स्वरसम्राज्ञी : अरुणा लामा


हाँसीहाँसी जलिरहेँ, खुसीसँगै बलिरहेछु
आगो सल्काई छातीभरि रुखो हाँसो देखाइरहेछु ।
(स्वर: अरुणा लामा, सङ्गीत: कुन्दनराज सुब्बा, शब्द: नरेन्द्रराज प्रसाई )

अरुणा लामाले प्रायः वेदना, व्यथा र पीडाका गीतहरू मात्र गाइन् । एकातिर अरुणाको स्वरमा जन्मजात कारुणिकता भरिएको थियो भने अर्कातिर उनको जीवन सङ्घर्षैसङ्घर्षले बेरिएको थियो, व्यथै व्यथाले भरिएको थियो र दुक्खै दुक्खले चुलिएको थियो । मानौँ अरुणाको जीवन नै एउटा दुखात्मक कथा थियो अनि यही कथा नै नेपाली साङ्गीतिक फाँटमा एउटा ज्वलन्त करुणाको उदाहरण बनेर अरुणाको उदय भयो । अनि त्यही कथाले नै उनी स्वरकिन्नरी भइन्, मेलोडी क्विन भइन् र नाइटिङ्गेल अफ हिमालय भइन् । त्यतिमात्र होइन गीतका पारखीले उनलाई ट्राजेडी क्विन पनि भन्थे । यी सबै बेहोरालाई जोडेर छोटकरीमा अरुणा लामाको परिचय दिँदा उनी स्वरसम्राज्ञी थिइन् ।

लेखकः नरेन्द्रराज प्रसाई

अरुणा र शरणको मिलनबाट एउटी छोरी सपना र एउटा छोरा सुप्रित जन्मे । छोरी सपना पनि गीतगायनमा अग्रसर भइन् । अरुणा र शरणको दाम्पत्य जीवनको १० वर्षपुग्दानपुग्दै अरुणाका जीवनमा एउटा विनाशको हुन्डरी आयो, एउटा कालो आँधी आयो र उनका टाउकामा पृथ्वी नै आएर थेचारियो । अर्थात् भनौँ शरण प्रधान मुर्छा पर्दापर्दै संसारबाटै बिदा भए । अनि फेरि अरुणा रुन थालिन् :

अरुणाको रिकर्डिङ भएको पहिलो गीत थियो ‘हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न !’ यो गीत उनले रेडियो नेपालमा २०१६ सालमा रिकर्डिङ गराएकी थिइन् । पहिलो गीत रिकर्डिङ गरेको अर्को वर्षअर्थात् २०१७ सालमा यिनले दार्जीलिङको गभर्नमेन्ट कलेजबाट स्तातक उत्तीर्ण गरिन् ।

नेपाली गीतिफाँटमा अरुणाको एउटा बेग्लै स्वणिर्म अभिलेख, विशिष्ट स्थान र अभूतपूर्व देन रहृयो । नेपाली गायनको इतिहासमा हाँसीहाँसी पनि वेदनाको गीत गाउने कलाकारमा अरुणा सर्वोत्कृष्ट मानिन्छिन् । उनको यही कारुणिक स्वरलाई हृदन्तरदेखि स्वीकार्दै नेपाली गायनकी शिखर तारादेवीले भनेकी थिइन् “दुक्ख र वेदनाको स्वरबाट अरुणाले नेपाली परिवेश ढाकेकी थिइन् ।”

उदास मेरो जीवनकथा कसैलाई भनिनँ
यो जन्मभरि सहेको व्यथा त्यो पनि भनिनँ ।
(स्वर : अरुणा लामा, सङ्गीत: नारायणगोपाल, शब्द: भैरवनाथ रिमाल कदम)

अरुणाको जन्म दार्जीलिङको घुमपहाडमा २००२ साल भदौ २४ गते आइतबार भएको थियो । अनि यिनको चिनाको नाउँचाहिँ दाँतेमा तामाङ थियो । उनी सानैदेखि नाच्न, गाउन भनेपछि हुरुक्कै हुन्थिन् । सानामा गीत गाउँदा यी अग्लो माइकमा पुग्न सक्तिनथिन्; तर त्यस्तो स्थितिमा यिनलाई यिनका बाबुले काँधमा बोकेर माइकसम्म पुर्‍याइदिन्थे । सातआठ वर्षी हुँदा उनले गीत गाएर दार्जीलिङ हल्लाएकी थिइन् ।

पन्ध्रसोह्र वर्षो झलझलाउँदो उमेर टेकेपछि अरुणाको गीत गाउने रहर, गीतको सुरताल र गीतका शब्दहरूले कञ्चनजङ्घाको टुप्पो छोइसकेका थिए । त्यसपछि यी निरन्तर गीतगायनमा नै चुलिँदै गइन् ।

नेपालको साङ्गीतिक इतिहासमा त्यो अत्यन्तै ठूलो साङ्गीतिक आयोजना थियो । सो आयोजनाको मञ्चमा अरुणाका हातमा दुई लाख पैँसट्ठी हजार रुपियाँ राशिका साथै ‘स्वरकिन्नरी’को उपाधि पनि अर्पित गरिएको थियो । साथै सो समारोहमा नरेन्द्रराज प्रसाईद्वारा सम्पादित ‘अरुणा लामाः कथा र व्यथा’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो ।

