योग : जीवन सफल बनाउने सूत्र


काठमाडौँ, १७ पुस  : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने संसारमा मानिस जीवित रहन पहिले जीवनलाई बचाउन जरुरी हुन्छ । यो भनेको आफू संसारमा जीवित रहनका लागि जीउने जीवन पद्धति जान्नुपर्छ, बुझनुपर्छ । सुत्ने, उठ्ने र खाने तरिका ठीक हुनुपर्छ । सकारात्मक सोच बनाउनुपर्छ । अनिमात्र मानिस निरोगी र दीर्घजीवी हुनसक्छ । यसो हुन अहिलेको युगमा रामदेव बाबा, हरिजी माहाराज, भानु शर्मा र रमेश नेपाल समेतलाई सम्झेर उहाँहरुको जीवन पद्धति अनुशरण गर्न जरुरी छ । यसो गर्न सकेमात्र मानिस निरोगी र दीर्घजीवी हुन सक्छ र यसैमा खुसी र सुखी दुवै हुन सकिन्छ । जीवनको अन्तिम सफलता र उपलब्धि पनि यही हो ।

मानिस रोगी भएर बाँच्नुको अर्थ छैन । यसरी बाँच्नु भनेको बेकार हुनु हो । यसरी बाँचेका मानिस आफैंमा र संसारका लागि बोझ मात्र हो । यसरी बाँचिरहेका मानिस खुशी र सुखी हुनै सक्दैनन् । त्यस्तो मानिसको जीवन कदापि सफल हुनै सक्दैन । यिनीहरुले कुनै प्रगति गर्न सक्दैनन् । आफ्ना लागि आफैं बोझ भएर बाँचेका मानिसले अरुलाई सहयोग गर्ने कुरै भएन । यिनीहरु जति दिन बाँच्छन् अरुको आश, भरोशमा बाँचेका हुन्छन् । यस्ता मानिस बाँचेसम्म जसरी, तसरी बाँच्ने मात्र हो । खुशीसाथ सुखी भएर बाँच्न सम्भव नै हुँदैन । जीवनभरि ऐय ऐय…भनेर बाच्नुपर्ने बाध्यतामै बाँचिरहेका हुन्छन् । यो भनेको यही संसारमा यही जीवनकालमा नर्कमा डुबिरहनु हो । जो आफैं रोगी छ, केही गर्न सक्दैन । सँधै बिमारी भइरहन्छ । कुनै काम गर्न सक्दैन । सधँै डाक्टर र औषधिको प्रयोग गरिरहन्छ, उस्को जीवन के जीवन ? यस्तो जीवन बिताउनु परेमा बुझ्नुहोस् नर्कको जीवन बिताइरहेको भन्नै पर्छ । जो मानिस सँधै निरोगी छ । सधैँ हँसिलो रसिलो छ । जुनसुकै काम, जतिबेला पनि गर्न सक्छ । आफ्नो काम आफैँ गर्न सक्षम छ । परेका बेलामा अरुलाई पनि सहयोग गर्न सक्षम छ भने त्यो मानिस सबैका लागि प्रेरणाको स्रोत बन्छ । यस्ता मानिस आफ्ना लागि र अरुका लागि पनि खुसी, र सुखीको थलो सधैँ भइरहन्छ । यो भनेको ऊ सधैँ स्वर्गमा नै रहेको हुन्छ । यस्तो हुन जीवन जीउन जान्नुपर्छ । अनि मात्र खुसी र सुखी हुन सकिन्छ ।

खुसी र सुखी हुने सूत्र:

