश्वास गरिन्छ । त्यसैले तिहारमा बलिराजाको स्वागतमा बत्ति बाल्ने र गित गाउने चलन छ । सवैको घरघरमा बलि राजा पुग्न नसकेकोले बलिराजाले पठाएको भनी गीत पनि गाउँछन । देउसी खासगरी औंशीमा लक्ष्मी पुजा गरेपछि खेलीन्छ ।
देउसीको सुरुमा गाइने गित
भैलीनी आयौँ आगन, गुनियो चालो माँगन्
हे औँशी बारौँ, गाइ तिहार हो भैलो….
आर्शिवादहरु
घरमा लक्ष्मीको बास होस…. देउसीरे
सानो घर दरवार जत्रो होस…. देउसीरे
आगन टुणिखेल जत्रो चौडा होस…. देउसीरे
सवैको स्वास्थ्य लाभ होस…. देउसीरे
खुसीयाली होस …. देउसीरे आदी ।
देउसी टोलीले घर धनिलाइ अर्शिवाद दिने गित गाउने रमाइलो गर्ने र घर धनिले खुसी भएर दान स्वरुप सेल रोटी, फलफुल, चावल, फुलपाती, आदि नाङ्गलोमा राखेर दियो बालेर टिका लगाइ दक्षिणा दिने गर्दछन ।
देउसीका अन्त्यमा गाइने गित
थालैमा अक्षता पाती
विदा बारी भएर जाउँ साथी…
समयको परिर्वतन संगै आजभोली मौलिक शैलि परिर्वतन भइ गित गाउने, नाच्ने परम्परा पनि विस्तारै परिर्वतन भएको छ । देउसीमा नयाँपन आएपनि युवाहरुको साथसाथै ससाना बालवालिका लगायत बृद्ध बृद्धाहरु सम्म रुचि भने उत्तीकै छ । ब्यक्ति ब्यक्ति तथा संस्थाद्धारा पनि देउसी भैलो खेलेर सामाजिक क्षेत्रमा कार्य गरेको कुरा पनि धेरै सुन्न पाइन्छ । त्यसैले देउसी भैलोले साथि साथिहरु विच आत्मियता बढाउनुको साथै सामाजिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ ।