विद्रोही प्राज्ञ प्रेमा शाह


वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईद्वारा लिखित प्रेमा शाहको जीवनी पढिसकेपछि मेरा मनमा धेरै कुरा जन्मिए, धेरै समय म यसैमा घोरिएँ ।

२००१ सालमा जन्मिएकी प्रेमा शाहका कृतिहरू वनावटि र देखावटि स्वरुपभन्दा यथार्थमा आधारित छन् । उनी लेख्ता कुरा नदवाई लेख्थिन् र उनले यौन (Sex) का विषयमा प्रस्ट विचार राखेर आफूलाई साहित्यकारका रूपमा परिचित गराएकी थइन् ।

लेखकः इन्दिरा दीक्षित

लेखक नरेन्द्रराज प्रसाईले भने जस्तै प्रेमा शाहको साहित्य दर्शन यौन (Sex) थियो र उनले निडर भएर सेक्सको दर्शन साहित्यमा छाँटिरहिन् । उनको विचारमा महिला र पुरुष विचमा हुने यौन सम्बन्ध भनेको प्राकृतिक बरदान हो र यसलाई बन्द कोठामा मात्रै सीमित राख्नु आवश्यक छैन । यौनका विषयमा यसरी खुल्ला मान्यता राख्ने प्रेमा शाहको सम्पूर्ण जीवनगाथा पढेर धेरै कुराको जानकारी भएको अनुभूत सँगालेँ मैले । यौनका विषयमा स्वछन्द तरिकाले खुलेर लेख्ने र कविता वाचन गर्दै हिडेकी प्रेमलाई त्यतिबेलाको समाजले त्यति सारो पचाउन सकेन जस्तो लाग्छ । त्यति खेरदेखिका उनका स्वरलाई सङ्कलन गरेर प्रसाईले विद्रोहीको सँज्ञा भिराइ दिएका हुन भन्ने लाग्दछ ।

सम्भ्रान्त परिवारमा हुर्किएकी प्रेमा शाह सिंगो नारीजातीकी प्रतिनिधि पात्र हुन् । पुरुषप्रधान हाम्रो समाजमा उनको जीवनको कथा व्याथा आम महिला माथि आइपरेका र भोग्नु परेका समस्याहरुबाट पृथक रहेको भने होइनन् । फरक यत्ति हो कि सबैजसो महिलाहरु आआफ्ना असैह्य वेदना र समस्याहरुलाई लुकाएर घरभित्रै पिल्सिएर र रोएर बसेका हुन्छन् भने प्रेमा शाहले पुरुष र समाजको थिचोमिचोलाई आफ्नो साहित्यको माध्यमबाट अगाडि ल्याउन हिम्मत गरिन् जुन कुरा समाजलाई पाच्य भएन र अहिलेसम्म पनि उनलाई विद्रोही नै मानियो । तर प्रसाईले प्रेमालाई विद्रोही मात्र मानेनन् उनलाई प्राज्ञको दर्जामा राखिदिए जसले गर्दा प्रेमा शाह नेपाली साहित्यकी अजर प्राज्ञ बनेकी मैले महसुस गरेकी छु । प्रेमा शाहलाई प्राज्ञ भनेको अहिलेको दलीय भागबन्डाको प्राज्ञ होइन, प्रेमा शाह जनमनकी प्राज्ञ ! देवकोटा पनि जनमनका महाकवि ! सबैका मन पर्ने !

यो पनि पढ्नुहोस्ः

https://livemandu.com/11476/

नेपालका महिलाहरु केही बाहेक आज पनि पुरुष विना असुरक्षित महसुस गर्छन् । उनीहरू लान्छना र तिरष्कार सहेरै परिवारभित्रै पिल्सिएर बसेका हुन्छन् । तर आजभन्दा लगभग ५० वर्ष जति अगाडिको समाजमा एउटी महिलाले आफ्नो अनुकूल नबनेको समाज र सरल हृदय नबुझ्ने परिवारको सारा वैभवलाई लत्याएर एक्लो जीवन विताउन खोज्नु आफैंमा साहसिक र चुनौतिपूर्ण कार्य थियो । सुखसयल कस्तो हुन्छ भन्ने कुरा बाल्यकाल र किशोरकालमा भोगेकी प्रेमाले अभावले ग्रस्त एक्लो जीवन रोज्नु सबै महिलाको क्षमताभन्दा बाहिरको कुरा थियो, यस्तो साहसिक कार्य गरेर उनले समाजमा एउटा नजिर स्थापना गरेकी थिइन् ।

नरेन्द्रराज प्रसाईले प्रेमा शाहको अटल सालिक उभ्याइदिए । जल शाहले भने जस्तै “विद्रोही प्राज्ञ प्रेमा शाह” को जीवनी पुस्तकभित्र प्रेमाको सास मात्र छैन, तर उनको सम्पूर्ण चित्रण छ ।

यो किताप पढेपछि प्रेमा शाहमाथि मलाई श्रद्धा पलाएको छ, उनको हिम्मतलाई मेरो सलाम छ । लेखक प्रसाईलाई यस्तै स्रष्टालाई उजागर गरिरहने शक्ति प्राप्त भइरहोस् भन्ने शुभेच्छा पनि !


Loading comments...