pradeep, jasita, meet megha

लभ स्टेशन टिमबाट मेघालाई एक लाख सहयोग


चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेर भक्तपुरमा भेटेर आर्थिक सहयोग गरेको छ । आगामी २२ चैतमा रिलिज हुने यो फिल्मका तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरियो ।
लभ स्टेशनका तर्फबाट अभिनेता प्रदीप खड्कासहित अभिनेत्री जसिता गुरुङ, लभ स्टेशनका निर्माता गोविन्द शाही र सो चलचित्रका संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटेका हुन् ।

दुबै हात गुमाएकी मेघाको हात राख्नको लागि आर्थिक सहयोगको आबश्यक्ता परेको पीडा सुनेपछि अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही र संगीतकार एलिसले चलचित्र लभ स्टेशनका तर्फबाट १ लाख रुपैयाँ प्रदान गरे । कलाकार शिषिर भण्डारीले जम्मा गरेर ४ लाख सहयोग पनि सोही क्रममा अभिनेता प्रदीप खड्काले मेघालाई प्रदान गरे ।

यो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्ने विश्वास प्रदीपले व्यक्त गरे । आफुले सोचेको भन्दा मेघा निकै फरक र शाहसिक पाएको पनि यी अभिनेताले बताए । यस्तै अभिनेत्री जसिताले पनि मेघाको हात राख्ने चाहना चाँडै पुरा होस भन्ने कामना गरिन् । आफ्ना प्रिय नायक, नायिकालाई घरमै भेट्न पाउँदा आफुमा पनि खुसीको सिमा नरहेको मेघाले बताईन् ।

निर्माता गोविन्द शाहीले दर्शकका प्रिय कलाकारहरुले दर्शकका लागि सहयोग गर्दा आपसी सम्बन्ध अझ निकट हुने बताए । लभ स्टेशन आफैंमा पारिवारिक एवम् प्रेमकथामा आधारित सामाजिक चलचित्र भएकाले आफुहरुले पनि समाजमा मेघालाई स्थापित गर्न उनलाई भेट्नुका साथै सहयोग प्रदान गरेको निर्माता शाहीले बताए ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशनमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।
लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।


Loading comments...