अरुणा १३ वर्षी हुँदा यिनको भेट शरण प्रधानसँग भएको थियो । अम्बर गुरुङसँग सङ्गीत सिक्न जाँदा शरण र अरुणा एकअर्का प्रतिको आकर्षामा झुन्डिएका थिए । परिणामस्वरूप अरुणा लामाले १९ वर्षटेक्नासाथ शरणको इच्छालाई स्वीकार गर्दै उनीसँग बिहे गरेकी थिइन् । २०२० साल असार २५ गतेदेखि अरुणा वैवाहिक जीवनमा प्रवेश गरिन् । बिहेअघि र पछि यी दम्पति स्कुलको शिक्षण पेसामा आबद्ध थिए ।

अरुणा र शरणको मिलनबाट एउटी छोरी सपना र एउटा छोरा सुप्रित जन्मे । छोरी सपना पनि गीतगायनमा अग्रसर भइन् । अरुणा र शरणको दाम्पत्य जीवनको १० वर्षपुग्दानपुग्दै अरुणाका जीवनमा एउटा विनाशको हुन्डरी आयो, एउटा कालो आँधी आयो र उनका टाउकामा पृथ्वी नै आएर थेचारियो । अर्थात् भनौँ शरण प्रधान मुर्छा पर्दापर्दै संसारबाटै बिदा भए । अनि फेरि अरुणा रुन थालिन् :

पोहोर साल खुसी फाट्ता जतन गरी मनले टालेँ
त्यही साल माया फाट्ता त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाटयो केले सिउने केले टाल्ने हो ?
(स्वर :अरुणा लामा, सङ्गीत: अम्बर गुरुङ, शब्द: राजेन्द्र थापा)

अरुणा आफ्ना पतिको निधनपछि झोक्राएर घरैमा बसिन्; तर छ महिनापछि यिनलाई कर्म योञ्जनले जबर्जस्ती रङ्गमञ्चमा पुर्‍याए । त्यसपछि उनी त्यहीँ रत्तिन थालिन् । पुनः उनी गीत गाएर आफ्नो निष्ठामा समर्पित हुन थालिन् ।

आफ्ना पतिको देहान्त भएपछि अरुणालाई आर्थिक अवस्थाले सारै रन्थन्याउन थाल्यो । तर पनि यी आफ्ना यात्रामा संघर्षरत रहिन् । एकातिर जागिर र अर्कातिर आफ्नो गायनलाई पनि उचाल्दै यी निरन्तर अगि बढिन् । यिनको सङ्गीतप्रतिको झुकावले नेपाली समाज यिनीप्रति नतमस्तक रहृयो । उनको गायनको सीप र गलाको भाकाले नेपालीहरूलाई एकछत्र प्रेममा डुबाउन थाल्यो ।

अरुणाको गायनले नेपाली धर्तीमा राम्ररी जरा गाडिसकेको थियो । गायनमा लामो सेवा र निपुणतापूर्ण काम गरेबापत उनी प्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भइन् । साथै उनले छिन्नलता पुरस्कार, भानु अकादमी पुरस्कार, मित्रसेन पुरस्कारलगायत नेपाल तथा भारतबाट थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि ग्रहण गरेकी थिइन् ।

२०५० साल कात्तिक २४ गते नरेन्द्रराज प्रसाईको संयोजनमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको ठूलो प्रेक्षालयमा ‘अरुणा लामाः स्वर्णिम साँझ’ कार्यक्रमको आयोजना गरिएको थियो । नेपालको साङ्गीतिक इतिहासमा त्यो अत्यन्तै ठूलो साङ्गीतिक आयोजना थियो । सो आयोजनाको मञ्चमा अरुणाका हातमा दुई लाख पैँसट्ठी हजार रुपियाँ राशिका साथै ‘स्वरकिन्नरी’को उपाधि पनि अर्पित गरिएको थियो । साथै सो समारोहमा नरेन्द्रराज प्रसाईद्वारा सम्पादित ‘अरुणा लामाः कथा र व्यथा’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो । त्यस दिन अरुणाले नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा उत्साह, उमङ्ग र साहसका साथ आफ्ना मीठा स्वरहरू श्रोतासमक्ष अर्पण गरेकी थिइन् । त्यो भव्य समारोहमा उनले अठारवटा नेपाली गीत गाएकी थिइन् र प्रत्येक गीतमा दर्शकको ताली पाएकी थिइन्:

चौतारीमा बसेर रुन पाऊँ
मनको पीर आँसुले धुन पाऊँ
(स्वर: अरुणा लामा, सङ्गीत र शब्द: गोपाल योञ्जन)

सूर्यबहादुर लामा र सनमाया तामाङकी कान्छी छोरी अरुणा लामा समस्त नेपाली सङ्गीतका पूजारीकी साझा सन्तान बनिन् । उनी जस्ती स्वरसाधिकाले नेपाली गीत गाएर नेपाली भाषालाई आफ्नै प्रकारले सिँगारिन् । शब्दलाई घाँटीमा गलाएर कोइलीले झैँ स्वर प्रदान गर्ने उनको दैवी कला थियो । तर उनले १५० भन्दा बढी गीत रिकर्ड गर्न भ्याइनन् ।

अरुणा औषधीउपचारका लागि दार्जीलिङबाट काठमाडौँ आइन् । उनलाई कुनै औषधीले पनि बचाउन सकेन । कैयौँ नेपालीहरू उनलाई बचाउन उनका छेउ पुगे । तर लाखौँ नेपालीले पनि उनलाई कालका मुखबाट छुटाउन सकेनन् । अन्ततः नेपाली गायनकी स्वरसम्राज्ञीको भौतिकचोला यस पृथ्वीबाट २०५४ साल माघ २२ गते काठमाडोंमा अन्त्य भयो ।

सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आँसुमा म फुलेँ
म आफैँ भन्थेँ जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलेँ ।
(स्वर: अरुणा लामा, सङ्गीत र शब्द: अम्बर गुरुङ)

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !


Loading comments...