रोनाल्डो म्यान्चेस्टर युनाइटेडमा फर्किए


लन्डन (एजेन्सी) । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । शुक्रबार युभेन्टसका स्ट्राइकर रोनाल्डो २ वर्षका लागि ओल्ड ट्राफोर्ड फर्किएका हुन् ।

नयाँ सिजनको सुरुबाटै रोनाल्डोले युभेन्टस छोड्ने चर्चा सुरु भएको थियो । यद्यपि उनले इटालियन सिरी एअन्तर्गत पहिलो खेलमा उडिनेशविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

रोनाल्डो ३ करोड १० लाख पाउन्डमा २ वर्षका लागि पूर्वक्लब युनाइटेडसँग अनुबन्धित भएका हुन् । रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्काएको युनाइटेडले ट्विट गरेर पुष्टि गरेको छ । उसले भनेको छ, ‘वेल्कम होम’ क्रिस्टियानो रोनाल्डो ।

रोनाल्डोले युभेन्टस छोड्ने चाहना व्यक्त गरेपछि युनाइटेडको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले पनि पोर्चुगाली स्टारलाई भित्र्याउने प्रयास गरेको थियो । अन्तिम समय सिटी सम्झौताबाट पछि हटेको थियो ।

सन् २००३ मा स्पोर्टिङ लिस्बनबाट ओल्ड ट्राफोर्ड भित्रिएका रोनाल्डोले क्लबसँग सन् २००९ सम्म बस्दै १९६ खेलमा ८४ गोल गरेका थिए ।

सन् २००९ मा रोनाल्डो स्पेनिस ला लिगा क्लब रियल मड्रिडमा अनुबन्धन भएका थिए । रियलमा ९ सिजन बिताएका रोनाल्डोले २९२ खेलमा ३११ गोल गरेका थिए । उनले रियलबाट लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनी सन् २०१८ मा युभेन्टसमा अनुबन्ध भएका थिए ।

एक बर्षको सम्झौता बाँकी रहँदै रोनाल्डो पूर्व क्लब म्यानचेस्टर युनाइटेड पुगेका हुन् ।


Loading comments...