सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुडा प्रहार


सुर्खेत, न्यूजकारखाना । सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुडा प्रहार भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्षसमेत रहेका २५ बर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगको धमला चोकमा खुडा प्रहार भएको प्रहरीले बताएको छ । शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औला र बायाँ हातमा चोट लागेको जानकारी दिए । यद्यपि घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने उनले बताए ।

मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले जानकारी दिए । उनले भने, ‘घटनाको सुरुवात बिहीवार साँझ एक होटेलबाट नै भएको बुझिएको छ। खुडा हान्ने को हुन भन्नेबारे स्पष्ट जानकारी आइसकेको छैन ।’

गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ् होममा उपचार भइरहेको छ ।


Loading comments...