पाण्डवहरुको मृत्यु – भाग २


अघिल्लो भागमा हामीले हिमाल आरोहणका क्रममा युधिष्ठिर बाहेकका अन्य पाण्डवहरुको मृत्यु, द्रोपदीको मृत्यु अनि तिनीहरुको मृत्युका कारण र उनीहरुको पापका कारणहरु ब्याख्या गर्यौं । यदि सत्कर्म अनि सत्यमार्गमा अघि बढ्न सके नश्वर शरीर संगै परमेश्वरलोकमा पुग्न सकिने कुरा युधिष्ठिरले प्रमाणीत गरेका छन् । उनी अब स्वर्गलोकमा छन् र यसरी सबै परिवारसंग हिमाल आरोहण गर्दा उनलाई आफुसंगै कुकुर पनि आएको हेक्कै हुँदैन् । आउनुहोस अब पाण्डवर कौरबहरु स्वर्गलोकमा भेट हुँदा के हुन्छ ? युधिष्ठिरको स्वर्गलोकमाथिका प्रश्नहरुको बारेमा चर्चा गरौं ।

अघिल्लो भाग पढ्न यहाँ क्लीक गर्नुहोस्

युधिष्ठिरलाई आफु सँगै कुकुर पनि आएको हेक्कै हुँदैन । पछाडि फर्केर हेर्दा उनले आफुसँग कुकुर पनि सँगै आएको देख्दछन । उनलाई त्यो कुकुरले हस्तिनापुरमा हुँदै देखि नै उनीहरुलाई पछ्याइरहेको याद आउँछ । उक्त कुकुरले ४ जना पाण्डवहरुको मृत्यु अनि द्रोपदीको मृत्यु लगायत सबै कुराकानीहरु सुनेको हुन्छ । घोर अफ्ठेरो हिमाल आरोहणमा पनि उक्त कुकुरको पाण्डव दाजुभाई प्रतिको निष्ठा युधिष्ठिरले बिचार गर्दछन् । तर यात्राको क्रममा भनें द्रोपदी र उनका भाइहरु लड्दा समेत पछाडि नफर्की निरन्तर अघि बढेका युधिष्ठिरलाई कुकुर पछिपछि आइरहेको चाँही पत्तै हुन्न । न्यायका सच्चा पालक युधिष्ठिरले स्वर्गलोकको देवपाल र द्धारपालसंग कुकुरलाई आफुसँगै लानुपर्ने जिकिर गर्छन् । यत्तिका यात्रामा उनका पत्नी र चार भाई खस्दा पनि त्यो कुकुरले यहाँसम्मको यात्रा तय गरेका कारणले, ऊ पनि देवलोक जान योग्य रहेको युधिष्ठिरले दूतहरुलाई बताउँछन् । दूतहरुले कुकुरलाई स्वभावतः स्वर्गमा लान नमिल्ने बताएपछि युधिष्ठिरले आफु पनि स्वर्ग नजाने बरु त्यही पहाडमा बस्ने जिद्दी गर्दछन् । कुकुरको निष्ठा उस्को स्वभावको गहना भएको र उ पनि स्वर्गलोकको असली हकदार भएको युधिष्ठिरले बताँउदछन् । उनले कुकुरलाई दयामाया देखाएर स्वर्गमा बास पाउनुपर्छ भनेका थिएनन्, यात्रा तय गरेकोमा उनी पनि देवलोकको हकदार भएको र नलगे कुकुरलाई अन्याय हुने उनको ठम्याइ थियो । दूतहरुले युधिष्ठिरको कुरा मानी कुकुरलाई पनि देवलोकमा साथै लैजान्छन् ।

