यो कस्तो हतार हो ?


Subash Bhandari

सम्बन्ध हतार हतारमा गासिन्छ । पढाई, करिअरलाई केही कुनामा राखेर हतार हतार सात फेरो लिइन्छ । सम्बन्धमा गासिएको केही समयमै सबैले हतार हतार आर्शिवाद दिन्छन सन्तानले डाडाकाडा ढाकुन, अर्को वर्ष अर्को मान्छे थपियोस सबै हतार हतारमा ।

समय पनि निकै हतारमा छ जस्तो लाग्छ, अनि हतार हतारमै जन्मन्छ कोहि । कोहीलाई भने हतार हतारमा जन्मने होकी भनेर हतार हतार गरी गर्भपतन गरिन्छ । किन यो हावालाई यति हतार आफनो गन्त्वयमा पुग्न, किन यो खोला यति सारो उर्लिएर आउछ समुन्द्रलाई भेटन, किन यो धर्ति हतार हतार चलीदिन्छ भुकम्प बनि । सबैलाई हतार  छ यहाँः

बच्चा हुर्कन नपाउँदै अभिभावकलाई स्कुल पठाउने हतार, अनी सानो सानो बाबु नानी हतार हतार गरी छिर्छन त्यो विद्यालयको गेटबाट । खासमा यो हतार चाही केको लागि हो, गन्तव्य कहाँ हो, अलि आरामसँग गए के रेल छुट्ने नै हो र ? हतार हतारमै उसले सिक्छ ‘क बाट कछुवा’ तर सिक्दैन कछुवाले कहिले हतार गरेन गन्तव्यमा पुग्न । परिवारमा कसैलाई कामको हतार, कसैलाई व्यवहारको हतार, घरधन्दाको हतार… सबै एउटा भब्य दौडमा भाग लिन अभ्यास गरे जस्तो जसमा दौड सुरुवातको सिठि त बज्छ तर दौड सकिएको सिठि बजेको हो या नसुनिएको हो थाहा नै हुँदैन ।

प्रविधिले मान्छेलार्इ मान्छे पुगेको हो अथवा के हो… परिवारिक गफ आजभोली पातलिएको छ । सामाजिक सञ्जालमा मेरा प्यारा, मेरा अादरणीय लेखिने भावहरु अनुहारसामू भावविहिन हुँदै गइसके । सबै अा आफनै रुटिनमा व्यस्त, शायद म पनि मेरो बुबा, ममीसँग फुर्सद निकालेर नबोलेको पनि धेरै नै भयो, आखिर कसको लागि यो हतार उहाँहरु नै त हो मेरो आफनो भन्ने उहाँहरुसँगै हतार हतारमा मैले खोज्न चैं के खोजीरहेको छु ? सारा संसार नै एकोहोरो ब्यस्त भएको सोही बाटोमा म’नी हिंडीरहेको छु । हतारमा छु, बाटोमा ठोकिदै हिंडछु तर रोकीएर सरी भनेर हिंड्न मलाई समय नै छैन । हतारीएकाहरुको भीडले टनाटन कोचाकच बस छ, मलाई हतार छ मलाई त्यही कोचिएको बसमा उभिन । पातलो मेरो ज्यान त्यही ठेलमठेलीमा कोच्चिन पाए ठूलो जीतको महसुुस गर्छु । अर्को केही खाली बस पनि आउँछ होला तर कुर्ने समय मसँग छैन । साँच्चै भन्या म हतारमा छु । लाइन बस्न कठिन लाग्छ, लाईन बसिञ्जेल म निकै कराउँछु यो सिस्टम भएन, कर्मचारी सुस्ता भए बुढा भए, भष्ट्राचार भयो यो भयो त्यो भयो जब म आफनो काम सक्छु अनि हतार हतार निस्कन्छु त्यो सिस्टम प्रतिको सोंच हतार हतारमैं सकिन्छ । भनिन्छ नी, “काम खत्तम किस्सा खत्तम” । केही समय सोंचेर त्यसलाई कसरी सुर्धान सकिन्छ म सोंच्न सक्दिन किनकी म हतारमा छु बरु अर्को पटक फेरी लाइनमा बस्छु अनि फेरी गाली गर्छु, त्यसैगरी । अनि हतार हतार दाँज्नेछु अन्य देशसँग आफनो देशलाई ।

बाटोमा जाम होस म आत्तिन्छु, सधै अरुलाई ओभरटेक गर्ने बानीको बिकाश गरेको छु , हो मलाई समयमै पुग्नु छ, तर कहाँ ?

सम्बन्ध पनि हतार हतारमा बनेका छन, अनी हतारमै तोडिएका छन । सामान्य विवादले पनि विकराल रुप लिएका छन, यहाँ फुर्सद नै छैन, २ मिनेट शान्तिसाथ बसेर सम्बन्धको बारेमा, भोलीको बारेमा, अाफ्नो बारेमा सोंच्ने । सम्बन्ध कसरी बलियो बनाउन सकिन्छ भन्ने छलफलको लागि । किन सोंच्ने पनि, त्यति सोंचुञ्जेलसम्ममा अर्को कुनै सम्बन्धले  जोडिसकेको हुन्छ । हो सबै यहाँ हतारमा छन । जिन्दगी एउटा चलेको घडी जस्तै भाको छ, रोकीएर थकाई मार्‍यो भने बिग्रीएछ भन्छन भन्ने डर पनि छ, त्यसैले पनि म अली हतारमैं छु । मेरो लागि भन्दा पनि कोही अरुको लागि तर कसको लागी यो सब हतार मैले ठम्याउन सकेको छैन ?

केही दिन अघिमात्र मेरा एक आत्मीय साथीको मृत्युले स्तब्ध बनायो, सामाजिक सञ्जालमा हतार हतार लेखिदिएँ RIP । शायद! त्यस बेला पनि म निकै हतारमा थिए समवेदना जस्तो सम्वेदनशिल कुरा पनि हतारहतारमै व्यक्त गरे तर कस्तो हतार मृत्युशोक भन्दा पनि ठूलो ? भोली बिहान मालामीमा निस्कनुपर्‍यो, निस्किएँ हतार हतार गरी, दाहँसंस्कारको प्रक्रिया निकै लामो हुने, सबै मलामिहरु सल्बलाउन थाले, दाह संस्कारको प्रक्रिया नसकिदै आधा मलामी त्यहाँ थिएनन । पुरेत पनि छिट्छिटो कार्मकाण्ड विधी गरिरहेको लाग्दा लाग्थ्यो, वहाँ पनि हतारमैं हुनुहुन्थ्यो ।


Loading comments...