यार्सागुम्बा एउटा जैविक सुन


मान्छेका क्याराभानहरु उकाली लाग्दै हिमाल अनि पहाडका कापकापमा देखिएका छन् । यो समय हो खोजी को, खोजी छ जैविक सुन अर्थात यार्सागुम्बाको ।
ओढ्ने, ओच्छ्याउने अनि खाने सम्पूर्ण बन्दोबस्तीका सामानहरु लिएर यार्साको खोजिमा जोखिम मोल्दै उक्लिएका छन् । यार्सागुम्बा भेटिने मौसममा त समुन्द्री सतहबाट हजारौं मिटर माथिको गाँउहरु नै रित्ता हुने गर्दछन् । बिधालय बन्द अनि हातपाँउ चल्ने सबैजना यस जैविक सुनको खोजिमा निस्कने गर्दछन् ।

यार्सागुम्बा झुसिलकीरा प्रजातिको एउटा बिशेष फगंस फ्यूजनमा पर्दछ जसमा प्यारीस्टीक च्याउ उम्रीएर जमिनको मोर्थ लार्भा किरालाई मम्मीफाई अर्थात जैविक रुपले नै ढाकीदिन्छ । २ देखि ६ सेन्टिमीटर लामो यस जैविक सुन जमिनमाथी औंलाको टुप्पोजस्तो गरि देखा परेको हुन्छ ।

यस बिशेष जैविक पदार्थ नै विश्वको सबैभन्दा महंगो जैविक पदार्थ हो । गर्मीमा घाँस अनि जाडोमा किराका रुपमा तिब्बतमा पनि यस्त्र गुम्बु भनिन्छ । समुन्द्री सतहवाट ३००० देखि ५००० मिटरमा पाइने यस यार्सागुम्बा तिब्बती प्लेटमा नेपालका केही भाग अनि भुटानका थोरै ठाँउहरुमा मात्र पाइन्छ । अहिले आएर केवल शारीरीक क्षमता अनि यौनसम्पर्क क्षमता बृद्धि संग मात्र यार्सागुम्बालाई बुझ्ने गरिएको छ तर त्यो बिल्कुल गलत या अर्धसत्य हो । आजभन्दा २००० भन्दा धेरै बर्ष अघिबाटै बिभिन्न दुर्बलता, फोक्सो, मृगौला लगायतका समस्यामा पनि यसको प्रयोग भएको तथ्याकं छ । १५ औं शताब्दीको एउटा तिब्बती आर्युवेद लेखनमा यस जडीबुटीलाई सर्वगुणकारी भनि ब्याख्या गरिएको पाइन्छ । अहिले आएर क्यान्सर देखी बायल रोग सम्म पनि यसको उपयोग हुँदै आएको पाइन्छ ।

यार्सागुम्बाको आधुनिक इतिहास
सरसरती हेर्दा सन् १९९३ सम्म यार्सागुम्बा विश्व परिपेक्ष्यमा उत्ति चल्तीमा थिएन तर जब चीनकी एकजना महिला धाबिकाले बिश्व किर्तिमान राखेर आफ्नो शक्तिको राज कछुवाको ताजा रगत र यार्सागुम्बाको प्रयोग भनिन् तब विश्वमा यार्सागुम्बाको एउटा चहलपहल नै शुरु भयो । पर्यावरण बिध डानियल विकंलका अनुसार अहिले आएर चीनका धनी अनि शक्तिशाली परिवारमा यार्सागुम्बा एउटा समृद्धिको पहिचान अनि खुराक भएको छ भनि लेखेका छन् ।

