वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई कोरोनाभाइरस संक्रमण – लेख्छन् कोरोनाको लडाई जितेर पुनः तपाईको सेवामा आउने छु


काठमाडौं, १५ साउन । लामोसमय कोरोनाभाइरसको नियमित चेकजाँच रोक्किएर गत गत साताबाट मात्रै नियमित चेकजाँच प्रारम्भ भए लगत्तै संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । संक्रमित देखिने क्रम जारी छ र संक्रमितहरुको संख्यामा वीरगञ्जका उद्योगी तथा वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगी पनि थपिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एउटा विस्तृत स्ट्याटस लेख्दै आफूमा कोरोनाभाइरस पोजेटिभ भएको पुष्टि गरेका छन् ।

पर्सा जिल्लामा हालसम्म १ सय ९० जना कूल संक्रमित भेटिएका छन् भने १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यसैगरी १ सय ८८ जनाले कोरोनाभाइरस संक्रमणमाथि बिजय प्राप्त गरी स्वस्थ भएका छन् । आजै मात्र थप ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी, प्रहरी, सेना लगायतलाई सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले बताए ।

संक्रमितहरुमध्ये नारायणी अस्पतालका नौ जना स्वास्थ्यकर्मी तथा एक एम्बुलेन्स चालक पनि रहेको बताइएको छ।

उनको फेसबुक स्ट्याटस जस्ताको तेस्तैः

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।

विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जवासीलाई बचाउन मैले हर संभव प्रयासहरु गरे । संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जीवनरक्षाको लागि अथक प्रयत्न गरे । वीरगञ्जलाई बचाउन पिसिआर मेशिन, परिक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरे । क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरुसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्नेको व्यवस्था मिलाए । वीरगञ्जलाई ग्रिन जोन बनाउने उद्देश्यका साथ एकघर एक परिक्षणको अभियान सञ्चालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समूदाय स्तरमा फैलिसकेको रहेछ । तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काेराेनालाई जित्ने छु ।

पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगञ्ज आक्रान्त बनेको छ, वीरगञ्जलाई बचाउन अग्रमोर्चामा रहनुहुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु । अव स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगञ्जवासी दाजूभाई दिदी बहिनीको जीवनरक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह गर्दछु । साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजूभाई दिदी बहिनीमा अपिल गर्दछु कोभिड-१९ का विरुद्ध महानगरपालिकाले लिएका नीतिप्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाई जितेर पुन: तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।


Loading comments...