नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल ‘NIFF’ प्रारम्भ


काठमाण्डौ, प्रदिप कार्की । बलिउडको चर्चित सिनेमा “गंगाजल”का निर्देशक प्रकाश झाले फिल्म फेस्टिभल कलाको उत्सव भएको बताउँदै आफू नेपालमा संसारका विभिन्न देशका संस्कृति सिनेमामार्फत् हेर्ने उत्सुक रहेको बताउनुभएको छ । बिहीबार राष्टिय सभा गृहमा सुरु भएको नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (NIFF)को औपचारिक उद्घाटनमा बोल्दै झाले यस्तो धारणा राख्नुभएको हो । स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका उनले फेस्टिभलका दौरान विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट फिल्म हेर्न पाउने अपेक्षा व्यक्त गर्नुभयो । ४० वर्षदेखि सिनेमामा काम गरिरहेको बताउँदै वहाँले हरेक दिन इन्जोए गरिरहेको बताउनुभयो ।

“४० वर्षदेखि सिनेमामा काम गरिरहेको छु तर कुनै दिन यस्तो छैन जहाँ मैले यो काममा इन्जोए नगरेको हुँ,” झाले भन्नुभयो । वहाँले “आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको छ । म बिहारमा जन्मिएको हुँ जहाँ नेपालको बोर्डर पर्थ्यो । हामी त के हाम्रा गाइबस्तु पनि चर्नलाई नेपाल जान्थे । यसरी नेपालसँगको नाता गहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो । सिनेमाका कारणले आउन पाउँदा दोब्बर खुशी लागेको छ,” झाले आफ्नो खुशी अभिव्यक्त गर्नुभयो ।

त्यसअघि पानसमा बत्ति बालेर समारोहको उद्घाटन गर्दै सभामुख अग्नि सापकोटाले सिनेमा साँस्कृतिक पहिचानको मुख्य माध्यम भएको बताउनुभएको थियो । वहाँले फेस्टिभल जीवन्त र सजिव अन्तर्क्रिया हुने थलो भएको बताउँदै महोत्सवले गुणस्तीय फिल्म निर्माणमा नेपाली फिल्ममेकरलाई प्रेरित गर्ने बताउनुभयो ।

बिहीबार सुरु भएको फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममा चल्नेछ । फेस्टिभलमा सहभागिताका लागि ४० देशका फिल्मकर्मी नेपाल आइपुगेको अध्यक्ष केपी पाठकले बताउनुभयो । उनले नेपालमा फिल्म संस्कृतिको निर्माण गर्ने उद्देश्यले फेस्टिभल सुरु गरेको जनाउँदै महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन ठोस योगदान गर्न सक्ने धारणा राख्नुभएको थियो ।

“हामीले फिल्मसँगै छलफलका लागि पनि अन्तराष्ट्रिय व्यक्तित्व बोलाएका छौं । यो ५ दिनमा सिनेमाको भविष्यसँगै डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका सम्भावित बाटाका बारेमा पनि छलफल हुनेछ । वैकल्पिक बजारको आवश्यकता रहेको नेपाल जस्तो देशका लागि यो छलफल उपयोगी हुन्छ भन्ने विश्वास छ,’ पाठकले भन्नुभयो ।

कार्यक्रममा छोटो मन्तव्य राख्दै वरिष्ठ फिल्मकर्मी नीर शाहले संसारभरका फिल्मलाई सिनेमाबाटै खतरा रहेको बताउनुभयो । वहाँ भन्नुहुन्छ, “सिनेमाका नाममा बनेका सिनेमा नलाग्ने फिल्मबाट नै वास्तविक सिनेमालाई खतरा छ । त्यस्ता नन एक्सप्रेसिभ सिनेमालाई एक्लै लडेर जित्न सकिन्न । सामूहिक रुपमा लड्नु पर्छ र महोत्सव यसरी लड्ने प्लेटफर्म हुन सक्छ ।” उद्घाटनको अवसरमा चाइनीज फिल्म ‘कम्पोजर’ देखाइएको थियो ।

महोत्सवको दोस्रो दिन डिजिटल फिल्म सम्बन्धी वर्कसपसँगै विभिन्न फिल्म प्रदर्शन हुनेछन् ।

तस्वीरः आर्यन बिमली


Loading comments...