बालचन्द्र शर्माको शतवार्षिकी: प्रज्ञाप्रतिष्ठान मौन


प्रसिद्ध इतिहासकार, राजनीतिज्ञ तथा साहित्यकार बालचन्द्र शर्माको शतवार्षिकी समारोह हिजो साँझ राजधानी काठमाडौंमा सम्पन्न भएको छ ।

बालचन्द्र स्मृतिसभाद्वारा आयोजित समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका संस्थापक उपकुलपति बालचन्द्र शर्माको शतवार्षिकी नेपाल प्रज्ञाप्रतिष्ठानले मनाउनु पर्थ्यो भन्दै प्रतिष्ठानले उहाँ जस्ता विभूतिको वास्ता नगरेकोमा दुक्ख मान्नुभयो ।

अरविन्द रिमालको सभापतित्वमा सञ्चालित सो समारोहमा पूर्वमन्त्री होमनाथ दाहाल, पूर्वराजदूत डा. मदनकुमार भट्टराई, बालचन्द्र स्मृतिसभाका सदस्यसचिव प्रा.प्रयागराज वाशिष्ट र कोषाध्यक्ष कल्पना घिमिरेले बालचन्द्र शर्माको व्यक्तित्व उपर प्रकाश पार्नु भएको थियो ।

इतिहास, साहित्य र राजनीति विषयमा बालचन्द्र शर्माका १६ वटा पुस्तक प्रकाशित छन् । उहाँ टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रीत्वकालमा शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँ रूस र फ्रान्सका लागि नेपाली राजदूत पनि हुनुहुन्थ्यो । राजा महेन्द्रको कुलपतित्वमा स्थापित नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा शर्मा उपकुलपति हुनुहुन्थ्यो ।

महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीका अनुसार बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परामर्शमा राजा महेन्द्रबाट नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापना भएको थियो ।

१९७६ भदौ ३ गते भारतको इलाहवादमा जन्मेका शर्माको २०३२ असार ६ गते काठमाडौंमा निधन भएको थियो । त्यति बेला उहाँ फ्रान्सका राजदूत हुनुहुन्थ्यो ।


Loading comments...