एउटा सुकेको यार्साको तौल आधा ग्रामभन्दा कम हुन्छ र १ ग्राम यार्साको मुल्य स्थानीय बजारमा १८ डलर अर्थात लगभग २००० नेरु को हाराहारीमा आँउदछ । अन्तराष्ट्रिय बजारमा भने यसको मुल्य औसतमा १०० डलर भन्दा धेरै पर्न आउने र हरेक बर्ष अरबौं डलर बरावरको यार्सा बिदेशमा कारोवार हुने तथ्याकं देखाँउदछ । सन् २००१ मा नेपाल सरकारले यार्सागुम्बाको कारोवारलाई अवैध करार दिएपनि पछि आएर कारोवारलाई पुन बैधानिकता दिएको हो । विश्वमै तिव्बतपछि नेपालनै यार्सागुम्बाको दोश्रो ठूलो निर्यात राष्ट्र हो । सन् २०११ र १२ मै यार्सागुम्बाबाट नेपाल सरकारले ५२ हजार अमेरिकी डलर हाराहारीमा कर संकलन गरेको तथ्याकं छ । बिभिन्न संगठित समुहहरुले बिभिन्न नाममा गैरकानुनी करहरु भने यार्सागुम्बा सकंलकहरु संग लिइरहेको तथ्य भएपनि यस बिषयमा सरकार मौन छ । यार्सागुम्बा संकलनका क्रममा बिभिन्न अपराध अनि हिंसाका घटनाहरु सुनिने गरिन्छ तर हिमालको त्यो पार के हुन्छ नेपाली सरकारी संरचना उति चनाखो छैन् । कहिँकतै भने यस्ता उठाइएका रकमहरु स्थानीय बिकासका लागि खर्च भएका उदहारणहरु चाँही एउटा बिदेशी जर्नल अफ माउन्टेन साइटले उल्लेख गरेको छ ।

अहिले बिभिन्न बिदेशी जर्नल अनि पत्रिकाहरुले यार्सागुम्बालाई हिमालीहरुको जिविकोपार्जन को आधारका रुपमा ब्याख्या गरेका छन् । गत बर्ष सन् २०१७ को अगस्त महिनामा बिश्वप्रसिद्ध पत्रिका द डिप्लोमेटले पनि यार्सालाई जैवीक सुन अनि जिविकोपार्जनका आधारका रुपमा ब्याख्या गरेको छ । यार्सागुम्बाको खानी डोल्पा जिल्लामा केवल ७ प्रतिशत कृषकले मात्र बर्षभरि पुग्ने अन्न उव्जाउने तथ्याकं छ, खाधान्न संकटका लागि जोखिमपूर्ण रहेको डोल्पामा सबैभन्दा धेरै यार्सा पाइन्छ ।

करिब ९० प्रतिशत डोल्पालीहरु कृषी देखि बाहेक यसै जैविक सुनको संकलन बाट आम्दानी गर्ने गर्दछन् । द डिप्लोमेटका अनुसार उच्च हिमाली भेकमा जोखिमको उच्च बिन्दुमा रहेर पर्याप्त कपडा र मौसम सुहाँउदो जुत्ता बिना नै डोल्पालीहरु जैविक सुनको खोजिमा लागेका हुन्छन् । भयंकर पहाड, चिप्लीने भय लगायत अक्सीजनको न्यून उपलव्धतामा सुन संग खुशी साट्न डोल्पालीहरु लागिपरेका देखिन्छन् । केही बर्षअगाडि मनांग जिल्लामा यार्सा संकलनको बिवादमा दुईजनाको निर्मम हत्या भएको आरोपमा सन् २००९ मा ६ जनालाई आजिवन कारावास अनि १३ जनालाई हत्याको आरोपमा सजाय दिइएको पनि छ ।

यस्ता धेरै हत्या अनि हिंसाहरु यार्सागुम्बाका साइड इफेक्ट हरु हुन्, हिमालपारीको श्रोत अनि अधिकारको रक्षा पनि अत्यन्त कडी अनि चुनौतीका रुपमा नेपाल सरकार सामु छ । यार्सागुम्बामा उचित लगानी, नीति कार्यान्वयन अनि त्यसको दिघोपनाका लागि सरकार चनाखो हुन नसक्नु पनि हिमालपारिको दुर्भाग्य नै जस्तो भएको छ ।
जैविक सुन अनि सुनारेहरुको रक्षा हुन जरुरी छ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...