त्रिभुवन विश्वविद्यालय सुविधासम्पन्न केन्द्रिय पुस्तकालय निर्माणका लागि भूमिपूजन सम्पन्न


नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको निर्माणका लागि आज आयोजित भूमिपूजन कार्यक्रमको संयुक्त रुपमा सम्पन्न गर्नुभयो । भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा सो पुस्तकालयको निर्माण हुनेछ । सो समारोहमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाई लगायत अन्य सरोकारवालाको उपस्थिति थियो ।

सो अवसरमा उक्त परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर भयो । कूल नेरु ३१.६९ करोडको लागतमा नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप यस पुस्तकालयको निर्माण हुनेछ । यसरी निर्माण हुने नयाँ तीन तल्ले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् ।  भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रिय भवन अनुसन्धान संस्थान (सिबीआरआइ) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ । हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ ।

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको हो ।

कार्यक्रममा बोल्दै राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताउनुभयो ।  वहाँले नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने बताउनुभयो । माननीय मन्त्री पौडेलले नेपालको शैक्षिक पूर्वाधार विकासमा भारत सरकारले पु¥याएको सहयोगका लागि आभार प्रकट गर्नुभयो ।


Loading comments...