साङ्गीतिक समूह ‘कन्दरा’का सुरीला बिवेक एमएनटीभी अष्ट्रेलियाको अपरेशन म्यानेजरमा नियुक्त


मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा सन् २०१२ देखि सञ्चालनमा आएको माई नेपाल टेलिभिजन (एमएनटीभी) अष्ट्रेलियाको अपरेशन म्यानेजरमा चर्चित व्याण्ड कन्दराका गायक विवेक श्रेष्ठ नियुक्त भएका छन् । गत जनवरी १ देखि लागू हुने गरी उनी अपरेसन म्यानेजरको रुपमा नियुक्त भएका हुन् । गायक श्रेष्ठ व्याण्ड कन्दराको ब्रान्ड एम्बेसडर, प्रवक्ता एवं लिड भोकलिष्ट हुन् । एक दशक भन्दा बढी बेलायतलाई कर्मक्षेत्र बनाएका गायक श्रेष्ठ विगत दुई वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

बेलायत रहँदा श्रेष्ठले त्यहाँको कोमेट ग्रुप लिमिटेडमा कम्पनीमा करिब १० वर्ष मानव संशाधन र व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए । यस्तै उनले आफ्नै नोन मिडिया एण्ड ईन्टरटेन्मेन्ट लिमिटेडमा प्रबन्ध निर्देशकको रुपमा पनि काम गरेका छन् । यस बाहेक स्कील्स एण्ड केयर युकेको संस्थापक निर्देशक, हेल्प नेपाल नेटवर्कको सदस्य र विभिन्न अन्य सामाजिक संस्थाहरुमा पनि उनले स्वयंसेवीको रुपमा आफ्नो क्रियाशीलता देखाएका छन् । विभिन्न निजि तथा सामाजिक कार्यहरुमा म्यानेजर र संस्थापकको भूमिकामा आफ्नो कुशलता देखाइसकेका श्रेष्ठको व्यवस्थापकीय पाटो पनि अब्बल रहेको छ ।

एमएनटीभी अष्ट्रेलियाले सञ्चालन गरेको हल अफ फेम सिजन २ का तीन निर्णायकमध्ये एक विवेकलाई एमएनटीभीको नयाँ जिम्मेवारीमा स्वागत गर्दै संस्थाका अध्यक्ष चन्द्र योन्जनले श्रेष्ठको आगमन एमएनटीभीको लागि पक्कैपनि फलदायी हुने बताएका छन् । त्यससँगै श्रेष्ठको लामोसमयको व्यवस्थापकीय अनुभवले संस्थालाई नयाँ उचाई दिर्दै सफलताको बाटोतिर लाने विश्वास व्यक्त गरेका छन् ।

एमएनटीभी अष्ट्रेलियाको उद्देश्य नै नेपालभित्र रहेका नेपाली र सिमाना बाहिर रहेका नेपालीहरुलाई भाषा, संस्कृति, गीत, संगीत र सूचनाको माध्यमबाट जोड्ने रहेको छ । एमएनटीभीले नेपाल व्यूरोको स्थापना गर्नुका साथै अष्ट्रेलियाका सबै राज्यहरु आफ्नो सञ्जाल विस्तार गरेको छ ।

यससँगै गायक श्रेष्ठ एमएनटीभीको परिवारसँग जोडिन पाउँदा आफूलाई खुशी लागेको र एमएनटीभीलाई एउटा नयाँ स्वरुपमा लान आफू तत्पर रहेको पनि बताएका छन् । उनले आफ्नो यो नयाँ कार्यमा सबैको साथ, सहयोग र हौसलाको अपेक्षा गरेका छन् ।

नेपाली संगीत आकाशमा छुट्टै पहिचान स्थापित गर्न सफल विवेक श्रेष्ठको हिउँ त हैन फापरेको डंगुर हंगकंग पोखरा, Lekaki Hey Maya (लेककी हे माया), तगारोमा रुमाल राखी | Tagaro ma Rumal Rakhi लगायतका गीत आम सर्वसाधारणले रुचाएका छन् । अझै पनि संगीत साधनामा तल्लीन श्रेष्ठले व्याण्डसँगै अमेरिका, बेलायत, बेल्जियम, फिनल्याण्ड, अष्ट्रेलिया, सिंगापुर, कोरिया, दुबई लगायत दुई दर्जनभन्दा बढी देशहरुमा कन्सर्ट दिइसकेका छन् ।


Loading comments...