स्वर्ग पुग्नासाथ भाई अनि पत्नीको बियोगले छटपटाएका युधिष्ठिरले सबैभन्दा पहिले उनका भाईहरुको र पत्नीको खोजी गर्दछन् । दूतहरुले उनलाई इन्द्रको बैठकसम्म पुग्न आग्रह गर्दछन् । इन्द्रको बैठकमा पुग्नासाथ उनले दुर्योधनलाई उनकै रिस तथा घमण्डको मुद्रामा बसेको देख्दछन् । स्वर्गलोकमा देवहरुसँग दुर्योधनलाई देख्दा युधिष्ठिर हच्किन्छन् , आखिर युधिष्ठिरले के त्यस्तो पुण्यको काम गरे र स्वर्गलोकको भागीदार हुनलाई उनले मनमनै प्रश्न गर्दछन् । त्यसपछि उनले दुष्यान्त र शकुनीलाई पनि त्यसैगरी बसेको देख्दछ तर उनले त्यहाँ आफ्ना चार भाईहरुलाई, कर्णलाई र पञ्चालीलाई त्यहाँ देख्दैनन् । यो देखेर उनले यो अन्याय भयो भन्दै उनले युद्धका लाखौँ मृत्युका कारक तथा हामीलाई जिन्दगीभर दुःख मात्र दिने दुर्योधनले स्वर्गबास कसरी पाए भनेर प्रश्न गर्दछन् र आफ्ना भाईहरु र पत्नीको खोजी गर्दछन् । उनका भाई र पत्नी अर्कै ठाउँमा भएको जवाफ उनले प्राप्त गर्दछन् । अब युधिष्ठिरलाई आफ्ना परिवारमाथि अन्याय भएको भान हुन्छ, उनी प्रश्न माथि प्रश्न सोध्न थाल्दछन र स्वर्गलोकको औचित्यमाथि नै प्रश्न खडा गर्दछन् । युधिष्ठिरले तुरुन्तै इन्द्रको सो सभामा आफुलाई कुनै रुचि नभएको र आफ्ना भाईहरु भएका ठाउँमा लगिदिन अनुरोध गर्दछन् । दूतहरुले देवलोकमा इन्द्रसँगै नबस्ने भनेर सोधेको प्रश्नमा उनले फेरी त्यही कुरा दोहो¥याउँछन् ।

यसपश्चात् उनलाई त्यहाँबाट लगिन्छ । अघिसम्म सुन्दर स्थानमा सहजता अनि आलिशान कुर्सीमा बिराजमान रहेका युधिष्ठिरलाई बिस्तारै अँध्यारो स्थानतफ लगिन्छ । उनले कुरुक्षेत्रको युद्ध मैदानमा भन्दा चर्का किसिमका अनेक दुःख, कष्ट र पीडाको आवाजहरु सुन्न थाल्दछन् । उनी आत्तिन थाल्छन् र त्यहाँ आफुलाई किन ल्याइएको प्रश्न गर्दछन् । उनले अचानक पञ्चालीको दर्दनाक आवाज सुन्छन् । उनको चित्कार सुनेर उनलाई किन दुःख दिइरहेको भन्ने प्रश्न सोध्न नभ्याउँदै उनले अरु भाईका आवाजहरु पनि सुन्दछन् । उनले दूतहरुलाई प्रश्न गर्दछन् किन मेरा भाईहरु र पत्नी नर्कमा छन् र दुर्योधनहरु चाहिँ स्वर्गमा रु दूतहरुले यो हामीले गराएको नभई उनीहरुकै धर्म र कर्मले गराएको बरु युधिष्ठिरलाई त्यहाँबाट फर्किन सल्लाह दिन्छन् ।

युधिष्ठिरले भाईहरु र पत्नीलाई यस्तो ठाउँमा छाडेर जान नसक्ने बताउँछन् । केही बेर सोचेपछि युधिष्ठिरले आफु पनि नर्कमा नै बस्ने र देवलोकमा नजाने बताउँछन् । यसपछि इन्द्र आफै प्रकट हुँदै भन्छन्, तिम्रो न्यायप्रतिको झुकावको हामी कदर गर्छौँ तर यति सारा भइसक्दा पनि तिमीले दुर्योधन र उनका भाईहरुलाई घृणा गर्न छाडेनौ । तिम्रो यो निर्णय यसै घृणाबाट आएको हो । यात्रामा भाईहरु र पत्नी लडेर खस्दा तिमीले एक पटक पनि फर्केर हेरेनौ तर अहिले दुर्योधन, दुष्यान्त र शकुनीलाई देवलोकमा देख्दा तिमी मर्माहित भयौ । तिमीले उनीहरुका लागि यो घृणा जबसम्म त्याग्न सक्दैनौ तबसम्म तिमी र तिम्रा भाईहरु यहाँबाट निस्किन सक्नेछैनौ । उनी त्यहीँ बसेर ध्यानमा लिन हुन थाल्छन् र आफुभित्र घृणाको बिउ रोपिएको भेट्छन् । उनले घृणालाई माफी नगरेर आफैभित्र कुण्ठित बनाएर राखेको भेट्छन् । घृणाको एउटा बिउले पूरा जंगल फैलाउन सक्छ । सिर्जनाको अस्तित्व पनि एक बीजबाट नै हुने हो । उनमा रहेको त्यो घृणाले अर्को कुरुक्षेत्र निम्त्याउन सक्ने अनुभूति उसलाई हुन्छ । यसकारण, युधिष्ठिर आफुभित्रको घृणालाई माफी दिन ध्यानमा बस्छन् ।
चैत्र २०७४ मा युट्युबमा प्रकाशित सदगुरुको प्रवचनमा आधारित लेख ।
भाग पढ्न यहाँ क्लीक गर्नुहोस्
लाईभमाण्डु
  -सुयोग ढकालको अनुवाद


Loading comments...