नरेन्द्रराज प्रसाईले घोषणा गरे- ‘धनले मान्छेलाई किरा बनाउन सक्छ, मनले मान्छेलाई हीरा बनाउन सक्छ ।’


हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो भने- उनले आफ्नो सबै जेथा पोको पारेर कन्तुरमा राखेनन् । उनले हीरा फोरेर वानीरा फाउन्डेसन बनाए । त्यसअन्तर्गत वानीरा भवन छ, आँगनमा वानीराको पूर्णकदको शालीक छ, वानीरा सभाकक्ष छ र वानीरा सङ्ग्रहालय छ । ई.गिरीले नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको कीर्ति र कृति अजर र अमर राख्ने काम गरे र उनी पनि सँगसँगै अजर र अमर बने । नेपालका भाग्यमानीहरूमध्ये उनी अग्रपङ्तिमा देखा परे । भनौँ उनी हीरा पनि भए र हिरो पनि भए ।

वानीरा फाउन्डेसनलाई वैरागी दाइदेखि उषा दिदी समेतले ताजमहल, रानीमहल र प्रेममहल भने । शताब्दी पुरुष सत्यमोहन जोशीले यस महललाई प्रेमको सग्लो प्रतीक माने र उनले त्यही बेहोरा पनि लेखे ।

वानीरा फाउन्डेसनको उद्घाटन समारोहमा मेरी गुरूदेवी इन्दिराले भाषणमा भनिन्- ‘यस्तो प्रेममहल र रानीमहल देख्ता त मलाई पनि मरूँमरूँ लाग्यो । भनौँ म मरेपछि यस्तै दरबार बन्छ भने मैले किन नमर्नु त !’


Loading comments...