पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली शुरु – यात्राले भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्नेछ: भारतीय राजदूत क्वात्रा


श्री पशुपतिनाथ मन्दिरका श्रद्घेय मूल भट्टको समुपस्थितिमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले पवित्र पशुपतिनाथ मन्दिरबाट “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली”को आज संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकलप्रेमीहरुको सहभागीता रहेको थियो । भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्‍यालीको उद्देश्य रहेको छ । साथै हाम्रा दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि र्‍यालीको रहेको छ ।

कार्यक्रममा माननीय मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा बताउनुका साथै मोटरसाइकल र्‍यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिनुभएको थियो । भारतीय राजदूतले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिका बारे बताउनुभयो ।

सो र्‍यालीका सहभागीहरुले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् ।

यात्राका क्रममा र्‍याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्नेछ । र्‍यालीका झलकहरु दूतावासको सामाजिक सञ्जालमा हेर्न सकिनेछ ।

स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाण्डौस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाण्डौसँगको सहकार्यमा यस र्‍याली आयोजना गरेको हो ।


Loading comments...