यसो हुन सर्बप्रथम हरेक मानिसले आफ्नो जीवनचक्र बुझ्न जरुरी हुन्छ । यो भनेको मानिसको लागि यो संसारमा सँधै एकनास हुँदैन । बच्चा, जवान, बुढो हुने जीवनचक्र हो । सधैँ कोही बाँच्दैन । चाहे कोही कति नै धनी, विद्धान वा राजा र मन्त्री नै किन नहोस् । यसो भएकाले सबैका लागि मृत्यु अनिवार्य छ । मोटो– पातलो, रोगी–निरोगी, धनी–गरिब, ठूलो–सानो सबैले एकदिन मृत्युवरण गरेर यो संसारबाट बिदा हुनै पर्छ ।

यो अकाट्य सत्य हो । केवल कुन दिन को मर्छ यो भने कसैलाई थाहा हँदैन । यो थाहा पाउन जरुरी पनि छैन । केबल म मर्छु भनेर हरेकले बेलैमा बुझेर सोहीअनुसार काम गर्नसके सजिलै जीवन सफल बनाउन सकिन्छ । यो भनेको फेरि पनि जीवनलाई बेलैमा बुझेर खुसी र सुखी हुनु नै हो । यसो हुन अरुले केही गर्नै पर्दैन । आफैँ हुन सकिन्छ । यसो हुन बुढो हुन पनि पर्दैन । जीवनको महत्व बुझेर बेलैमा वा उमेर छँदै सजिलै हुन सकिन्छ । यसो हुन कुनै खर्च गर्न पर्दैन । धेरै पैसाको पनि जरुरी पर्दैन । केवल सहीजीउने जीवन पद्धति बेलैमा जाने पुग्छ । यसका लागि सही र सकारात्मक सोच हुन मात्र जरुरी पर्छ ।

योग के हो र कसरी गर्ने ?

योग एकदमै सजिलो र सस्तो उपाए हो एकरात दिनमा २४ घन्टा हुन्छ । जतिसुकै काम गरे पनि, जस्तोसुकै व्यस्त भए पनि २४ घन्टामा बढीमा एक घन्टा मात्र समय आफ्नो स्वास्थ्यका लागि दिए पुग्छ । यति समय आफ्ना लागि नदिएर काम गरेर कमाउनु भनेको कस्तो कमाउने हो र के का लागि कमाउनु हो ? यसो गर्नु भनेको फेरि पनि जीवनको सही अर्थ नबुझ्नु नै हो ।

सही अर्थमा जीवनलाई बुझ्ने मानिस बिहान ४ बजे उठेर दिसा पिसाब जे सम्भव हुन्छ गरेर, हात मुख कुल्ला गरेर योगासनमा बस्नुपर्छ । यो योग गर्ने तरिकाको लागि बिहान ५ बजे भारतीय टिभी च्यानलमा प्रशारण हुने रामदेव बाबाको योग पद्धति केही दिन हेरेर अभ्यास गरे आफैंँ सजिलै जान्न सकिन्छ । यो योग क्रियाअन्तर्गत कपालभाँती अनुलोम, बिलोमसमेतका धेरै विधिहरु छन् । यसअन्तर्गत योग, ध्यान र व्यायाम सबै पर्दछ । यतिमात्र नियमित दैनिक गर्नसकेमा त्यो मानिस शारीरिक र मानसिक दुवै दृष्टिले तन्दुरुस्त हुन्छ । यसो भयो भने उ सधँै निरोगी हुन्छ र उस्ले अरुले भन्दा राम्रोसँग सबै काम सजिलै गर्नसक्छ । यो भनेको आफैँले आफूलाई गर्ने अचुक औषधि हो । यसलाई पैसा हालेर किन्नै पर्दैन, आफैँले बिहान आधा घन्टादेखि एक घन्टासम्म जाँगर मात्र लगाए पुग्छ । यस्तो सजिलो र सस्तो औषधि पनि हामी नगरेर रोगी हुन्छौँ, अकालैमा मर्छौं । यो भन्दा विडम्बना मानिसको जीवनमा के हुन्छ ? त्यसैले हरेक मानिसले जान्न र बुझ्नैपर्ने के हो भने जीवनभरि खुसी र सुखी रहेर जीवन सफल बनाउन बिहानै योग गर्न अनिवार्य छ । सुरुमा केही दिन गाह्रो र असजिलो लागे पनि बानी परिसकेपछि एक दिन योग गरेन भने खान मन पनि लाग्दैन र निन्द्रा पनि लाग्दैन । अनी दिनभरि के नभएको, के नभएको जस्तो असजिलो भइरहन्छ । यसरी योग गर्नु भनेको शरीर र मन दुवै चङ्गा हुने सजिलो उपाय हो ।

