विमान आकारको लक्जरी ब्याग वास्तविक विमानभन्दा महङ्गोमा बिक्री


सीएनएन । लुइ भुटानको विमान आकारको लक्जरी ह्यान्डब्याग ३९ हजार डलर अर्थात नेपालको ४६ लाख रुपैँयाभन्दा धेरैमा बिक्री भएको छ । सो रकममा वास्तविक उड्ने विमान नै खरिद गर्न सकिने बताइएको छ ।

लुइ भुटानको लक्जरी डिजाइन हाउसले यसअघि भ्रमणमा आधारित कलेक्सन सार्वजानिक गर्दा यसलाई पनि समावेश गराएको थियो । अहिले यो अधिक महङ्गो ब्याग ‘विमान जसरी उड्न पनि सक्छ ?’ भनेर सामाजिक सञ्जालमा व्यंग्यात्मक प्रतिक्रिया आइरहेको छ । एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, “त्यहाँ राखिएका सामानहरु भेट्टाउन सकिएला त ? च्यापस्टिक कता छ ? तपाईँले ककपिटमा खोज्नुभयो ?”

लुइ भुटानको लोगो भएको यो ब्याग सैन्य विमान जस्तो देखिन्छ । यस किसिमको उत्पादन चर्चित हलिउड सेलिब्रेटी लेडी गागा अथवा कार्डी बीका लागि उत्साहजनक हुन सक्ने पनि बताइएको छ ।

यसलाई ‘मेन्स आर्टिस्टिक डिरेक्टर’ भर्जिल एब्लोहले बनाएका हुन् । जसले यसअघि ‘डिजाइन भनेको अहिलेको सबैभन्दा नयाँ स्क्याम हो’ भन्ने विवादास्पद ट्विट गरेपछि डिलिट गरिदिएका थिए ।

फेशनलाई फलो गर्ने कतिपयले यो डिजाइनलाई अत्यन्तै आकर्षक भनेर टिप्पणी गरेका छन् । तर, अधिकांशले यसको मूल्य अत्याधिक भएको गुनासो गरेका छन् ।


Loading comments...