चर्चित युवा नेता समुन्द्र केसीको ललितपुर क्षेत्र नं. ३ (क)मा उम्मेदवारी


काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्।

ब्रिटिस कलेज, थापाथलीबाट सूचना प्रविधिमा स्नातक गरेका केसीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्।

शिक्षण पेसा तथा व्यवसायमा आबद्ध केसी वैकल्पिक राजनीतिमा साधारण सदस्यबाट ललितपुर जिल्ला नेतृत्व हुँदै बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी केन्द्रीय समितिमा रहेर विभिन्न नीतिगत तथा अभियानहरूमा नेतृत्वदायी भूमिकामा छन्।

उद्यमशीलता, सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर संलग्न केसी २०७२ सालमा संविधान घोषणा हुँदा नेपालमा भएको नाकाबन्दीमा देशको विकराल अवस्था देखेर राजनीतिमा होमिएको बताउछन्।

उनले विपत् व्यवस्थापनका निम्ति भूकम्प, बाढी–पहिरो, तराईमा हुरी–बतास, आगलागी तथा कोरोना महामारी कालमा मैदानमा खटेर उल्लेख्य योगदान गरेका थिए।

केही महिना अघि मलेसियामा भएको राजनीतिक युवाहरूको सम्मेलनमा नेपालको तर्फबाट केसीले प्रतिनिधित्व गरेका थिए।

एक पाइला परिवर्तन तर्फ संस्थाको पूर्व अध्यक्ष रहेका केसी अन्तर्राष्ट्रिय पदकधारी तेक्वान्दो खेलाडी पनि हुन। उनले युवाहरू माझ चर्चित बहस कार्यक्रममा समेत सक्रिय भूमिका खेलेका थिए।

डाक्टर गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलन, ‘ईनफ इज ईनफ’ अभियान, महिला हिंसा विरुद्धको अभियान, नेपाल खुल्ला छ अभियान, ट्राफिक सचेतना अभियान लगायतका अभियानहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका केसी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा सक्रिय रूपमा होमिँदै आएका छन्।


Loading comments...