यस सम्बन्धमा यो पंतिकारको २५ वर्षदेखिको लामो अनुभव रहेको छ । करिब ३० वर्ष पहिले मलाई मधुमेहको रोग सुरु भयो । जुनबेला मेरो उमेर ४३ वर्षको थियो र म वकालत पेसामा धेरै व्यस्त थिएँ । त्यसपछि डाक्टरको सल्लाहअनुसार मैले औषधि सेवन गर्न सुरु गरें । त्यसपछि पनि मलाई रोगले च्याप्दै गएपछि डाक्टरकै सङ्केतअनुसार मैले भारतीय टिभी च्यानल हेरेर रामदेव बाबाले गरेको योग गर्न सुरु गरेदेखि मेरा समस्या जीउ झन्झनाउने, टाउको दुख्ने रिंगटा लाग्ने र विस्मरण हुनेसमेतका समस्या सबै ठीक भए र अहिले मेरो शारीरिक र मानसिक दुवै अवस्था २५ वर्ष पहिलेभन्दा पनि ठीक छन् । अहिले मेरो उमेर ७३ वर्षको भए पनि शरेक काम गर्न उत्तिकै सक्रिय छु र स्मरण शक्ति पनि राम्रो छ ।

यसो हुनुमा म शुद्ध शाकाहारी भोजन र योग अभ्यास नै मुख्य हो । सुखी हुन पहिले खुसी हुन जरुरी छ । खुसी हुन लोभ पाप त्यागेर सकारात्मक सोच सिर्जना गर्नुपर्छ । सकारात्मक सोचले मानिसलाई सन्तोषी बनाउँछ । यसो भएपछि मानिस स्वतः परोपकारी बन्छ । यी सबैकुरा योगमैनिहीत हुन्छ । योग गर्नाले एकैपटक सजिलै पाउन सकिन्छ ।

मानिस विवेक प्राणी भएकाले आफ्नो जीवन सफल पार्न हरेक मानिसले विवेक प्रयोग गर्न सक्नु पर्छ । जीवन जीउनु भनेको आफूले मात्र खानु, लाउनु हुँदै होइन । अरु मानिसलाई, समाजलाई र समग्रमा संसारलाई नै सेवा र सहयोग गरेका मानिसलाई उत्कृष्ट मानिस भनिएको छ । जीवनको यथार्थ बुझ्न आफू सबै दृष्टिले सक्षम हुन जरुरी हुन्छ । यसो हुनु योग गरेकै हुनुपर्छ । योगले शरीर र मनलाई निरोगी बनाउँछ र शान्त मन बनाएर जीवनको यथार्थ बोध हुन्छ । अनि मात्रै मानिस सधैँ सकारात्मक भावले खुसी र सुखी बन्दछ ।

यसरी जीवन सफल बनाउने सूत्र योगबाट फेला पार्न सकिन्छ । यही भएर विभिन्न योग गुरुहरुका योग अभ्यासका प्रयोगकर्ताले आफ्नो मात्र जीवन सफल बनाएका छैनन्, संसारभरिका मानिसको जीवनलाई योगमार्फत सही दिशाबोध गरेर जीवन सफल बनाउने सूत्र दिइरहेका छन् । जसजसले ती सूत्रहरुलाई आफ्नो जीवनमा पनि अभ्यास गरेका छन्, उनीहरुको जीवन सार्थक बनेको छ ।


Loading comments...